बर्डफ्लुबाट मृत्यु घटनामा संक्रमणको कारण नखुल्ने निश्चित, देशी–विदेशी विशेषज्ञ टोलीको महिनादिनसम्मको अनुसन्धान कारण पत्ता लगाउन नसकी टुंगियो

ठिक दुई महिनाअघि नेपालमै पहिलोपटक बर्डफ्लु (इन्फ्लुएन्जा एच५एन१)को संक्रमणबाट एक युवकको ज्यान गएको घटनाको राज सधैँका लागि राजमै सीमित हुने भएको छ । इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले संयुक्त राष्ट्रसंघका विश्व स्वास्थ्य हेर्ने विशिष्टीकृत संस्थाहरूसमेतको सहयोग र देशी–विदेशी विशेषज्ञको संलग्नतामा गरेको रोगको संक्रमणको कारणबारेको एक महिना लामो अनुसन्धान कारण पत्ता लगाउन नसकेको अवस्थामै टुंगिएसँगै यस घटनाको गाँठो सम्भवतः कहिल्यै नफुक्ने गरी कसिएको छ ।

१० चैत ०७५ मा ज्वरो तथा खोकीको लक्षणसहित अस्पताल भर्ना भएका काभ्रेका २१ वर्षीय युवकमा इन्फ्लुएन्जा संक्रमणको शंका लागि चिकित्सकले बिरामीको र्याल प्रयोगशाला परीक्षणमा पठाउँदा नेपालको प्रयोगशालाबाट कुन भाइरस हो भन्ने यकिन हुन सकेन । इन्फ्लुएन्जाकै संक्रमणको अनुमानमा बिरामीमा अपनाइएका सबै विधि निष्प्रभावी बन्न पुगी १५ चैतमा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण बिरामीको मृत्यु भएपछि रोगको यकिन गर्न बिरामीको र्याल परीक्षणका लागि जापान पठाइयो । बिरामीको मृत्यु भएको ३२ दिनपछि प्राप्त रिपोर्टमा बिरामीमा इन्फ्लुएन्जा एच५एन१ (बर्डफ्लु) पुष्टि भएपछि सरकारी संयन्त्रहरूबीच खैलाबैला मच्चियो । रोगबारेको विवरण कसरी सार्वजनिक गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयमा भएको लामो छलफलपछि १९ वैशाखमा मन्त्रालयले संक्रमणबाट मृत्यु भएका युवकको नाम, वतन, उपचार भएको स्वास्थ्यसंस्था, उपचारमा संलग्न स्वास्थ्यकर्मीलगायतको विवरण गोप्य राखी घटनाको आंशिक विवरण सार्वजनिक गरेको थियो ।

संक्रमितसित जोडिएका कसैमा पनि छैन भाइरसको कत्ति पनि संक्रमण
घटनालगत्तै प्राणघातक इन्फ्लुएन्जा एच१एन१ भाइरसको संक्रमणको त्रासका बीच देशी–विदेशी विशेषज्ञ तथा संघ–संस्थाको संलग्नतामा करिब ३ दर्जन विशेषज्ञले घटनाबारेको अनुसन्धान सुरु गरेका थिए । संयुक्त राष्ट्रसंघअन्तर्गतका विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम, खाद्य तथा कृषि संगठनसमेतको संलग्नतामा देशी तथा विदेशी विशेषज्ञहरूले आफ्ना हरेक संयन्त्र र विशेषज्ञताको प्रयोग गरी सार्वत्रिक अनुसान्धान गर्दा पनि मृतकमा भाइरस संक्रमणको कारणबारे पत्ता लगाउन सम्भव भएन ।

स्वास्थ्य मन्त्रालयका अनुसार विशेषज्ञ टोलीले मृतक बिरामीसँग जोडिएका हरेक पाटोको अध्ययन–अनुसन्धान गर्यो । बिरामीका परिवारका तथा नजिक रहेका हरेक सदस्य, बिरामीले काम गरेका स्थानका मानिसहरू, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलगायत सम्भावित सबैको परीक्षण गर्दा कसैमा पनि भाइरसको गुन्जायस नभेटिएपछि अनुसन्धान टोलीको प्रयास निरर्थक टुंगिएको हो ।
‘एक महिनासम्म देशी–विदेशी विशेषज्ञले गरेको अनुसन्धानले रोगको कारण पत्ता लगाउन सकेन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘त्यसलै घटनाबारेको अनुसन्धान पत्ता लगाउन नसकेको अवस्थामै अनुसन्धान टुंगिएको छ ।’ बिरामीको मृत्यु एच१एन१ भाइरसकै कारण भएको यकिन भए पनि उसमा रोग कहाँबाट आयो भन्ने कुरा कसैगरी पनि पत्ता लगाउन नसकिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कुखुराको मासु काट्ने साथीसित नजिकिन्थे संक्रमित, तर मासु काट्नमै संलग्नमा संक्रमण शून्य
स्वास्थ्य मन्त्रालयका अनुसार अनुसन्धानका क्रममा संक्रमितले १०–१५ दिनजति कुखुराको गाडी चलाएको खुलेको छ । तर, स्वयम् कुखुरासँग निकट हुने अन्य गतिविधिमा भने उनको संलग्नता नरहेको अनुसन्धान टोलीको भनाइ छ । यद्यपि, एकजना कुखुराको मासु काट्ने साथीसित संक्रमितको निकटता रहेको र सँगै बस्ने गरेको भने खुलेको छ । तर, सम्बन्धित साथी र सँगै काम गर्ने व्यक्तिहरूको समेत परीक्षण गर्दा उनीहरूको शरीरमा भाइरसको संक्रमण वा अलिकति मात्र पनि सम्भावना नदेखिएपछि मृतकमा भाइरसको संक्रमण कहाँबाट भयो भन्ने विषय नसुल्झिएको पहेलीजस्तै बन्न पुगेको छ ।

संक्रमितको परिवारका कुनै पनि सदस्य, नजिकमा रहेका व्यक्तिहरू, उपचारका क्रममा नजिकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको समेत जाँच गर्दा संक्रमणको कुनै पनि खाले लक्षण नपाइएपछि अनुसन्धान टोली खाली हातमा सीमित हुन पुग्यो । अनुसन्धानका सम्भावित सबै उपाय अपनाउँदा पनि संक्रमणको कारण पत्ता नलागेपछि र थप अनुसन्धानले पनि अपेक्षित नतिजा नदिने देखिएपछि टोलीले अनुसन्धान बन्द गरेको हो ।

नमुना परीक्षणका लागि ४२ जनाको रगत जापान पठाइँदै, तर संक्रमणको सम्भावना शून्यप्रायः
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार बर्डफ्लु संक्रमणबाट मृत्यु भएका युवकसित नजिकिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, परिवारजन तथा आफन्तको रगतको नमुना संकलन गरी थप परीक्षणका लागि जापान पठाउने तयारी गरिएको छ । सम्भावित ठानिएका ४२ जनाको रगतको नमुना संकलन भइसकेको प्रयोगशालाले जनाएको छ । यद्यपि, रगतको परीक्षणमा एच५एन१को संक्रमण देखिने सम्भावना भने नगण्य रहेको प्रयोगशालाकी कार्यकारी निर्देशक डा. रुना झाले जानकारी दिइन् । डा. झाका अनुसार छातीमा इन्फेन्सन भई रोगका लक्षणहरू देखिएका बिरामीको हकमा र्यालको र लक्षण नदेखिएका बिरामीको हकमा भाइरसका कारण एन्टिबडी विकास भए–नभएको पत्ता लगाउन रगतको परीक्षण गर्ने गरिन्छ ।
‘हामी संक्रमितसित एकदमै नजिकका ४२ जनाको रगतको नमुना परीक्षणका लागि जापान पठाउने तयारीमा छौँ,’ डा. झले भनिन्, ‘यद्यपि, प्रारम्भिक अनुसन्धानअनुसार इन्फ्लुएन्जा पोजेटिभ रिपोर्ट आउने सम्भावना भने शून्यप्रायः छ ।’

खकार परीक्षणका लागि नमुना पठाइएको समाचार गलत : राष्ट्रिय प्रयोगशाला
प्रयोगशालाका अनुसार बर्डफ्लुको संक्रमणबाट मृत्यु भएको रिपोर्टले पुष्टि गरेपश्चात् हालसम्म कसैको पनि खकार वा रगतको नमुना परीक्षणका लागि विदेश पठाइएको छैन । उनका अनुसार प्रयोगशालाले हाल पठाउन लागेको नमुना खकारको नभई रगतको हो । ‘१७९ जनाको घाँटीको र्याल परीक्षणका लागि जापान पठाइएको भन्ने समाचार झुटो हो,’ राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा. झाले भनिन्, ‘खकार नभई ४२ जनाको रगतको नमुना जापानको पुरानै प्रयोगशालामा पठाउनेक्रममा छौँ ।’

केही दिनअघि बर्डफ्लु संक्रमितको उपचार गराउने २ अस्पतालका १ सय ७२ स्वास्थ्यकर्मी र ७ जना परिवारका सदस्य गरी १ सया ७९ जनाको रगतको नमुना परीक्षणका लागि जापान पठाइएको समाचार एक अनलाइन मिडियामा प्रकाशन भएको थियो । उक्त समाचारमा कुनै सत्यता नभएको र हचुवाका भरमा लेखिएको राष्ट्रिय प्रयोगशालाले पुष्टि गरेको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बारम्बार ‘हाच्छिऊँ…’ आउँछ ? ‘हे फिभर’ हुन सक्छ

चिसो लाग्दा हाच्छिऊँ आउनु स्वाभाविक हो । तर, कैयौँ मानिस यस्ता छन्, जसलाई विनाकारण वेलावेलामा हाच्छिऊँले सताउने गर्छ, नाक तथा शरीर चिलाउने गर्छ । विनाकारण लगातार हाच्छिऊँ आउनु ‘हे फिभर’ अर्थात् परागण ज्वरोको कारण हुन सक्छ । परागका कणले शरीरमा आक्रमण गरेमा लगातार हाच्छिऊँ आउने गर्छ । विशेषगरी, धुलो, फूल तथा घाँसपातमा रहेका कणले शरीरमा आक्रमण गरेमा परागका कारण ज्वरो आउने गर्छ, जसलाई चिकित्सकीय भाषामा ‘हे फिभर’ भनिन्छ ।

धुलो तथा फूलका राग वा परागको एलर्जी हुने व्यक्ति हे फिभरको जोखिममा पर्छन् । हे फिभरमा नाक तथा आँखाबाट पानी बग्ने, घाँटीमा खसखस हुने, लगातार हाच्छिऊँ आउने लक्षण देखापर्छन् ।
वसन्त ऋतुको अन्त्यसँगै जोखिममा रहेका व्यक्ति यो रोगको चपेटामा आउने गर्छन् । प्रत्येक वर्ष कुल जनसंख्याको १० देखि ३० प्रतिशत जनसंख्या यो रोगबाट प्रभावित हुने गर्छन् ।

यो समस्या उमेर बढेसँगै कम हुने गर्छ । २० प्रतिशत व्यक्तिलाई यो समस्याबाट सधैँका लागि छुटकारा प्राप्त हुन्छ । तर, जो व्यक्तिलाई बाल्यकालमा यो समस्या हुँदैन, उनीहरूलाई पछि गएर यो समस्या हुने सम्भावना भने धेरै हुन्छ ।

हे फिभर : भ्रम र यथार्थ
१९औँ शताब्दीमा आमसोचाइ थियो, ताजा काटेको घाँसका कारण मानिसमा हे फिभर निम्तिन्छ । परिणामस्वरूप उनीहरूले यसको नामकरण नै ‘हे फिभर’ गरिदिए । त्यहीक्रममा बेलायतका एक चिकित्सक जेम्स बोस्टाक पनि यो रोगको चपेटामा आएपछि उनले यो रोगबारे खोजी सुरु गरे । खोजीका क्रममा उनले निष्कर्ष निकाले– यो रोग घाँससित सम्बन्धित छैन । किनकि, प्रत्येक वर्ष गर्मीको समयमा देखिने यो रोग उनमा तब कम भयो जब उनी समुद्री किनार बस्न थाले । उनलाई लाग्यो, यो रोग गर्मीमा देखिने सामान्य रोग हो ।

सन् १८५९ मा भने यो ज्वरोको सम्बन्ध फलको कणसित रहेको पत्ता लाग्यो । ब्रिटिस वैज्ञानिक चाल्स ब्लैकलेलाई जब फूलको गुच्छा दिइयो, त्यसलाई सुँघ्नासाथ उनलाई लगातार हाच्छिऊँ आउन थाल्यो । विभिन्न परीक्षणपश्चात् ब्लैकलेले के पत्ता लगाए भने फूलको पराग तथा घाँसबाट निस्कने कणले नै हावामा हे फिभरलाई जन्म दिन्छ । त्यसैले हे फिभर आउनुमा पराग तथा फूलको राग प्रमुख कारकतत्व मानिन्छन् । यसलाई विज्ञानले पुष्टिसमेत गरिसकेको छ ।

यो समस्या उमेर बढेसँगै कम हुने गर्छ । २० प्रतिशत व्यक्तिलाई यो समस्याबाट सधैँका लागि छुटकारा प्राप्त हुन्छ । तर, जो व्यक्तिलाई बाल्यकालमा यो समस्या हुँदैन, उनीहरूलाई पछि गएर यो समस्या हुने सम्भावना भने धेरै हुन्छ ।

हे फिभरको समस्या भएमा एन्टिहिस्टेमाइन औषधिले शरीरमा प्रभावकारी रूपमा काम त गर्छ, तर यसले शरीरलाई भने सुस्त बनाउँछ । औषधिकै असरका कारण शरीर सुस्त हुन्छ र मानिस उँघ्न थाल्छ ।

त्यस्तै, धुलो तथा फूलको रागको एलर्जी हुने व्यक्तिलाई यो समस्या वर्षात्मा धेरै हुने भएकाले उनीहरूले विशेष सजगता अपनाउनुपर्छ । किनकि, वर्षात्को समयमा फूलको राग हावामा मिलेमा यो समस्या निम्तिने गर्छ । त्यसैले यो समस्याबाट बच्न पनि ‘हे फिभर’को संक्रमण भएको शंका लागेमा सकेसम्म घरैमा बसेर आराम गर्नुपर्छ । खुला हावामा यो समस्या थप जटिल बन्न सक्छ । त्यसैले, यो समस्या कति घातक हुन्छ र कसलाई यसले प्रभावित पार्छ भन्ने कुरा संक्रमितको वरिपरिका बोटबिरुवामा पनि निर्भर हुन्छ । धेरै पराग निस्कने बोटबिरुवाले यससम्बन्धी धेरै समस्या निम्त्याउँछन् ।

उपचार
हे फिभरको समस्या भएमा एन्टिहिस्टेमाइन औषधिले शरीरमा प्रभावकारी रूपमा काम त गर्छ, तर यसले शरीरलाई भने सुस्त बनाउँछ । औषधिकै असरका कारण शरीर सुस्त हुन्छ र मानिस उँघ्न थाल्छ । त्यसैले, पहिले–पहिले चिकित्सकहरू यो औषधिको सेवन रातको समयमा मात्र गर्न सुझाब दिने गर्थे । यद्यपि, ९० को दशकमा बजारमा हे फिभर कम गर्न नयाँ औषधिको उत्पादन सुरु गरियो । जुन हिस्टेमाइनको तुलनामा निकै प्रभावकारी थियो ।

यसबाहेक पनि जानकारहरू हे फिभरको समस्या कम गर्न एक चम्चा मह खाने सल्लाह दिने गर्छन् । महमा रोगप्रतिरोधी क्षमता अत्यधिक हुन्छ, त्यसैले यसलाई अमृत पनि भनिन्छ । यद्यपि, महले हे फिभरको समस्या न्यूनीकरण गर्छ भन्ने कुरा अनुसन्धानबाट पुष्टि हुन भने बाँकी नै छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्वमा देखिएका प्रमुख आठ स्वास्थ्य समस्या

स्वास्थ्य समस्याहरू झन्पछि झन् जटिल बन्दै गइरहेका छन् । यसका दुई कारण हुन सक्छन्, १. मेडिकल साइन्समा भएको विकास, जसका कारण रोगको पहिचान गर्न सहज भएको छ । २. मानिसको जीवनशैली, जुन दिनप्रतिदिन अस्वस्थकर बन्दै गइरहेको छ । मेडिकल विज्ञान विश्वास गर्छ कि, समान्य स्वास्थ्य समस्याको सैद्धान्तिक कारण अस्वस्थकर खानपान, व्यायामको कमी, वातावरणीय ह्रास, अत्यधिक तनाव र वंशानुगत हुन्, जब कि, विगतमा सरुवारोग मुख्य समस्या थियो भने अहिले नसर्ने रोगको महामारी छ ।
अहिले विश्वमा सामान्य बन्दै गएका र मानिसलाई चुनौती बन्दै गएका प्रमुख स्वास्थ्य समस्या–

१. क्यान्सर
क्यान्सर २१औँ शताब्दीको सर्वाधिक चासो तथा चुनौतीको विषय बनेको छ । वातावरणीय क्षति, खाद्यान्नमा बढ्दो केमिकल र रेडिएसनको प्रभाव, विकासको नाममा बढ्दो औद्योगीकरण र यसले निम्त्याएको वातावरणीय क्षति क्यान्सरका प्रमुख कारण हुन् ।
क्यान्सरको कुनै एउटा विशेष कारण नहुने भए पनि धेरै रिस्क फ्याक्टर विभिन्नखाले क्यान्सर गराउनमा जिम्मेवार हुन्छन् । सुर्तीजन्य पदार्थ, धूमपान, मध्यपान, मोटोपन, अत्यधिक सूर्यको किरणमा बस्नु र विकिरण क्यान्सरका प्रमुख कारक हुन् भने वंशानुगत कारणले पनि परिवार तथा आफन्तमा क्यान्सर बढाउने भूमिका खेल्छ । अन्य धेरैखालका संक्रमण, जस्तै, हेपाटाइटिस बी भाइरस, ह्युमन प्यापिलोमा भाइरस पनि क्यान्सरका वाहक हुन् । प्रोस्टेड र ब्रेस्ट क्यान्सर क्रमशः पुरुष र महिलाका प्रमुख समस्या हुन् ।
विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।
नियमित स्वास्थ्यपरीक्षण, जीवनशैली परिवर्तन, नियमित व्यायाम, स्वस्थ खानपान, धूमपान तथा मद्यपानबाट मुक्ति नै क्यान्सरबाट जोगिने मुख्य उपाय हुन् ।

विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।

२. मधुमेह
असामान्य रूपमा रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । फास्टिङमा रगतमा सुगरको मात्रा ११० एमजीभन्दा माथि र खाएको समयमा २०० एमजीभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । मधुमेहले धेरैखाले क्रोनिक स्वास्थ्यसमस्या निम्त्याउँछ । यसले शरीरका सबैजसो अंगमा असर पुर्याउँछ, जस्तै, मस्तिष्क (स्ट्रोक, कग्निटिभ इम्पेयरमेन्ट, पक्षघात), आँखा (र्याटिनोप्याथी, ग्लुकोमा), छालाको संक्रमण बढाउँछ । भनिन्छ, यो मानिसलाई सबैभन्दा कमजोर बनाउने शक्तिशाली रोग हो ।
जीवनशैली परिवर्तन, नियमित व्यायाम, फाइबरयुक्त खाद्यान्न, नट्स, फलफूल तथा तरकारी र साधारण तौल मेन्टेन गर्नु नै मधुमेहबाट बच्ने उत्तम विकल्प हो ।
३. मुटुरोग
मुटुसम्बन्धी रोग जस्तै, हृदयाघात, एन्जिना, हार्टफेलर, सबैभन्दा बढी मृत्यु गराउने रोगमा पर्छन् । अमेरिकामा सबै प्रकारका क्यान्सरका कारण मर्नेको भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी छ । धूमपान, फ्याटयुक्त खाद्यान्न, व्यायामको कमी, विलासी जीवनशैली यसका मुख्य कारण हुन् । त्यस्तै, मधुमेह तथा संक्रमणका कारण पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।
धूमपान नगर्ने, नुन कम खाने, नियमित व्यायाम, कम बोसोयुक्त खाना र नियमित स्वास्थ्यपरीक्षण मुटुरोगबाट बच्ने प्रमुख उपाय हुन् ।

४. मिर्गौलारोग
किड्नी फेलर पनि एक मुख्य स्वास्थ्य सरोकारको विषय बन्दै गएको छ । रगतलाई फिल्टर गर्ने क्षमताका आधारमा किड्नीको अवस्था जाँचिन्छ । किड्नीमा पूर्वक्षति, जस्तै, डिहाइड्रेसन, रगतको क्षतिका कारण किड्नीमा झड्का लाग्छ, इन्फेक्सन हुन्छ, पिसाबको प्रवाहमा बाधा पुग्छ र अन्ततः एक्युट किड्नी इन्जुरी हुन पुगी किड्नी फेल हुन्छ ।
किड्नीले ३ महिनाभन्दा बढी काम गर्न छाड्यो भने त्यसलाई क्रोनिक किड्नीरोग भनिन्छ । पिसाबको मात्रा घट्ने, रिँगटा लाग्ने, भोक नलाग्ने र मांसपेशी बाउँडिने किड्नीरोगका प्रमुख लक्षण हुन् ।
कम मात्रामा प्रोटिनयुक्त खाना खाने, नुन कम खाने, प्रशस्त झोलिलो खाना खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान त्याग्ने गर्नाले किड्नीरोगबाट बच्न सकिन्छ ।
मधुमेह तथा उच्च रक्तचापका कारण पनि किड्नीफेल हुने सम्भावना बढी भएकाले चिकित्सकहरू त्यसको निराकरणमा जोड दिन्छन् ।

स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् ।

५. अल्जाइमर
अल्जाइमरले मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्छ । यो पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । पुरुषमा भने अर्को मस्तिष्करोग पार्किन्सन्स बढी छ । अल्जाइमरको मुख्य कारण अज्ञात नै छ, तर बुढ्यौली र पारिवारिक कारण यसका मुख्य कारण हुन् भने मोटोपन, उच्च रक्तचाप, डाउनसिन्ड्रोम पनि यसका कमन रिस्क फ्याक्टर हुन् । लक्षणका आधारमा मात्र यसको उपचार गरिन्छ । नियमित शारीरिक व्यायामले रोग बढ्न कम गर्छ र कार्डियोरेस्पिरेटोरी फिटनेसले पनि रोगको विकास कम गर्न सघाउँछ ।

६. इन्फ्लुएन्जा
एक स्वस्थ मानिस इन्फ्लुएन्जासित आफैँ लड्न सक्छ भने रोगप्रतिरोधी क्षमता कम भएका मानिस जस्तै, बालक, वृद्ध, गर्भवती महिला, मधुमेहका बिरामी, उच्च रक्तचापका बिरामी इन्फ्लुएन्जा र निमोनियाको उच्च जोखिममा हुन्छन् ।
स्वाइनफ्लु (एच१एन१) भाइरसका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि ११ जुन २००९ मा विश्व स्वास्थ्य संगठनले ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । २००९–०१० मा र त्यसपछिका वर्षहरूमा यो नियमित समस्या बन्दै आएको छ । यसको संक्रमण भएमा भ्याक्सिनेसनलगायत हात धुने, नाक तथा मुखमा अनावश्यक हात नलाने, मास्क लगाउने, संक्रमितको सम्पर्कबाट बच्ने, संक्रमणको समयमा भिडभाडमा नजाने गर्नुपर्छ ।

७. स्ट्रोक
स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् । यसले विभिन्नखालका जटिलता, जस्तै, प्यारालाइसिस, चेतनाप्रणालीमा क्षति, इमोसनल समस्या र असाधारण व्यवहारजस्ता समस्या निम्त्याउन सक्छ । कुनै पनि बेनसम्बन्धी रोगको उपचार जटिल छ । त्यसैले स्ट्रोकबाट बच्ने उपायबारे सचेत हुनु नै मुख्य विकल्प हो ।

८. एड्स
चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रूपमा परिचित छ । करिब ३७ मिलियन मानिस एड्सबाट प्रभावित छन्, जब कि, आधाजासो (१७ मिलियन) मानिसलाई मात्र आफूलाई यो रोग लागेको थाहा छ । सब–साहारन अफ्रिका यो रोगबाट सबैभन्दा प्रभावित क्षेत्र हो, जहाँ २५ दशमलव ८ मिलियन मानिस एड्स भाइरसबाट प्रभावित भएको मानिन्छ । जसमा उल्लेख्य संख्यामा बालबालिका (आमाबाबुबाट सर्ने, गर्भवती अवस्थामा, स्तनपानका कारण) प्रभावित छन् । शरीरका फ्लुडबाट सर्ने, जस्तै, सेमेन, आमाको दूध, भेजाइनल फ्लुड, रेक्टल फ्लुडको संसर्गबाट जोगिन सकेमा यो रोगबाट बच्न सकिन्छ । त्यसैले सुरक्षित रक्तदान, सुरक्षित यौनसम्पर्क र सकेसम्म कम यौनसाथी बनाउने र यौनजन्य रोगको परीक्षण गर्नु यसबाट जोगिने मुख्य उपाय हुन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै