चिकित्सक संघ/संगठनले दिए सत्याग्रहमा सघाउनेलाई धन्यवाद, असहयोग गर्नेमाथि होला त कारवाही ?

चिकित्साशिक्षा सुधार अभियान्ता डा. गोविन्द केसीले २४ दिन लामो अनशन शुक्रबारदेखि स्थगित गरेसँगै समर्थनमा सघाइरहेका चिकित्सकहरुका प्रमुख संगठन नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका संस्थाहरुले समेत आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । संगठनहरुले आन्दोलन फिर्ता लिएर आफूहरुले आह्वान गरेको आन्दोलनमा सघाउँनेलाई धन्यवाद दिदैँ गर्दा असहयोग गर्ने माथि कारवाहीकोबारे समेत चर्चा सुरु भएको छ ।

चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले अजीवन सदस्य डा. केसीले अनशन स्थगत गरेसँगै जीवन रक्षाका लागि संघले घोषणा गरेको बिरोधका सम्पूर्ण कार्यक्रमहरु शनिबारदेखि स्थगित गरिएको जनाएको छ । संघले आह्वान गरेको बिरोधका कार्यक्रमहरुमा ऐक्यावद्धता जनाएर सहयोग गर्ने संघ, संस्था, शाखालाई धन्यवाद दिएको छ । संघले यस दौरानमा बिरामी, बिरामीका आफन्त, आम सर्वसाधारणहरुमा परेकोे असुविधाप्रति दुःखसमेत जनाएको छ ।
संघले सोमबारदेखि केन्द्रमा त्रिवि शिक्षण अस्पताल, देशभरका शाखा र शाखा नभएका ठाउँमा स्वास्थ्य संस्थाहरुमा रिले अनशन गर्न आह्वान गरेको थियो भने, शुक्रबार एक दिनका लागि सांकेतिक हड्ताल आह्वान गरेको थियो । संघका आह्वान गरेको कार्यक्रममा नेकपा निकटका राष्ट्रिय चिकित्सक संघ, नेपाल र नेपाल प्रगतीशील चिकित्सक संघले विज्ञाप्ति निकालेरै प्रतिकार गर्ने घोषणा गरेको थियो ।

आवासीय चिकित्सकको विरोध पनि फिर्ता
डा. केसीको समर्थनमा माघ ११ देखि (आठ दिनदेखि) आकस्मिकबाहेकका सेवा ठप्प बनाएका तीन ठूला संस्थाका आवासीय चिकित्सकहरुले पनि विरोधका कार्यक्रम फिर्ता लिएका थिए । राष्ट्रिय आवासीय चिकित्सक संघ, आइओएम, रेजिडेन्ट डक्टर्स एसोसिएसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, धरानले संयुक्त रुपमा विज्ञाप्ति जारी गरी शनिबारदेखि सबै विरोधका कार्यक्रम फिर्ता लिएको जनाएका छन् । संगठनहरुले समेत विरामीप्रति क्षमा माग्दै आन्दोलनमा सघाउँने निर्देशक, विभागीय प्रमुख, विषयगत संयोजकलगायत सम्पूर्ण आवासीय चिकित्सकलाई धन्यवाद दिएका छन् । सरकारी चिकित्सक संघ नेतृत्वसमेत असहयोग गरेको बुझाई संघ नेतृत्वको छ । यसबीचमा स्वास्थ्य मन्त्रालयले समेत विज्ञाप्ति निकालेर चिकित्सकमाथि कारवाहीको धम्की दिएको थियो ।

होला त कारवाही ?

संघले एकजना आजीवन सदस्य एवं चिकित्सकको हकहितका लागि लामो सयमदेखि लडेका सत्याग्रही जीवनमरणको दोसाँधमा हुँदा ‘निश्चित पार्टी वा नेताको इशारामा सिंगो संगठनविरुद्ध लागेको भन्दै’ उनीहरुमाथि कारवाहीका माग उठिरहेको छ । धेरै बरिष्ठ चिकित्सकहरुले सामाजिक सञ्चालहरुमा चिकित्सकहरुको एकता नभएको भन्दै चिन्ता जाहेर गरेका थिए । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले गत आइतबार त्रिवि शिक्षण अस्पतालमा आयोजित भेलामा समेत संगठनविरुद्ध लाग्नेमाथि कारवाही गर्ने चेतावनी दिएका थिए ।

मुलुकी ऐनसम्बन्धी दुई संहिताका सन्दर्भमा संघले लामो समयसम्म आन्दोलन घोषणा गर्दा अभुतपूर्व एकता देखाएका चिकित्सकरु डा. केसीको जीवन रक्षाको सन्दर्भमा १५औँ अनशनदेखि नै संघलाई अटेरी र असहयोग गर्दै आएका छन् । असहयोगकै त्रासमा संघ नेतृत्वसमेत सकेसम्म आन्दोलनमा होमिनबाट डराउने गरेको छ ।

पटकपटक संघ नेतृत्वविरद्ध लाग्दा कारवाही नगर्ने हो भने संगठन हुनुको औचित्यमाथि नै प्रश्न उठ्ने र अनुशासनसमेत नहुने भन्दै बरिष्ठ चिकित्सकहरुसमेत सांकेतिक रुपमा सदस्यता सीमित अवधिका लागि भएपनि निलम्बनको कारवाही गर्न संघ नेतृत्वलाई सुझाब दिइरहेका छन् ।

उनीहरुले आन्दोलनका कार्यक्रमलगायतका विषयमा एउटा छानविन समिति बनाएर आगमी दिनमा संगठनका कार्यक्रमलाई प्रभावकारी बनाउनेगरी योजना बनाउन सुझाब दिएको संघ स्रोतले बताए । स्रोतका अनुसार नेपाल चिकित्सक संघले यसबीचमा संघको नेतृत्व, चिकित्सक आन्दोलनलाई असहयोगदेखि भौतिक आक्रमण र भिडन्तको समेत धम्की दिने चिकित्सकहरुका सामाजिक सञ्जालका अभिव्यक्तीका स्क्रिनसट प्रमाणको रुपमा संकलन सुरु गरिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डा. केसी समर्थककाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, एनआरडिए अध्यक्षसहित १६ चिकित्सक पक्राउ

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका मागसहित प्रदर्शनमा उत्रिएका १८ आवासीय चिकित्सकलाई प्रहरीले कान्ति अस्पताल अगाडिबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनका अध्यक्ष डा. समीत पाण्डेसहित १८ चिकित्सक छन् ।

त्यसैगरी अन्यमा डा. विशाल अग्रवाल, डा. अमित शर्मा, डा. हेमन्त बास्तोला, डा. बद्री अर्याल डा. राजन लामिछाने, डा. सिद्धार्थ भण्डारी, डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. अकाश शेर्पाली, डा. आनन्द सिंह, डा. पदम जोशी, डा. समीर चापागाईँ, विश्वराज तिम्सिना र डा. अपुर्व आचार्यसहित छन् ।

डा. केसीको माग पूरा गर भन्दै नारासहित राष्ट्रपति निवासतर्फ अगाडि बढेका चिकित्सकहरुलाई प्रहरीले कान्तितर्फको मोडमा पुगेपछि प्रक्राउ गरेको थियो । पक्राउ परेका चिकित्सकहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरुले हिरासतमै नारावाजी गरिरहेका छन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डा. केसीको जीवन रक्षाको पहल गरिदिन चिकित्सकहरुको राष्ट्रपतिलाई आग्रह

१८ दिनदेखि अनशनरत डा. केसीको माग पुरागरि जीवन रक्षाका लागि पहल गरिदिन आवासीय चिकित्सकहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आग्रह गरेका छन् ।  वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत आवासीय चिकित्सकहरुले शुक्रबार ज्ञापनपत्र बुझाउदै सरकारको ध्यानकार्षण गरादिन राष्ट्रपतिमार्फत् आग्रह गरेका हुन् । राष्ट्रिय अवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेका अनुसार अपराह्न राष्ट्रपति कार्यलयको सचिवालयमा पत्र दर्ता गराइएको हो ।

आवासीय चिकित्सकहरुले राष्ट्रपतिलाई बुझाएको पत्रमा आफ्ना गुरु अनशनमा रहेको र सरकारले १५औं अनशनमा गरेको सहमति कार्यन्वयन नगर्दा सुरु भएको सत्याग्रहप्रति आवासीय चिकित्सकका तीनवटै संस्थाहरुले समर्थन रहेको जानकारी गराएका छन् ।
चिकित्सकहरुले सरकार चाँडोभन्दा चाँडो संवेदशील भएर वार्तामार्फत् डा.केसीको माग पूरा गर्न अनुरोध समेत गरेका छन् ।

चिकित्सा समुदाय, बुद्धिजीवि वर्ग र आम जनताले ऐक्यवद्धता जनाएको स्वास्थ्य क्षेत्रलाई विकृतिमुक्त गर्ने लहरलाई बहुमतप्राप्त सरकारले सीमित पक्षलाई मात्र नभई निष्पक्ष तबरले जनताको भलो हुने निचोडप्रति अग्रसर हुन चिकित्सकहरुले अनुरोध गरेका छन् ।
पत्रमा हस्ताक्षरकर्तामा राष्ट्रिय अवासीय चिकित्सक संघका अध्यक्षा डा. सुमित पाण्डे, रेजिडेन्ट डक्टर्स एसोसिएसन अफ न्याम्स (र्यान) का अध्यक्ष डा. शरदचनद बराल र जुनियार रेजिडेन्ट वेलफियर सोसाइटी (जेआरडब्लुएस) अध्यक्ष कविराज पौडेल छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

हड्तालमा चिकित्सक, देशभर आन्दोलन, पेलेरै विधेयक पास गर्ने सत्तापक्ष तयारीमा (फोटो फिचरसहित)

एकातिर डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्दैछ । डा. केसीको जीवन रक्षाका लागि चिकित्सक र अन्य नागरिक समाजले दबाब बढाउने लगेपनि सरकार सुनेको नसुन्यै गरेर अगाडि बढिरहेको छ ।

चिकित्सकहरुको साझा संस्था चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको छ भने, आवासीय चिकित्सकहरु आजैदेखि सम्पूर्ण सेवा छाडेर आन्दोलनमा उत्रिएका छन् । नागरिक समाजले डा. केसीको माग पूरा गर्न दबाब बढाउँन आजै सामुहिक गिरफ्तारीको कार्यक्रमसमेत आयोजना गरेको छ ।
यसैगरी प्रतिपक्षको समेत अवरोधकाबीच सत्तापक्ष भने जसरी पनि शुक्रबारै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारीमा छ । संसदको शुक्रबारको कार्यसूचीमा एउटा मात्रै विषय चिकित्सा शिक्षा विधेयक राखेर पेश र पारित गर्ने तयारीमा सरकार जुटेको छ । देश अनशन र विधेयकको विषयलाई लिएर मुडभेडतर्फ अगाडि बढ्ने संकेत देखिएको छ ।

रेजिडेन्टले ओपिडी, इन्डोर, शल्यक्रिया र राउण्डसमेत नगर्ने

१७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि दबाब दिन सरकारका पोष्ट ग्राजुयसन एवं डिएम÷एमसिएच पढाईहरु चिकित्सा संस्थामा आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका सेवा छोडेर आन्दोलनमा उत्रिएका छन् । पटकपटक सरकारको ध्यानाकर्षण गराउदा र कालोपट्टी बाँधेर सांकेतिक विरोध गर्दा सरकारले नसुनेको भन्दै प्रमुख तीन संस्थाका रेजिडेन्टले सयूक्तरुपमा काम छोडेका हुन् ।

जसमा त्रिवि शिक्षण अस्पतालमा सेवारत नेशनल डक्टर्स एशोसिएसन (एनआरडिए), वीरलगायतक सरकारी केन्द्रीय अस्पतालमा कार्यरत रेजिडेन्ट डक्टर्स अफ न्याम्स (र्यान) र धरानमा कार्यरत जुनियार रेजिडेन्ट वेलफियर सोसाइटी सम्बन्ध चिकित्सक छन् । तीनवटै अस्पतालमा कार्यरत रेजिडेन्टको संख्या ६ सय भन्दा बढी हुन्छ ।

उनीहरुले ओपिडीसहित, शल्यक्रिया, भर्ना भएको विरामीको राउण्ड लिने र नयाँ भर्ना गर्ने कामसमेत छाडेका छन् । रेजिडेन्टको हड्तालले वीर, त्रिवि शिक्षण, धरानसँगै कान्ति, प्रसुति गृह, पाटनलगायतका अस्पतालको सेवामा समेत प्रभाव पार्छ । ती अस्पतालबाहेक न्याम्स अन्र्तगतका कार्यक्रम जोडिएका र रेजिडेन्ट खटाइरिएका अन्य अस्पताल सेवा समेत प्रभाव पर्छ ।

तीनवटै संगठनले संयुक्त रुपमा विज्ञाप्तिजारी गरी पटकपटक सरकारको ध्यानाकर्षण गराउदा पनि नसुनेपछि बाध्य भएर अप्रिय निर्णय लिनुपरेको उल्लेख छ । एनआरडिएका अध्यक्ष डा. सुमीत पाण्डेले सेवा प्रभाविन गर्ने अवस्था नआओस् भनेर धैर्यता गरेको र सरकारको रवैयाले पछिल्लो अवस्था निम्त्याएको बताए । ‘माग पुरा गर्न तत्परताका सट्टा त सरकार दमनमा पो लागिरहेको छ’ डा. पाण्डेले भने ।

र्यानका अध्यक्ष डा. सरदचन्द्र बरालले चिकित्सकहरुलाई विरामीलाई सेवा बन्द गर्नुपर्ने अवस्था भन्दा अप्रिय अवस्था केही हुननसक्ने भन्दै सरकारले त्यस्तै अवस्था निम्त्याएको सुनाए । ‘हामीले नचाहेको परिस्थिति आइपुग्यौं’ डा. बरालले भने, ‘अब कति चाँडै हड्ताल टुंग्याउने भन्ने कुरा डा. जीवन रक्षाका लागि कति चाँडै पहल हुन्छ भन्नेमा भर पर्छ’

त्यसैगरी जेआरडब्लुएसका अध्यक्ष कविराज पौडेलले पनि चिकित्सा क्षेत्रको सुधारका माग लिएर एउटा डक्टर जीवनमरणको दोसाँधमा हुँदा अरु चिकित्सक सेवामा खटिरहने अवस्था नरहेको बताए । ‘हामी काम छोडेर आन्दोलनमा उत्रिएका छौं, यो हाम्रो चाहानाको विषय होइन ।’ डा. पौडेलले भने । पौडेलले एक घण्टा, २ घण्टा, तीन घण्टा काम छाड्दा पनि नभएपछि सबै काम छाड्ने अवस्था आएको बताए ।

अनशनरत डा. केसीको जीवन रक्षाका लागि ठोस पहल गर्न नेपाल चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको छ । योअनुसार डा. केसीसँग सहमति नभए देशव्यापी सेवा ठप्प पार्ने संघको तयारी छ । संघले रेजिडेन्टको आन्दोलनमा समर्थन जनाइसकेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मेडिकल माफियासित डटेर लड्छौँ– आवासीय चिकित्सक

अनशनरत डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल तथा वीरका आवासीय चिकित्सकहरूले आज बुधबार प्रदर्शन गरेका छन् । अनशनको १५औँ दिन टिचिङ र वीरका आवासीय चिकित्सकहरूले ‘मेडिकल माफिया होसियार !, वि आर विथ जी केसी, हामी चुप बस्दैनौँ’ लगायत नारासहित अस्पतालअगाडि करिब आधा घण्टा प्रदर्शन गरेका हुन् ।

टिचिङको प्रदर्शन : ‘सरकार नै माफियामार्फत मुठभेड गराउन उद्यत’


प्रदर्शनमा नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेले मेडिकल माफियाहरूसँग मुठभेडको अवस्था आउन लागेको बताए । सरकारले केही दिनअघि मात्रै त्रिविका आवासीय डाक्टरहरूको प्रदर्शनलाई भाँड्न अस्पतालमा गुन्डा पठाइएको उनको भनाइ छ ।

खुलेआम रूपमा प्रहरीकै संरक्षणमा अपराधमा संलग्न विजय थापाको नाममा प्रदर्शन गर्न लगाएर सत्याग्रही डा. गोविन्द केसीको विरोधमा केही गुन्डालाई अस्पतालपरिसरमा परिचालन गर्नुले चिकित्सकमाथि घोर अन्याय भएको बताउँदै डा. पाण्डेले वर्तमान सरकारको यस्तो निकृष्ट कदमको भत्र्सना गरे । सरकारको यस्तो कदमले चिकित्सकहरूले आफ्नै घरभित्र असुरक्षाको महसुस गर्नुपरेको उनको भनाइ थियो ।

पार्टीको एक कार्यकर्ताको मेडिकल कलेजका लागि सरकारले देश नै डुबाउने षड्यन्त्र गरिरहेको बताउँदै डा. पाण्डेले अब चिकित्सकहरू चुप लागेर बस्न नहुने बताए । सरकारले सत्याग्रहलाई दमन गर्न खोजेर एकदमै नीच काम गरिरहेको पाण्डेको भनाइ छ ।

सरकारले डा. केसीसँगको पटक–पटकको सम्झौता, त्यसमाथि पनि पछिल्लोपटक आफू स्वयम्ले गरेको सम्झौता कार्यान्वयन नगरेकाले अब चिकित्सकहरू चुप लागेर नबस्ने डा. पारस रायमाझीले बताए । यसपटकको आन्दोलन विगतको भन्दा कडा हुने डा. रायमाझीको भनाइ थियो । डा. केसीको माग व्यक्तिगत स्वार्थ पूर्तिका लागि नभई सम्पूर्ण देश र जनताको हकहितका लागि भएको उनको भनाइ थियो ।

वीरको प्रदर्शन
देशकै ठूलो र पुरानो केन्द्रीयस्तरको अस्पताल वीरमा पनि अनशनरत डा. केसीको समर्थनमा बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म आवासीय चिकित्सकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । प्रदर्शन अवधिभर आवासीय चिकित्सकहरू ओपिडीमा संलग्न नभएको डा. शरद बरालले बताए । आवासीय चिकित्सकहरूको पोस्टिङ हुने अन्य अस्पतालहरूमा पनि आज बुधबार विभिन्न समयमा प्रदर्शन गरिएको डा. बरालले बताए ।

बिहीबार नेपाल चिकित्सक संघको आह्वानमा दिउँसो २ बजे हुने आन्दोलनका कार्यक्रम सार्वजनिक भेलामा विभिन्न अस्पतालका आवासीय चिकित्सकहरू भेला हुनेसमेत बरालले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ओपिडी बहिष्कार गर्ने आवासीय चिकित्सकको घोषणा, सरकार सत्याग्रहको दमनमा लागेको ठहर, (विज्ञाप्तिसहित)

१५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षामा सरकार गैरजिम्मेवार रहेको र सत्याग्रह दमनमा लागेको भन्दै ठूला सरकारी प्रतिष्ठानअन्तर्गतका आवासीय चिकित्सकहरुले सेवा बहिष्कारलगायतका कार्यक्रम घोषणा गरेका छन् । आवासीय चिकित्सकहरुले बुधबार र विहीबार २ घण्टा ओपिडी छाडेर अस्पतालअगाडि धर्ना तथा विरोध प्रदर्शन गर्ने र ती दिनहरुमा सरकारलाई ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र त्यति हुँदा पनि जीवनरक्षाका लागि ठोस पहल नभए ११ माघदेखि पूर्ण रुपमा ओपिडी सेवा छाड्ने घोषणा आवासीय गरेका हुन् ।

संयुक्त विज्ञाप्ति निकालेर ओपिडी बहिष्कार घोषणा गर्नेमा त्रिवि शिक्षण अस्पताल, धरान र वीरका आकस्मिकबाहेकका सेवाका आवासीय चिकित्सक छन् ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुको संस्था राष्ट्रिय आवासीय चिकित्स्क संघ (एनआडिए), रेजिडेन्ट डक्टर्स एसोसिएसन अफ न्याम्स (र्यान, वीर अस्पताल) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका चिकित्सकहरुको संस्था जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्ती रुपमा विज्ञाप्ति जारी गरेर यस्तो घोषणा गरेका हुन् ।

विज्ञाप्तिमा एनआरडिएका तर्फकाट डा. सुमित पाण्डे -र्यानका डा. शरदचन्द बराल र जेआरडब्लुएसका तर्फबाट डा. कविराज पौडेलले हस्ताक्षर गरेका छन् । शान्तिपूर्ण तरिकाले कालोपट्टी बाँधेर सांकेतिक विरोध जनाउँदा नभएपछि दोस्रो चरणमा ओपिडी बहिष्कार गर्नुपरेको भनाइ चिकित्सकहरुको छ ।
विज्ञाप्तिमा डा. गोविन्द केसीको अनशनको १४अाैँ दिन बितिसक्दा पनि सरकार र सरोकारवालाको मौनताप्रति स्तब्ध र मर्माहित भएको उल्लेख छ । स्वास्थ्यक्षेत्रको विकृति हटाउन गरिएको नि:स्वार्थ सत्याग्रह निरन्तर दबाउने प्रयासमा रहेको र मौन रही गैरजिम्मेवार कदम चाल्ने चलखेलप्रति घोर भत्र्सना गरिएको छ ।

आवासीय चिकित्सकहरुले वार्ताको माध्यामबाट निकाश नखोजे आउने विकरात परिस्थितिबाट स्वास्थ्यक्षेत्रलाई जोगाउन दबाबका कार्यक्रम जारी राख्ने जनाएका छन् । यो तहको दबाबबाट पनि नपुगे अझै सशक्त आन्दोलन गर्ने उनीहरुको भनाइ छ ।

संयुक्त विज्ञाप्ति

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रहरीले झडपको त्रास देखाएपछि रोकियो आवासीय चिकित्सकको प्रदर्शन, अवरोध गर्न भाडाका मान्छे प्रयोगको आशंका

फाइल तस्बिर : अघिल्ला अनशनमा एनआरडिएको प्रदर्शन

१२ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकले आइतबारका लागि तय गरेको एक घण्टे शान्तिपूर्ण धर्ना कार्यक्रम प्रहरीले झडपको त्रास देखाएर ‘जे पनि हुन सक्ने’ चेतावनी दिएपछि स्थगित भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए)को आह्वानमा आइतबार दिउँसो १ देखि २ बजेसम्मको खाजा समयमा शान्तिपूर्ण प्रदर्शन गर्ने तय भएको थियो ।
एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेका अनुसार घोषित कार्यक्रम सुरु हुनु केही समयअघि फणिन्द्र नामका डिएसपीले फोन गरेर ‘अन्य युवाको समेत प्रदर्शन रहेकाले जे पनि हुन सक्छ’ भनेपछि कार्यक्रम रोकिएको थियो । ‘अस्पतालमा झडपको अवस्था नआओस् भनेर हामीले तत्कालै शान्तिपूर्ण प्रदर्शनको कार्यक्रम स्थगित गरेका हौँ,’ डा. पाण्डेले हेल्थपोस्टसँग भने । डा. पाण्डेका अनुसार प्रहरीले अमूक समूहको समानान्तर प्रदर्शन हुने र उनीहरू चिकित्सकहरूको प्रदर्शनस्थलमै आउन खोजेमा आफूले रोक्न नसक्ने भन्दै चिकित्सकलाई त्रास देखाएको थियो ।

‘प्रहरीले हामीलाई कान्ति अस्पतालतिरको साइडमा कार्यक्रम गर्न भन्यो, ती अमूक युवाहरूलाई अस्पतालअगाडि नै सुरक्षा दिएर प्रदर्शन गर्ने वातावरण बनाइदियो,’ डा. पाण्डेले भने, ‘फन्डिङ भएर आएजस्तो लाग्ने सो समूहलाई प्रहरीले नै संरक्षण गरिरहेको त छैन भन्ने आशंका उब्जिएको छ ।’

उनका अनुसार डिएपीले अस्पतालपरिसरमा कार्यक्रम गरेमा ‘विजय थापाका समर्थक’हरूले पनि सोही ठाउँमै जाने चेतावनी दिएको जानकारी दिएका थिए । ‘प्रहरीले हामीलाई कान्ति अस्पतालतिरको साइडमा कार्यक्रम गर्न भन्यो, ती अमूक युवाहरूलाई अस्पतालअगाडि नै सुरक्षा दिएर प्रदर्शन गर्ने वातावरण बनाइदियो,’ डा. पाण्डेले भने, ‘फन्डिङ भएर आएजस्तो लाग्ने सो समूहलाई प्रहरीले नै संरक्षण गरिरहेको त छैन भन्ने आशंका उब्जिएको छ ।’
चिकित्सकहरूको कार्यक्रम दिउँसो १ बजेका लागि तय भएको थियो । सोही समयमा केही युवा आएर ‘विजय थापा’को समर्थनमा नाराबाजी गरेका थिए । राज्यबाट त्रास र असुरक्षा महसुस गरेकै कारण शान्तिपूर्ण रूपमा डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउन कठिन भएको अर्का एक आवासीय चिकित्सकले बताए । अघिल्ला अनशनमा चौथो वा पाँचौँ दिनदेखि नै रेजिडेन्ट डाक्टरहरू डा. केसीको समर्थनमा उत्रिने गरेका थिए ।

डा. केसीको अनशनविरुद्ध भनेर अनशन थालेका ती युवालाई प्रशासनले नै इलाम पुर्याएको थियो भने डा. केसीको स्वास्थ्यमा जोखिम देखिएर इलामबाट हिँड्नासाथ केहीबेरपछि नै झापा पठाइएको थियो । इलाममा थापाको अनशनस्थललाई सशस्त्र र जनपथ प्रहरीले सुरक्षा दिएको थियो ।
डा. केसीका सहयोगी डा. अभिषेक सिंहका अनुसार झापाका प्रमुख जिल्ला अधिकारीले गृहसचिवको आदेश भन्दै डा. केसीलाई लिन गएको हेलिकोप्टरमै थापालाई काठमाडौं पठाउने प्रयास गरेका थिए । तर, केसीका सहयोगीले अर्को व्यवस्था गरेर काठमाडौं लाने चेतावनी दिएपछि उनी ‘ब्याक’ भएका थिए ।

काठमाडौंसमेत डा. केसीलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरेपछि गृह प्रशासनले थापालाई समेत आइसियूमै भर्ना गर्न त्रिवि शिक्षण अस्पतालका पदाधिकारीलाई दबाब दिएको थियो । तर, अस्पतालका निर्देशकले अस्पतालमा झडपको अवस्था आउन सक्ने भन्दै भर्ना गर्न नसक्ने बताउँदा पनि गृहकै दबाबमा उनलाई शिक्षण अस्पतालमै भर्ना गरिएको डा. सिंहको भनाइ छ । ‘डा. केसीको अनशनलाई बदनाम गर्न र समर्थक चिकित्सकमा त्रास छर्न सरकारले भाडाका मान्छे ल्याएर प्रयोग गरिरहेको छ,’ डा. सिंहले भने, ‘डा. केसीको सत्याग्रहलाई बिथोल्ने कुनै पनि प्रयास सफल हुन सक्दैन ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै