परीक्षण संयन्त्र अभावमा संक्रमितको मृत्यु भएको ३२ दिनपछि बल्ल बर्डफ्लु पुष्टि, यस्ता छन् सरकारका नियन्त्रण योजना

नेपालमा पहिलोपटक इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमण मानिसमा भएको र त्यसबाट संक्रमितको उपचारका क्रममा ज्यानै गएको पुष्टि भएपछि स्वास्थ्यक्षेत्र निकै गरम भएको छ । बर्ड फ्लु नामले समेत चिनिने इन्फ्लुएन्जा रोगको संक्रमण भएपछि उपचार पाउँदा पनि आधाभन्दा बढी संक्रमितको मृत्यु हुने गरेको विश्वको अनुभव र देशमा भाइरस यकिन गर्न सक्ने परीक्षण प्रविधिको अभावका कारण जनमानसमा त्रास त उत्पन्न गरेको छ नै, रोगनियन्त्रणका लागि कुनकिसिमको विधि र प्रक्रिया अपनाउने भन्ने विषय सरकार र स्वास्थ्यका निकायहरूसामु निकै सकस र चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले संक्रमणबाट मृत्यु भएका व्यक्तिबारेका विवरण र उपचार गराउने स्वास्थ्यसंस्थाबारे जानकारी गोप्य राख्दै त्यसबारे नखोतल्न पत्रकारलाई आग्रह गर्नुले रोगको संवेदनशीलता र रोकथामसम्बन्धी कार्यक्रम तर्जुमामा सरकारको चुनौती स्पष्ट झल्किन्छ ।

विश्वका विभिन्न मुलुकमा पछिल्लो दुई दशकभन्दा लामो समयदेखि इन्फ्लुएन्जा ए (एच५एन१)को मानवमा संक्रमण र त्यसबाट मृत्युका घटनाहरू सुनिँदै आएको भए पनि नेपालमा भने यसअघि पक्षीमा मात्र संक्रमण प्रमाणित भएको थियो । संक्रमित पक्षीबाट मानिसमा सर्ने उक्त इन्फ्लुएन्जा रोगको परीक्षणको समेत उपयुक्त व्यवस्था देशभित्र नभएको अवस्थामा रोगको उच्च संक्रामक रोगको पुष्टिले सोहीअनुसारको सतर्कताको माग खाँचो आँैल्याएको छ ।

बिरामीको मृत्यु भएको ३२ दिनपछि मात्र पुष्टि भयो बर्ड फ्लुको संक्रमण, यस्तोमा कसरी उपचार गर्ने ?
१० चैत ०७५ मा सामान्य ज्वरो र खोकीको लक्षणसहित अस्पताल भर्ना भएका २१ वर्षीय एक युवकको इन्फ्लुएन्जा ए (एच५एन१)का कारण उपचारकै क्रममा १५ चैतमा मृत्यु भएको पुष्टि भएको छ । प्ररम्भिक लक्षणका आधारमा ती युवकमा इन्फ्लुएन्जा रोगको संक्रमण भएको शंका लागी चिकित्सकले ११ चैतमा बिरामीको घाँटीको र्याल परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका थिए । रिपोर्ट आउनुअगावै बिरामीलाई इन्फ्लुएन्जाविरुद्धको औषधि चलाइएको थियो । यद्यपि, चिकित्सकले बिरामीमा गरेको रोगको अनुमानका सही साबित हुँदा र समयमै औषधि चलाउँदा पनि बिरामीको ज्यान भने बच्न सकेन । इन्फ्लुएन्जा एको औषधि चलाइएकै अवस्थामा श्वासप्रश्वाससम्बन्धी समस्याका चुलिँदै जाँदा बिरामीको ५ दिनपछि मृत्यु भयो ।

राष्ट्रिय प्रयोगशालामा संक्रमित बिरामीको घाँटीको र्याल परीक्षण गरिए पनि भाइरसको प्रकार यकिन हुन सकेन र उक्त नमुना परीक्षणका लागि जापानस्थित डब्लुएचओ कोल्याबोरेरिटङ सेन्टर फर इन्फ्लुएन्जामा पठाइयो । बिरामीको मृत्यु भएको ३२ दिनपछि १७ चैतमा उक्त नमुनाको रिपोर्ट नेपाल आइपुग्दा बल्ल बिरामीमा इन्फ्लुएन्जा ए (एच५एन१) संक्रमण भएको पुष्टि भयो । यससँगै नेपालमा पहिलोपटक बर्ड फ्लुको संक्रमण मानिसमा भएर इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसले ज्यानै लिएको प्रमाणित भयो । यद्यपि, त्यसपश्चात् रोगका सम्बन्धमा नियमित निगरानीका क्रममा गरिएको प्रयोगशाला परीक्षणहरूमा अन्य कुनै पनि बिरामीमा इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमण नपाइएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमणका कारण बिरामीको मृत्यु भएको ३२ दिनपछि मात्र बिरामीमा उक्त भाइरसको संक्रमण भएको पुष्टि भएपछि रोगप्रतिको त्रास बढ्नु स्वाभाविक नै हो । नेपालमा इन्फ्लुएन्जा ए (एच५एन१)को यकिन गर्ने परीक्षण संयन्त्र नहुँदा बिरामीले समयमा उपचार नपाउने पो हो कि भन्ने शंका उत्पन्न भएको छ ।

भाइरसको पूर्ण यकिन गर्ने प्रविधि नभए पनि परीक्षण हुन्छ, उपचारमा समस्या हुँदैन : राष्ट्रिय प्रयोगशाला
इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमणका कारण बिरामीको मृत्यु भएको ३२ दिनपछि मात्र बिरामीमा उक्त भाइरसको संक्रमण भएको पुष्टि भएपछि रोगप्रतिको त्रास बढ्नु स्वाभाविक नै हो । नेपालमा इन्फ्लुएन्जा ए (एच५एन१)को यकिन गर्ने परीक्षण संयन्त्र नहुँदा बिरामीले समयमा उपचार नपाउने पो हो कि भन्ने शंका उत्पन्न भएको छ । नेपालमा इन्फ्लुएन्जा ए (एच५एन१)को परीक्षण सम्भव नभएरै जापान पठाइएको हो त ? भन्ने हेल्थपोस्टको प्रश्नमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाकी नवनियुक्त निर्देशक डा. रुना झाले भनिन्, ‘हामीकहाँ परीक्षणको व्यवस्था भए पनि भाइरसबारे पूर्ण यकिन गर्ने प्रविधि उपलब्ध छैन, त्यसैले पूर्ण किटानका लागि बाहिर पठाइएको हो ।

यद्यपि, रोगसम्बन्धी लक्षण देखिएका बिरामीको उपचारमा भने यसले बाधा नपुग्ने डा. झाको भनाइ छ । ‘उपचारका लागि आवश्यक परीक्षण भने हामीकहाँ हुन्छ र भइरहेको छ,’ डा. झाले भनिन्, ‘लक्षण देखिएका बिरामीको नमुना संकलन गरेर अस्पतालहरूले हामीकहाँ पठाउँछन्, हामीकहाँ परीक्षण हुन्छ । यससम्बन्धी करिब २ हजार २ सय नमुना हामीकहाँ छन् ।’ इन्फ्लुएन्जा ए (एच५एन१)का कारण मृत्यु भएको केसमा भने पहिलोपटक भएकाले पूर्णतः निर्क्योल गर्नका लागि जापान पठाउनुपरेको डा. झाले बताइन् ।

पक्षीबाट मानिसमा सर्छ, मानिसबाट मानिसमा सरेको पाइएको छैन
इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमण सामान्यतया पक्षीहरूमा हुने गर्दछ । संक्रमणपछि पशुमा यसका केही लक्षणहरू देखिने गर्छन् भने संक्रमित पक्षीको मृत्युसमेत हुने गर्छ । यो भाइरस संक्रमित पक्षीबाट मानिससमेत सर्ने गरेको पाइएको छ, तर मानिसबाट मानिसमा सरेको भने हालसम्म पाइएको छैन । सामान्यतया संक्रमित पक्षीको संक्रमणको १० दिनपछि मृत्यु हुने गर्दछ भने यही १० दिनभित्र पक्षीको विनासुरक्षा सम्पर्कमा आउने मानिसमा यसको संक्रमणको खतरा रहन्छ । इन्फ्लुएन्जा ए (एच५एन१) संक्रमित तथा यसका कारण मृत पक्षीको मासु, सुली, अण्डालगायतको सम्पर्कका कारण यो भाइरस मानिसमा सर्ने गरेको पाइएको छ । इन्फ्लुएन्जा ए (एच५एन१) भाइरस ७० डिग्री सेल्सियस तापक्रममा मर्ने भएकाले राम्ररी मासु पकाएर खाएमा भने यसको संक्रमणको खतरा रहँदैन । यस रोगबाट बच्नका लागि संक्रमित तथा मृत पक्षीबाट टाढा रहनुका साथै व्यक्तिगत तथा वासस्थानवरिपरिको सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाब विशेषज्ञहरूको छ । संक्रमणको शंका लागेमा तुरुन्त स्वास्थ्यसंस्थाको सम्पर्कमा जान उनीहरूको सुझब छ ।

संक्रमितको मृत्युदर करिब ६० प्रतिशत, १६ वर्षमा ४५४ को ज्यान गएको पुष्टि
इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमण भएका बिरामीमध्ये करिब ६० प्रतिशतको उपचारका क्रममा मृत्यु हुने गरेको तथ्यांक छ । सन १९९६ मा पत्ता लागेको इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमणका कारण सन् २००३ देखि मानिसको ज्यान जान थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांक छ । पछिल्लो १६ वर्षको अवधिमा विश्वका विभिन्न देशमा गरी जम्मा ८ सय ६० जनामा इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमण देखिएकोमा संक्रमितमध्ये ४ सय ५४ जनाको मृत्यु भएको डब्लुएचओको तथ्यांकले देखाएको छ । यद्यपि, स्वास्थ्यसंस्थाको सम्पर्कमा नआएका कारण रोगको कारण नै पत्ता नलागी यस भाइरसको संक्रमणबाट मृत्यु हुने संख्या उल्लेख्य हुन सक्ने अनुमान छ ।

ज्वरो र रुघाखोकीको लक्षणसहित अस्पताल भर्ना भएका २१ वर्षे युवकको उपचारकै क्रममा श्वास–प्रश्वास समस्याका कारण मृत्यु भएको घटनामा बिरामीलाई इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमण पुष्टि भएसँगै झस्किएको सरकारले उक्त भाइरसको संक्रमण फैलिन नदिन नियमित निगरानी र परीक्षणसहित केही भावी कार्यक्रमहरू तय गरेको छ ।

बर्ड फ्लु नियन्त्रणका लागि के छन् सरकारका कार्यक्रम ?
ज्वरो र रुघाखोकीको लक्षणसहित अस्पताल भर्ना भएका २१ वर्षे युवकको उपचारकै क्रममा श्वास–प्रश्वास समस्याका कारण मृत्यु भएको घटनामा बिरामीलाई इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमण पुष्टि भएसँगै झस्किएको सरकारले उक्त भाइरसको संक्रमण फैलिन नदिन नियमित निगरानी र परीक्षणसहित केही भावी कार्यक्रमहरू तय गरेको छ । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका अनुसार तत्कालै इन्टरनेसनल हेल्थ रेगुलेसन (आइएचआर) २००५ अनुसार यस्ता किसिमका भाइरसको संक्रमण र त्यसका कारण मृत्यु हुने घटना अन्तर्राष्ट्रिय चासोको आकस्मिक जनस्वास्थ्य अवस्था (पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न) बन्न जान्छ । नेपाल सरकार आइएचआरको एक पक्ष राष्ट्र पनि हो । यस्तोमा नेपालले आइएचआरका सबै सदस्य राष्ट्रहरूलाई अनिवार्य रूपमा यस घटनासम्बन्धमा आइएचआरको संयन्त्रमार्फत जानकारी गराउनुपर्ने हुन्छ । त्यसअनुसार नेपाल सरकारले विश्व स्वास्थ्य संगठनमार्फत उक्त घटनाबारे विस्तृत विवरण विश्वमाझ पठाउने डा. चौधरीले जानकारी दिइन् ।

यसैगरी, नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, डब्लुएचओको साउथ–इस्ट रिजनल अफिस, डब्लुएचओको नेपाल कन्ट्री अफिसलगायत निकायको सहकार्यमा इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमण फैलिन नदिन निगरानीलाई सशक्त बनाउने नीति लिएको उनको भनाइ छ । यसका साथै नेपाल सरकारले इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमणका सम्बन्धमा विस्तृत अध्ययन गर्न लागेको जनाएको छ ।
त्यस्तै, इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमणबाट बच्न अवलम्बन गर्नुपर्ने उपायहरूबारे जनसमक्ष सूचनामूलक स्वास्थ्यसन्देशहरू प्रवाह गर्ने तयारी भएको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै