नारायणी पुलबाट हामफाल्ने बढे, नाबालकसहित नदीमा हेलिन्छन् अभिभावक

तिहारको लक्ष्मीपूजाको दिन (१० कात्तिक), सबैका घरमा चाडपर्वको उल्लासमय वातावरण थियो । त्यही दिन नारायणगढस्थित नारायणी पुलबाट अन्दाजी ३५ वर्षीय पुरुष आफ्ना नाबालक छोरासहित हामफाले । करिब ४ बजेको समयमा हामफालेका ती पुरुषलाई तत्काल वडा प्रहरी कार्यालय नारायणगढले मृत अवस्थामा फेलापार्यो । तर, नाबालक छोरा भने अझै बेपत्ता छन् ।

यो घटना सेलाउन नपाउँदै बुधबार अर्को घटना दोहोरियो । २० कात्तिकमा ५५ वर्षीय एक पुरुष नारायणी पुलबाट हामफाले । उनलाई तत्काल प्रहरीले उद्धार त गर्यो, तर भरतपुर अस्पतालमा उपचारका क्रममा एकदिनपछि उनको मृत्यु भयो । अझैसम्म मृतकको सनाखत हुन सकेको छैन ।

यसअघि भरतपुर महानगरपालिका–११, जागृतचोकका उदार पौडेल पनि नारायणी पुलबाट हामफालेका थिए । १ असोजमा नारायणी पुलबाट हामफालेका २५ वर्षीय पौडेल अहिलेसम्म बेपत्ता छन् ।

नारायणी नदीको पुलबाट हामफालेर आत्महत्या गर्नेको संख्या बढिरहेको छ । पछिल्लो पाँच महिनाको तथ्यांक हेर्दा अहिलेसम्म १२ जना नारायणी नदीमा पसिसकेका छन् । त्यसमध्ये ६ जना पुलबाट हामफालेका छन् भने ६ जना विभिन्न कारणले डुबेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । पुलबाट हामफाल्नेमा ४ पुरुष र २ महिला छन् । ३१ जेठमा राप्ती नगरपालिका–७ की २० वर्षीया कविता बसेल र पार्वतीपुरकी २२ वर्षीया विमला कुमाल ५ असारमा नारायणी पुलबाट हामफालेका थिए ।

गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् । नारायणीमा हामफाल्नेमध्ये आधा अझै बेपत्ता छन् । १२ मध्ये ६ जना नभेटिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । राप्ती नगरपालिकाकी २० वर्षीया कविता बसेल, सुगौली गाउँपालिकाका धर्मराज महतो, भरतपुर–११ का उदार पौडेल, सम्झना गुरुङ र एक नाबालक अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ ।

गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् । नारायणीमा हामफाल्नेमध्ये आधा अझै बेपत्ता छन् । १२ मध्ये ६ जना नभेटिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । राप्ती नगरपालिकाकी २० वर्षीया कविता बसेल, सुगौली गाउँपालिकाका धर्मराज महतो, भरतपुर–११ का उदार पौडेल, सम्झना गुरुङ र एक नाबालक अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ । ३ वर्षको तथ्यांक हेर्ने हो भने चितवनमा हामफालेर आत्महत्या गर्नेको संख्यामा उतार–चढाव देखिन्छ । आर्थिक वर्ष ०७३/७४ मा ५ जनाले हामफालेर आत्महत्या गरेका थिए । आव ०७४/७५ मा ३ जना हामफालेको तथ्यांक छ । घटनाको विश्लेषण गर्दा नारायणी नदीमा बिहान साढे ९ देखि साँझ ५ बजेको बीचमा हामफाल्ने गरेको पाइएको छ ।

चितवनमा विभिन्न कारणले आत्महत्या गर्नेको दर बढिरहेको छ । आव ०७४/०७५ भन्दा गत आर्थिक वर्षमा २० जना बढीले आत्महत्या गरेका छन् । आव ०७४/७५ मा १ सय ३९ जनाले आत्महत्या गरेकोमा गत आर्थिक वर्षमा १ सय ५९ जनाले आत्महत्या गरको तथ्यांक छ । त्यस्तै, चालू आवको झन्डै ४ महिनामा ३७ जनाले आत्महत्या गरिसकेका छन् । सबैभन्दा धेरैले झुन्डिएर आत्महत्या गर्ने गरेका छन् । गत आवमा १ सय ३५ जनाले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक छ । त्यस्तै, विष सेवन र हातहतियार प्रयोग गरी आत्महत्या गर्ने गरेको पाइएको छ ।

नारायणी नदीमा हामफाल्नेक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई रोक्न प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । ‘हाम्रो जनशक्तिले भ्याएसम्म दिउँसोमा निगरानी बढाएका छौँ । यसलाई रोक्न टेक्नोलोजीबाट पनि निगरानी बढाउन भरतपुर महानगरपालिकाको सहयोगमा पुललाई ओगट्ने गरी सिसिटिभी राखेका छौँ,’ उनले भने, ‘देशकै केन्द्रविन्दु हुँदा पूर्व–पश्चिमका बसमा आएर हामफाल्ने गरेकाले हामीलाई चुनौती थपिएको छ ।’

पुलको दायाँबायाँ ग्याबिन वायर लगाउनुपर्ने उनले बताए । ‘पुलको दायाँबायाँ तीन–चार फिट ग्याबिन वायर लगाउने हो भने हामफाल्न कठिन हुन्छ,’ उनले भने, ‘सरोकारवालाले यसतर्फ ध्यान दिने हो भने आत्महत्या गर्ने दर घटाउन सकिन्छ ।’ चितवन जिल्लामा नारायणी पुलबाहेक अन्य स्थानबाट नदीमा हामनफालेको उनले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आत्महत्या न्यूनीकरण : मनोरोगीको पहिचान, माया र उपचार

सम्पूर्ण प्राणीलाई जन्मेदेखि प्रकृतिले बाँच्ने इच्छाशक्ति हालिदिएको छ । बच्चादेखि नै च्याँ गर्छ, रुन्छ, जीवनलाई अप्ठ्यारो पर्यो भने प्रतिक्रिया देखाउँछ, जुन बाच्नकै लागि हो । तर, कुनै समयमा मानिसमा आफ्नो जीवनलाई माया नगर्ने, जीवनलाई नै समाप्त पार्नेजस्ता सोच उत्पन्न हुन्छन् । जीवनप्रति यस्ताखाले नकारात्मक सोच विकसित भएपछि कुनै माध्यमद्वारा मानिसले आफ्नो जीवन समाप्त पार्छ । यसरी आफ्नो जीवनलाई आफैँले समाप्त पार्ने, हत्या गर्ने प्रक्रियालाई आत्महत्या भनिन्छ ।

आत्महत्याका विभिन्न कारण रहँदै आएका छन् । धेरैजसो कारण मानसिकरोगसँग सम्बन्धित भएर आएका हुन्छन् । करिब ८० प्रतिशतभन्दा बढी आत्महत्याका केस कुनै न कुनै रूपमा मनोरोगसँग सम्बन्धित हुने गर्छन् । मनोरोगहरू मध्य पनि आत्महत्या निम्त्याउने प्रमुख समस्या डिप्रेसन हो । त्यसैगरी, विक्षिप्त पार्ने साइकोसिस्, लागुपदार्थ दुर्व्यसनका कारण तथा तनाव व्यवस्थापन गर्न नसक्दा पनि मानिस आत्महत्यातर्फ लाग्ने गर्छ ।

मनोरोगको कारण भने यही नै हो भन्ने यकिन छैन । यसलाई सामाजिक, साइकोलोजिक, बायोलोजिकल कारणका रूपमा हामी अध्ययन गर्ने गर्छौं । बायोलोजिकल कारण मनोरोग लगाउने तथा आत्महत्याका लागि लालायित बनाउने कारणमा व्यक्तिको आनुवंशिक गुण, मस्तिष्कमा हुने उतार–चढाव पर्छन् । त्यस्तै, साइकोलोजिकल कारणमा व्यक्तिको तनाव व्यवस्थापन गर्ने क्षमता, समस्यालाई हल गर्ने क्षमता, समाजलाई हेर्ने दृष्टिकोणजस्ता कुराले प्रभाव पारिरहेको हुन्छ । त्यसैगरी, अर्को विषय भने सामाजिक मुद्दाले आत्महत्यामा सहयोग पुर्याइरहेको हुन्छ । कुनै व्यक्तिको सामाजिक परिवेश, पेसाको तह, शैक्षिक अवस्था, बसाइँसराइ, समाजमा घट्ने वा ऊ स्वयम्ले घटाउने आपराधिक क्रियाकलापलगायत विषय आत्महत्यासँग जोडिएका हुन्छन् । त्यसैले मानिस यही कारणले आत्महत्या गर्छ भनेर यकिनसाथ भन्न सकिँदैन ।

मानिसको मन, सोचाइ र व्यवहार बुझ्नु धेरै जटिल विषय हो । सामान्यतया मर्दै गरेको वा आत्महत्या गर्न लागेको मानिसले झुटो बोल्दैन भनिन्छ, धेरै हदसम्म सही पनि होला । तर, पूर्ण मनोरोग लागिसकेको अवस्थाको मानिस छ र औषधोपचार पाएको छैन भने मानिस र समाजबीचको इन्टिग्रेसन नभएको अवस्थामा उत्पन्न विचार पनि दोषपूर्ण हुन सक्छ । त्यसकारण पनि आत्महत्या गर्ने मानिसले सधैँ सत्य नै बोल्छन् भन्न सकिँदैन । कुनै व्यक्तिले मलाई आत्महत्या गर्न दुरुत्साहन गर्यो, त्यसैले म आत्महत्या गर्दै छु भनेर लेखेकै भरमा अकाट्य रूपमा आरोपित व्यक्ति दोषी हुन्छ भन्ने मलाई विश्वास लाग्दैन ।

मनोरोगको सिकार हुन नदिनका लागि स्वास्थ जीवनशैलीको अनुसरणका साथै दिनचर्यामा बदलाव जरुरी छ । उदाहरणका लागि सरल दिनचर्या अपनाउने, पुरा हुन नसक्नेखालका उच्च महत्त्वाकांक्षा नराख्ने, कुनै कुरामा असफल भएको खण्डमा त्यसलाई सहज रूपमा लिने, लागुपदार्थ दुर्व्यसनबाट टाढा बस्ने, मनमा आएका विकार तथा अप्ठ्यारा सोच साथीसँग भन्ने र हल गर्न खोज्ने, मनोरोगका लक्षण आफू, साथी वा परिवारमा देखियो भने मानसिक परामर्शदाता तथा विशेषज्ञ चिकित्सककहाँ समयमै पुग्ने–पुर्याउने गर्नुपर्छ ।

आत्महत्याका धेरैजसो केस डिप्रेसनसँग सम्बन्धित छन् भनिरहँदा हामीले डिप्रेसनका सुरुवाती लक्षण विचार गर्नुपर्छ । माइल्ड खालको डिप्रेसनमा नैराश्य उत्पन्न हुने, पहिले रमाइलो लाग्ने कुराहरूमा रमाउन छोड्ने, भोक, निद्रामा गडबढी आउनेजस्ता लक्षण देखिन्छन् । यद्यपि, माइल्ड खालको डिप्रेसनमा मानिसले पेसा, व्यवसाय, समाजिक सम्बन्धहरू कायम राखेरै अघि बढिरहेको हुन्छ । कतिपय अवस्थामा आफू डिप्रेसनको सिकार हुँ भन्ने थाहा पनि नहुन सक्छ । माइल्डबाट मोडरेटमा गइसकेपछि मानिसको जीवनयापनमा समस्या ल्याउने, सामाजिक सम्बन्धमा असर पार्ने, थाक्ने, गल्नेक्रम बढ्न थाल्छ । निरासा पैदा हुनेक्रम बढ्दै जान्छ, आफ्नो दैनिक जीवन बिताउन अलि गाह्रो हुन्छ कि भन्ने सोच आउने गर्छ । त्यसैगरी, शारीरिक रूपमा धेरै थकान हुने, आत्महत्याको सोच व्यापक रूपमा बढ्दै जाने र जीवन नै समाप्त पार्ने सोच भने सिभियर अवस्थामा आउने गर्छ ।

हाम्रो समाजमा गलत सोच विद्यमान छ । मानिसले यदि सोच–विचार गर्यो भने आत्महत्या गर्दैन भन्ने धारणा छ, जुन सही होइन । जब कुनै व्यक्तिको मनमा आत्महत्याको सोच–विचार आउँछ र उसले कुनै तरिकाले वर्णन गर्यो भने हामीले त्यसलाई संकेतका रूपमा लिनुपर्छ । आत्महत्या गर्नुअघि मानिसले २०औँपटकसम्म आत्महत्याबारे कुराकानी गर्ने, प्रक्रियाहरूबारे खोज्ने, अलि–अलि पूर्वजानकारी दिने सम्भावना प्रचुर मात्रामा हुने गर्छ ।

संसारमा धेरै त्यस्ता घटना छन्, कुनै सेलिब्रिटी तथा ख्यातिप्राप्त मानिसले आत्महत्या गरिसकेपछि त्यस्तैखालको व्यक्तित्व भएका अन्य मानिसले पनि आत्महत्या गरेका छन् । त्यसैले आत्महत्याका समाचारको रिपोर्टिङ तथा सम्प्रेषणमा मिडिया संवेदनशील र उत्तरदायी हुनु जरुरी छ । आत्महत्याबारे आममानिसलाई सुसूचित गर्नुपर्छ, तर सन्देश दिनेवेला मानसिक स्वास्थ्यबारेका जानकारीमूलक तथा जीवनलाई माया गर्न सिकाउनेखालका सन्देश दिनुपर्छ ।

नेपाल बढी आत्महत्या गर्ने देशमा विश्वकै सातौँ नम्बरमा परेको छ । नेपालमा औसत दैनिक १६ जनाले आत्महत्या गरिरहेको तथ्यांक हामीसामु छ । यसरी आत्महत्याको दर बढ्दै जानुमा सञ्चारको विकाससँगै घटनाको रिपोर्टिङमा आएको परिर्वतन पनि एउटा कारण हो । आत्महत्या बढ्नुमा मनोरोगका विभिन्न कारण जस्तै, बेरोजगारी, बसाइँसराइ, वैदेशिक रोजगारी, लागुपदार्थ दुर्व्यसनजस्ता कारकतत्व रहेका छन् । मुख्य कारण भनेको मनोरोगको उचित समयमा पहिचान र उपचार नहुनु नै हो ।

उपचार तथा रोकथाम
आत्महत्यालाई मानसिक समस्यासँग जोडेर हेरिएपछि रोकथामको प्रथम उपाय पनि समयमै मनोरोगको पहिचान र उपचार नै हुन जान्छ । मनोरोगको सिकार हुन नदिनका लागि स्वास्थ जीवनशैलीको अनुसरणका साथै दिनचर्यामा बदलाव जरुरी छ । उदाहरणका लागि सरल दिनचर्या अपनाउने, पुरा हुन नसक्नेखालका उच्च महत्त्वाकांक्षा नराख्ने, कुनै कुरामा असफल भएको खण्डमा त्यसलाई सहज रूपमा लिने, लागुपदार्थ दुर्व्यसनबाट टाढा बस्ने, मनमा आएका विकार तथा अप्ठ्यारा सोच साथीसँग भन्ने र हल गर्न खोज्ने, मनोरोगका लक्षण आफू, साथी वा परिवारमा देखियो भने मानसिक परामर्शदाता तथा विशेषज्ञ चिकित्सककहाँ समयमै पुग्ने–पुर्याउने गर्नुपर्छ ।

मनोरोगीलाई हेर्ने समाजको दृष्टिकोण बदलिनु जरुरी छ । मानसिक रोग लागेको व्यक्ति पागल हो, काम नलाग्ने हो भन्ने जुन भ्रम व्याप्त छ, त्यसलाई चिर्नु आवश्यक छ । मनोरोग पनि अन्य रोगजस्तै हो, जुन उपचार गरेमा ठिक हुन्छ । यो रोगबाट कोही पनि अछुत रहन सक्दैन । त्यसैले मनोरोगीको पहिचान गर्नु, उनीहरूलाई माया दिनु, समाजले भरिदिएको कलंकलाई चिर्नु अत्यावश्यक छ ।

यदि कुनै परिवारको सदस्यमा मनोरोगका लक्षण देखिएमा कोठमा एक्लै बस्न नदिने, उसको व्यवहारलाई नजिकबाट नियाल्ने, उसलाई विषादीको पहुँचमा नराख्ने, धारिलो हतियार तथा डोरी उसको नजिकमा नराखिदिनेजस्ता कुराले केही हदसम्म आत्महत्याका अप्रिय घटनाको रोकथाम गर्न सकिन्छ ।

आत्महत्याको दर १५ देखि २९ वर्ष उमेर समूहका मानिसमा धेरै देखिँदै आएको छ । यो आफ्नो बौद्धिक तथा समग्र मस्तिष्कको वृद्धि–विकास हुने उमेर हो । यतिवेला महत्त्वाकांक्षा बढी हुने गर्छ । यो उमेरका युवा–युवतीको बाबु–आमासँगको व्यवहार कस्तो छ, यस्ता कुरामा ख्याल गर्नुपर्ने हुन्छ । इन्टरनेटको गलत प्रयोगलगायत लागुपदार्थको दुर्व्यसनको रोकथाम गर्नुपर्छ । त्यसैगरी, अपरिपक्व रूपमा विकास भएको प्रेमसम्बन्धका कारणले पनि आत्महत्याको दर बढिरहेको छ, जसको रोकथामका लागि शिक्षक, समुदाय, परिवारका सदस्यले नजर राखिराख्नु आवश्यक हुन्छ ।

आत्महत्या मनोरोगसँग सम्बन्धित समस्या हो । यसलाई न्यूनीकरण गर्नमा सबैको भूमिका हुन्छ । घर–परिवार, डाक्टर, पत्रकार, राजनीतिकर्मी, समाजसेवी सबैले आ–आफ्नो तहबाट महत्त्वपूर्ण भूमिका निभाएमा आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ ।

मनोरोगीलाई हेर्ने समाजको दृष्टिकोण बदलिनु जरुरी छ । मानसिक रोग लागेको व्यक्ति पागल हो, काम नलाग्ने हो भन्ने जुन भ्रम व्याप्त छ, त्यसलाई चिर्नु आवश्यक छ । मनोरोग पनि अन्य रोगजस्तै हो, जुन उपचार गरेमा ठिक हुन्छ । यो रोगबाट कोही पनि अछुत रहन सक्दैन । त्यसैले मनोरोगीको पहिचान गर्नु, उनीहरूलाई माया दिनु, समाजले भरिदिएको कलंकलाई चिर्नु अत्यावश्यक छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बढी आत्महत्या गर्नेमा नेपाल विश्वको सातौँ मुलुक, दैनिक १६ नेपालीले गर्छन् आत्महत्या

नेपालमा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक १६ जना नेपालीले आत्महत्या गरिरहेका छन् । यसमा ९० प्रतिशतभन्दा बढीले मानसिक तथा व्यावहारिक कारणले आत्महत्या गर्ने गरेको सम्बन्धित चिकित्सकले बताउँदै आएका छन् ।

‘आत्महत्या रोकथाम सबैको सहकार्य’ भन्ने नाराका साथ १० सेप्टेम्बरका दिन (मंगलबार) विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ । दिवसको पूर्वसन्ध्यामा आइतबार पाटन मानसिक अस्पतालले आत्महत्या रोकथामको विषयलाई लिएर एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीको भूमिका कस्तो रहन्छ भन्ने मूल विषयवस्तुमा आधारित भएर अन्तरक्रियासमेत गरियो ।

बढी आत्महत्या गर्नेमा नेपाल विश्वको सातौँ देश
विश्वमा धेरै राष्ट्रले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा विभिन्न मार्गदर्शन वा मापदण्ड निर्धारण गरेर त्यसको व्यावहारिक अनुसरा गर्दै आए पनि नेपालमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमले त्यसकिसिमको गाइडलाइनको अनुसरण नगर्दा आत्महत्याले थप प्रश्रय पाइरहेको मनोचिकित्सक डा. रवि शाक्य बताउँछन् । ‘आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतीको रूपमा रहेको छ,’ डा. शाक्य भन्छन्, ‘विश्वभरमा बढी आत्महत्या गर्नेमा नेपाल सातौँ नम्बरमा पर्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर १५ देखि २९ वर्ष उमेर समूहमा मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या हो । तर, नेपालका सन्दर्भमा भने प्रजनन उमेरका महिलाको मृत्युको प्रमुख कारण नै आत्महत्या रहेको कन्सल्ट्यान्ट साइक्याट्रिक डा. वासुदेव कार्की बताउँछन् ।

दैनिक १६ नेपालीले गर्छन् आत्महत्या
नेपाल प्रहरीको तथ्यांकअनुसार आत्महत्याको दर दिनहुँ बढ्दै गएको छ । आर्थिक वर्ष ०७०/७१ मा ४ हजार ५ सय ४ जनाले आत्महत्या गरेको तथ्यांक छ । त्यस्थै आव ०७१/७२ मा ४ हजार ३ सय ३२ ले आत्महत्या गरेको रेकर्ड प्रहरीसित छ । यसवर्ष अघिल्लो वर्षको तुलनामा आत्महत्याको संख्या बढेको छैन । तर, आव ०७२/७३ देखि भने आत्महत्याको संख्या निरन्तर बढिरहेको तथ्यांक प्रहरीको छ । ०७२/७३ मा ४ हजार ६ सय ८० नेपालीले आत्महत्या गरे । त्यसैगरी, आव ०७३/७४ मा यो संख्या ५ हजार १ सय २४ पुग्यो । त्यस्तै, आव ०७४/७५ मा आइपुग्दा आत्महत्याको संख्या बढेर ५ हजार ३ सय १७ पुगेको देखिन्छ, जुन अघिल्लो आवको भन्दा करिब २ सय बढी हो । त्यसैगरी, आव ०७५/७६ (अघिल्लो आव) मा ५ हजार ७ सय ५४ नेपालीले आत्महत्या गरेको तथ्यांक छ । यो संख्या अघिल्लो वर्षको भन्दा ४ सय ३७ ले बढी हो । यस तथ्यांकअनुसार दैनिक १६ नेपालीले आत्महत्या गरिरहेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर १५ देखि २९ वर्ष उमेर समूहमा मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या हो । तर, नेपालका सन्दर्भमा भने प्रजनन उमेरका महिलाको मृत्युको प्रमुख कारण नै आत्महत्या रहेको कन्सल्ट्यान्ट साइक्याट्रिक डा. वासुदेव कार्की बताउँछन् ।

एक आत्महत्याले १ सय ३५ जनामा तनाव
‘एकजनाको आत्महत्याको घटनाले उसका आफन्त, नातेदार छरछिमेक र अन्य गरी औसत १ सय ३५ जनामा तनाव उत्पन्न हुन्छ,’ डा. कार्की भन्छन्, ‘आत्महत्या व्यक्तिको कमजोरीका कारण हुने नभएर आनुवंशिक, मनोवैज्ञानिक, समाजिक, सांस्कृतिक तथा अन्य जोखिमका तत्त्वले कारणले आत्महत्या भइरहेको हुन्छ ।’

हरेक ४० सेकेन्डमा १ आत्महत्या, हरेक ३ सेकेन्डमा १ आत्महत्या प्रयास
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा प्रत्येक वर्ष करिब १० लाख मानिसले आत्महत्या गर्ने गरेको अनुमान छ । विश्वमा हरेक ३ सेकेन्डमा एकजनाले आत्महत्याको प्रयास गर्ने गरेका छन् भने हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्या गरिरहेका हुन्छन् । नेपालमा न्यून मात्रामा आत्महत्याको अनुसन्धान, कमजोर रेकर्डिङ, आत्महत्या लुकाउने प्रवृत्तिका आदि कारणले गर्दा यकिन तथ्यांक अझै उपलब्ध नभएको र वास्तविक दर अझ बढी भएको डा. कार्कीको अनुमान छ ।

झुन्डिएर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो
नेपालमा बढी मात्रामा झुन्डिएर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो पाइएको छ । आर्थिक वर्ष ०७४/७५ मा कुल ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेकोमा ३ हजार ८ सय ८३ ले झुन्डिएर मृत्युवरण गरेका थिए । त्यसैगरी, कीटनाशक औषधिको प्रयोग, नदी, इनार, पोखरीमा डुबेर, उचाइबाट फाल हानेर आत्महत्या गर्ने गरेको पाइएको छ ।
‘कुनै सेलिबे्रटीले आत्महत्या गर्दा हजारौँको संख्यामा आत्महत्या हुने गरेका छन्,’ डा. शाक्य भन्छन्, ‘३ दिनभित्रमा धेरै मानिसले आत्महत्याको प्रयास गर्ने गरेको पाइएको छ भने २ हप्तासम्म एक सेलिब्रेटीको आत्महत्यालाई लिएर उस्तै प्रकृतिका आत्महत्या भइरहेका थुप्रै उदाहरण छन् ।’

मानिस आत्महत्या किन गर्छन् ?
आत्महत्यामा जैविक, वंशानुगत, सामाजिक तथा मनोवैज्ञानिक पक्षहरूको भूमिका रहेको हुन्छ । आत्महत्याको प्रयास गर्नेमध्ये ९५ प्रतिशत मानसिक रोगले ग्रस्त भएको तथ्यांक छ । मानसिक रोग भन्नाले पूरै विक्षिप्त, जथाभावी गरेर हिँड्ने मात्र नभई शारीरिक रूपमा पूरै स्वस्थ तर आफू र वरिपरिको वातावरणसँग मेलमिलाप नभई भित्रभित्रै पीडितलाई पनि जनाउँछ । तीमध्ये अस्वाभाविक रूपमा उदास भइराख्ने, उदासीन मनोरोग (डिप्रेसन) आत्महत्याको ८० प्रतिशत कारण मानिन्छ । त्यस्तै, सिजोफ्रेनिया वृद्धावस्थामा मस्तिष्क खिइने रोग डिमेन्सिया, रक्सी तथा अन्य लागुपदार्थको दुव्र्यसन, व्यक्तित्वको गडबडी आदि पनि महत्त्वपूर्ण कारणहरू रहेका छन् ।

आत्महत्याका कारण
– मानसिक र व्यावहारिक समस्या
– मनोसामाजिक तथा अन्य आघातजन्य घटना
– घरेलु हिंसा र यौन दुव्र्यवहार
– लागुऔषध र मादकपदार्थको दुव्र्यसन
– एक्लोपन
– अन्तरवैयक्तिक सम्बन्ध बिग्रनु
– प्रेममा असफलता
– आर्थिक समस्या
– समाजिक रूपमा बदनाम हुन आदि ।

आत्महत्या रोकथामका आधारभूत पाँच चरण
१. सम्भावित लक्षणहरूको परिचाहन गर्ने
२. आत्महत्यालाई निरुत्साहन गर्न आ–आफ्नो भूमिका निर्वाह गर्ने
३. मानसिक रूपमा स्वास्थ रहन स्वहेरचाहको अभ्यास गर्ने
४. उपलब्ध सेवाबारे जानकारी र पहँुच राख्ने
५. आत्महत्याबारे खुलेर कुरा गर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आत्महत्याको मिडियाकरणले आमआत्महत्या

पत्रकार सालिकराम पुडासैनीले चितवन पुगेर गरेको आत्महत्याको घटना अहिले देशैभर चर्चामा छ । त्यसपछि पनि निरन्तर आत्महत्याका घटना सार्वजनिक भइरहेका छन् । मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारको सरकारी कार्यालयभित्र होस् या काठमाडौंको नयाँ बसपार्कको होटेलमा, आत्महत्याका घटना घटि नै रहेका छन् । नेपालमा दैनिक औसत १४ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल प्रहरीको रेकर्डअनुसार विगतका वर्षभन्दा आत्महत्याको दर ८ प्रतिशतले बढेको पाइएको छ । मानिस किन आत्महत्या गर्न विवश हुन्छ ? क्षणभरको आवेगमा आएर मानिस कसरी अमूल्य जीवन नफर्किने गरी समाप्त गर्न तत्पर हुन्छ ? मानिस किन जीवनसित सजिलै हार खान पुग्छ ? आत्महत्याका कारण के–के हुन सक्छन् ? यिनै विषयसँग सम्बन्धित रहेर हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीका क्रममा मानसिकरोग विशेषज्ञ डा. रितेश थापा यसरी व्यक्त भए–

हाम्रो समाजमा आत्महत्याको विषयलाई लिएर धेरै भ्रम रहेका छन् । आत्महत्या भन्नेबित्तिकै दिमाग खुस्किएको अथवा दिमाग नभएको मानिसले वा कायर वा मूर्खले गर्ने हो भन्ने सोच व्याप्त छ, जुन अवधारणा गलत हो । मानिस जब मानसिक तनाव झेल्न नसकेर डिप्रेसनमा जान्छ वा उसलाई अन्य कुनै मानसिक रोग लाग्छ र त्यसबाट बाहिर निस्कने कुनै पनि उपाय पाउँदैन वा धेरै पीडा भएका बखत कम गर्न नसक्ने अवस्थामा पुग्छ, तब ऊ आत्महत्यामा जाने गर्छ ।

९०% आत्महत्याको कारण मानसिक रोग
आत्महत्याको मुख्य कारण मानसिक रोग हो । अध्ययनहरूले ९० प्रतिशत आत्महत्याको कारण कुनै न कुनै किसिमको मानसिक रोग भएको देखाएका छन् । ९० प्रतिशतमा पनि सबैभन्दा मुख्य कारण डिप्रेसन अथवा मनसँग सम्बन्धित रोग भएको पाइएको छ । आत्महत्या गर्ने मानिसमा पहिलेदेखि नै डिप्रेसनका लक्षणहरू जस्तै, मन उदास हुने, झर्को लाग्ने, नकारात्मक सोच आउने, शरीरमा स्फूर्ति नआउने, नरमाइलो लाग्ने, एक्लो भएर बस्न मन लाग्ने आदि हुन्छ । डिप्रेसन बढ्दै गएपछि जब व्यक्तिले कतै पनि तनाव वा समस्याको समाधान भेट्दैन, त्यसपछि उसमा बाँचेर काम छैन, मर्न पाए हुन्थ्यो भन्ने सोच आउन थाल्छ । अब उसले पीडा कम गर्ने उपाय नै मुत्यु हो भन्ने सोच राख्दै जान्छ । मेरा कारण सबैजनालाई दुःख भयो, मैले बाँचेर अरूलाई दुःख दिनुभन्दा मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्न थाल्छ । आत्मग्लानि भएका कारण मानिस आत्महत्याको बाटो रोज्ने गर्छ । आत्महत्या गर्नु धेरै नै गाह्रो काम हो ।

आत्महत्याअघि २० पटकसम्म आत्महत्या प्रयास
डिप्रेसन वा मानसिक रोग जसलाई पनि लाग्न सक्छ । जीवनको कालखण्डमा जोकोही यसको सिकार बन्न सक्छ । अनुसन्धानका अनुसार आत्महत्या गरेर जसले मृत्युवरण गर्छन्, उनीहरूले त्यसअघि धेरैपटक आत्महत्याको प्रयास गरेका हुन्छन् । उनीहरूले २० पटकसम्म पनि आत्महत्याको प्रयास गरेका छन् भनेर अनुसन्धानले देखाएको छ ।

कहिलेकाहीँ आवेगमा आएर पनि मानिसले आत्महत्या गर्छन् । समाजले महत्त्वका साथ हेर्ने कुनै परीक्षामा फेल भएका कारण, जीवनमा केही घटना घटेपछि आफ्नो दिमागमा केही तनाव भएपछि नियन्त्रण गर्न नसकेर मानिसले आत्महत्याको प्रयास गर्ने गरेका धेरै उदाहरण छन्, जसमा केहीले मृत्युवरण गर्छन् त केही कुनै कारणले प्रयास विफल हुँदा जोगिन पुग्छन् ।

सुसाइट नोट र त्यसमा कसैप्रति आरोप
पछिल्लो समय कुनै मानिसविशेषलाई दोष लगाएर कुनै सन्देश वा सुसाइट नोट छोडेर आत्महत्या गर्ने घटना पनि बढेका छन् । अधिकांश आत्महत्यामा कुनै न कुनै प्रकारको मानसिक रोगको भूमिका हुने हुँदा कुनै व्यक्तिे यही कारणले मानिसको नाम लिएर आत्महत्या गर्छ भनेर पत्ता लगाउन भने सकिँदैन । उसले मृत्युवरण गरिसकेको अवस्थामा उसले आत्महत्या गर्नुअघि भनेका कुरा वा कसैविरुद्ध लगाएका आरोप सही हुन् या गलत भनी छुट्याउन गाह्रो हुन्छ । तर, प्रायः मानिस तनावै कारण आत्महत्यामा पुग्ने हुन् ।

जापान, जर्मनी, अस्ट्रेलियालगायत देशमा आत्महत्यामा मिडियाको रोलबारे धेरै अनुसन्धान भएका छन् । केही समयपहिले ‘थर्टिन रिजन्स ह्वाई’ नामक एक टेलिसिरियल प्रसारण हुन्थ्यो । उक्त सिरियल प्रसारण हुन थालेपछि गुगलमा कसरी आत्महत्या गर्न सकिन्छ भनेर सर्च गर्ने मानिसको संख्या बढेको देखियो, जसका कारण टेलिसिरियल बन्दै भयो । तसर्थ, यस्ता विषयमा मिडियाको ठूलो प्रभाव रहेको हुन्छ ।

उदाहरणका लागि पैसाको लेनदेन, पारिवारिक समस्या, सामाजिक समस्या वा सम्बन्धनका कारण उसको तनावको स्तर झेल्न नसक्ने अवस्थामा पुगेको हुन सक्छ । त्यसैले पनि कतिपय मानिसले आत्महत्या गर्नुपूर्व आफू तनावमा पर्नुको कारणबारे सुसाइट नोट लेख्ने गरेका पनि छन् । मैले यो कारणले मर्नुपर्यो वा दुःख पाएँ । दुःख पाएँ भनेर लेख्दै गर्दा फलानो व्यक्तिले दुःख दियो, श्रीमती वा श्रीमान्बाट दुःख झेल्नुपर्यो, जीवनमा सफलता हासिल गर्न सकिनँ, परिवारको सपना पूरा गर्न सकिएन इत्यादि सोच आइरहेका हुन्छन् । यही विषयलाई नै सुसाइट नोटमा लेख्ने गरेको पाइन्छ । अहिले मिडियाको जमाना आएकाले मिडियाको प्रयोग बढी हुन थाल्यो । सञ्चार र प्रविधिको विकाससँगै आत्महत्यापूर्व रेकर्ड गर्ने, म्यासेज गर्ने वा भिडियो नै रेकर्ड गरेर छोडिदिने प्रचलन बढेको छ । यद्यपि, यो विलकुलै नयाँ प्रयोग भने होइन, प्रकार मात्र परिवर्तन भएको हो ।

स्वैच्छिक मृत्युवरण गर्न लागेका मानिसले आफ्नो मनमा लागेका कुरा सुसाइट नोटमा लेखेर छोड्ने गरेको पाइन्छ । यो विषय मान्छेमा भरपर्ने कुरा हो, उसले अरूलाई दोष दिन्छ कि दिँदैन । तर, प्रायः आत्महत्या गर्ने मानिसले अरूलाई मात्र होइन कि, आफूलाई पनि दोष दिइरहेका हुन्छन् ।

तनावका कारण
व्यक्तिमा तनाव आफ्नो व्यक्तिगत कारणले पनि हुन सक्छ भने पारिवारिक कारणले पनि हुन्छ । परिवार छुट्टिएर बसेका कारण एकआपसमा सद्भाव तथा सपोर्ट नभएको मानिसलाई तनाव बढ्न सक्छ । त्यसैगरी, सामाजिक कारण पनि तनाव हुन्छ । बदलिँदो समाजिक परिवेशमा विदेश जानेक्रम बढिरहेको छ । समाजमा नकारात्मक कुराहरू बढी आउन थालेका छन् । यसले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मानिसलाई असर गरिरहेको हुन्छ ।

घटनाको मिडियाकरण हुँदा आत्महत्यालाई प्रश्रय, एक आत्महत्याको समाचारले २ सयसम्म आत्महत्या
तनावमा अर्को वेदर इफेक्ट पनि हुन्छ । सार्वजनिक मिडिया तथा सामाजिक सञ्जालमा कसैको आत्महत्यालाई लिएर अतिरञ्जित गरेर प्रकाशन–प्रसारण गरेको खण्डमा आत्महत्याले प्रश्रय पाइरहेको हुन्छ । प्रख्यात मानिस तथा सेलिब्रेटीले गरेको आत्महत्याको विषयमा रिपोर्टिङ भएपछि धेरै पछिसम्म पनि त्यसैकिसिमका आत्महत्या बढ्दै गएका उदाहरण छन् । कतिपय मानिसले त्यसलाई कपी गर्न खोज्छन् । अन्य मानिसले पनि तनाव झेलिरहेका हुन सक्छन् र उनीहरूमा पनि आत्महत्याको सोच आइरहेको हुन सक्छ । तर, उनीहरूले आत्महत्याको प्रयास गर्न सकिरहेका हुँदैनन् । मिडियामा आत्महत्याको विषय बढी प्रचारित हुँदा वैधानिकताजस्तो ठानेर यसअघि आत्महत्याको प्रयासमा रोकिएका मानिसले पनि आत्महत्याका धेरै घटना समाजमा घटाइरहेका छन् । एकजनाले आत्महत्या गरेपछि २ सय जनासम्मले कुनै न कुनै रूपमा त्यसैबाट प्रेरित भएर आत्महत्या गरेका उदाहरण पनि छन् । त्यही समय मिलाएर, उही उमेर समूहका मानिसले, त्यस्तै प्रकारले आत्महत्या गरिरहेका हुन्छन् ।

तनाव मोडरेट लेबलमा पुगेको छ भने खालि योग वा काउन्सिलिङ गरेर मात्र ठिक हुँदैन । किनभने, डिप्रेसन भनेको रोग हो, जसको उपचार मनोपरामर्श र औषधिबाट हुन्छ । यदि कोही मानिस सिभियरको तहमा डिप्रेसनमा गएको छ र आत्महत्या गर्ने सोच बारम्बार आइरहेको छ भने त्यस्ता बिरामीलाई तुरुन्तै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । अस्पताल भर्ना भएर काउन्सिलिङ तथा स्वास्थ्यकर्मीको निगरानीमा औषधि दिने गरिन्छ ।

आत्महत्याको रिपोर्टिङका लागि छुट्टै गाइडलाइन बनाइएका छन् । विश्वमा धेरै पत्रकारले यो गाइडलाइनको फलो गरेका छन् । तर, दुर्भाग्यवश हाम्रो देशमा फलो गरेको पाइँदैन । कुन विषयलाई कसरी प्रकाशित गर्नुपर्छ भन्ने कुराको ज्ञान सञ्चारकर्मीमै कम भएको पाइएको छ । त्यसैले पनि एक आत्महत्याको केसले अन्य आत्महत्यालाई प्रश्रय दिइरहेको छ । यस विषयमा विश्वमा धेरै अनुसन्धान भएका छन् । जापान, जर्मनी, अस्ट्रेलियालगायत देशमा आत्महत्यामा मिडियाको रोलबारे धेरै अनुसन्धान भएका छन् । केही समयपहिले ‘थर्टिन रिजन्स ह्वाई’ नामक एक टेलिसिरियल प्रसारण हुन्थ्यो । उक्त सिरियल प्रसारण हुन थालेपछि गुगलमा कसरी आत्महत्या गर्न सकिन्छ भनेर सर्च गर्ने मानिसको संख्या बढेको देखियो, जसका कारण टेलिसिरियल बन्दै भयो । तसर्थ, यस्ता विषयमा मिडियाको ठूलो प्रभाव रहेको हुन्छ ।

तनावका ३ तह र लक्षण
तनाव हुँदा सुरु–सुरुमा मानिसमा शारीरिक लक्षण बढी देखिने गर्छन् । टाउको दुख्ने, जिउ भारी भइराख्ने, निद्रा नलाग्ने, खान मन नलाग्ने तनावका सुरुवाती लक्षण हुन् । बिस्तारै व्यक्तिको काममा इच्छा हराउँदै जाने, मन उदास तथा निरास हुने, दिक्क लाग्ने, स–साना कुरामा झर्किने, एक्लो भएर बस्न मन लाग्ने, अरूले भनेको कुरालाई नकारात्मक रूपमा लिने तथा त्यसै रूपमा प्रतिक्रिया दिनेजस्ता लक्षण विकसित हुन थाल्छन् । त्यसैगरी, परिवारमा घुलमिल कम हुने, पढाइ वा काममा ध्यान कम जाने र नकारात्मक सोच आउने हुन थाल्छन्, जुन डिप्रेसनका लक्षण हुन् । यस्ता लक्षण लगातार दुई सातासम्म प्रायः दिन वा समयमा देखिएमा त्यसलाई डिप्रेसन भनिन्छ । मन उदास हुने, जिउमा स्फूर्ति कम आउने र पहिले रमाइलो लाग्ने कुराहरू नरमाइलो लाग्ने, यौन इच्छा कम हुनेलगायत छटपटी भइरहेको खण्डमा आफैँले त्यसको मूल्यांकन गरेर पनि रोग चिन्न सकिन्छ ।

तनावको उपचार
सुरुवाती लक्षण देखिँदैमा चिकित्सककहाँ गएको खण्डमा डिप्रेसन हो कि होइन, औषधि खानुपर्छ कि पर्दैन, कुन लेबलमा पुगेको छ, पत्ता लगाउन सकिन्छ । डिप्रेसनबाटै आत्महत्याको सोच आउने हो । कहिलेकाहीँ मानिसको व्यवहारमा परिवर्तन भइरहेको हुन्छ, तर उसलाई तनावमा भएकै कारण व्यवहारमा परिवर्तन भएको थाहा हुँदैन । कतिपय मानिसले तनाव होइन, यस्तो जसलाई पनि हुन्छ, म आफैँ नियन्त्रण गर्छु भनेर बसिरहेका हुन्छन् । तनाव के कारणले भयो भनेर पत्ता लगाउन सक्नुपर्छ । कारण पत्ता लागेपछि आफ्नो तर्फबाट वा पारिवारको सल्लाहले उपचार गर्न सकिन्छ । त्यसैगरी, योग गर्ने, सकारात्मक सोच राख्ने, लागुऔषध सेवन नगर्ने, निद्रा मिलाउनेजस्ता अभ्यासले पनि सामान्य तनावलाई व्यवस्थापन गर्न सकिन्छ । यस्ता अभ्यासले पनि तनाव व्यवस्थापन गर्न सकिएन भने डाक्टरकहाँ जानुपर्छ । डिप्रेसनका पनि माइल्ट, मोडरेट, सिभियर गरेर ग्रेडिङ गरिएको छ ।

आत्महत्या मानसिक रोगको उपज हो भनेर बुझ्नुपर्छ । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई चिढ्याउने, घृणा गर्ने, उडाउने गर्नुहुँदैन । मिडियाले आत्महत्याबारे निर्धारित गाइडलाइनको फलो गरेर मात्र रिपोर्टिङ गरेको खण्डमा आत्महत्याको दर धेरै हदसम्म घटाउन सकिन्छ ।

सुरुवाती अवस्थाको तनावमा उपचारका लागि आएको अवस्थामा समस्यासँग सम्बन्धित मनोपरामर्श दिएर घर पठाउने गरिन्छ । तनाव मोडरेट लेबलमा पुगेको छ भने खालि योग वा काउन्सिलिङ गरेर मात्र ठिक हुँदैन । किनभने, डिप्रेसन भनेको रोग हो, जसको उपचार मनोपरामर्श र औषधिबाट हुन्छ । यदि कोही मानिस सिभियरको तहमा डिप्रेसनमा गएको छ र आत्महत्या गर्ने सोच बारम्बार आइरहेको छ भने त्यस्ता बिरामीलाई तुरुन्तै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । अस्पताल भर्ना भएर काउन्सिलिङ तथा स्वास्थ्यकर्मीको निगरानीमा औषधि दिने गरिन्छ । आत्महत्याको सोच आइरहेको व्यक्तिको दिमागबाट त्यस्तो सोच बाहिर निस्किएपछि मात्र घर फर्काउने गरिन्छ ।

आत्महत्या मानसिक रोगको उपज हो भनेर बुझ्नुपर्छ । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई चिढ्याउने, घृणा गर्ने, उडाउने गर्नुहुँदैन । मिडियाले आत्महत्याबारे निर्धारित गाइडलाइनको फलो गरेर मात्र रिपोर्टिङ गरेको खण्डमा आत्महत्याको दर धेरै हदसम्म घटाउन सकिन्छ ।

नेपालमा दैनिक औसत १४ जनाले आत्महत्या गर्ने गरेका छन् । पुलिसको रेकर्डअनुसार विगतका वर्षभन्दा आत्महत्याको दर ८ प्रतिशतले बढेको पाइएको छ । यसको रोकथामका लागि सबैजनाको साथ र सहयोग आवश्यक छ ।

(डा. थापा रिदम न्युरो साइक्याट्रिक हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा कार्यरत छन् ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै