वीरको आइसियूमा एबिजी मेसिन सञ्चालनमा नआउँदा बिरामीलाई सास्ती

अति न्यून आयस्तरका बिरामीले समेत उपचारसेवा पाउने देशको पुरानो र ठूलो अस्पताल वीरको आइसियूकक्षमा एबिजी मेसिन सञ्चालनमा नआउँदा दैनिक दर्जनौँ बिरामीले सास्ती भोग्नुपरिरहेको छ । बिरामीको शरीरमा अक्सिजनको मात्रालगायत रगतका विभिन्न अवस्थाको परीक्षणका लागि प्रयोग गरिने उक्त मेसिनका लागि आवश्यक ‘ब्लड ग्यास एनलाइजर स्याम्पल’ अभावका कारण ४ महिनादेखि मेसिनले सेवा दिन नसक्दा आइसियूका बिरामी रागतको रिपोर्ट लिन अन्यत्र धाउन बाध्य छन् ।

आइसियूजस्तो संवेदनशील कक्षमा आवश्यक सेवा अवरुद्ध भएको यति लामो समय बितिसक्दा पनि अस्पताल प्रशासनले मेसिनका लागि आवश्यक उपकरण खरिद प्रक्रिया सुरु नै गरेको छैन । ‘अस्पताल प्रशासनले आवश्यक इक्युप्मेन्ट उपलब्ध नगराउँदा जेबिसी मेसिन सञ्चालनमा ल्याउन सकेका छैनौँ,’ मेडिकल अफिसर डा. शंकर ठाकुरले भने, ‘एबिजी मेसिनमा चाहिने ‘ब्लड ग्यास एनलाइजर’को स्याम्पल नभएका कारण मेसिन सञ्चालनमा आउन सकेको छैन ।’

सघन उपचार आवश्यक भएका सिरियस बिरामीका लागि एबिजी उपकरणको सेवा अति आवश्यक हुने डा. ठाकुर बताउँछन् । ‘रक्तसञ्चालनमा अक्सिजनको मात्रा कति छ, एबिजी मेसिनले जाँच गर्ने गर्छ, जुन सिरियस बिरामीका लागि अति आवश्यक हुन्छ,’ डा. ठाकुर भन्छन्, ‘मेसिनविनै काम गर्नुपर्दा निकै समस्या भएको छ ।’

डा. ठाकुरका अनुसार आइसियूकक्ष तथा अन्य विभागमा गरी दैनिक २० देखि २५ जनासम्म बिरामीको एबिजी गर्नुपर्ने हुन्छ । ‘अस्पताल प्रशासनलाई पटक–पटक आग्रह गर्दा पनि आजसम्म मेसिन सञ्चालनका लागि आजसम्म कुनै पहल गरेको देखिदैँन,’ उनले भने, ‘अस्पतालमा सेवा उपलब्ध नहुँदा रगत जाँचका लागि त्रिवि शिक्षण अस्पताल, एभरेस्ट अस्पताल, ब्लु क्रस अस्पताल, काठमाडौं मोडेल अस्पताललगायत विभिन्न अस्पतालमा पठाउनुपरेको छ ।’

वीरमा सेवा सुचारु नगरिँदा रगत जाँचका लागि यत्रतत्र चहार्नुपर्ने सास्तीका अतिरिक्त साढे दुई गुनासम्म शुल्क तिर्न बिरामी बाध्य छन् । ‘वीरमा एक हजारमा हुने रगतको जाँचका लागि अन्य अस्पतालले २ हजार ५ सयसम्म लिने गरेका छन्,’ डा. ठाकुर भन्छन्, ‘यसले गर्दा बिरामी थप मर्कामा परेका छन् ।’

के भन्छ अस्पताल प्रशासन ?
अस्पतालका निर्देशक डा. भूपेन्द्र वस्नेतले यथाशक्य प्रयत्न गर्दा पनि सप्लायरले सुरुमा टेन्डर हालेको मूल्यमा उपकरण उपलब्ध गराउन नमानेका कारण मेसिन सुचारु गर्न नसकेको बताए । ‘अहिले टेन्डर भएर खुलिसकेको छ, केही दिनमा आसय सूचना जारी गरेर सामान दिन सूचना जारी हुन्छ,’ उनले भने, ‘केही समयभित्रै एबिजी मेशिन आउँछ भन्ने आशा राखेका छौ ।’ उनले उपकरण ढिलाईको सन्दर्भमा पदाधिकारी नियुक्तीमा ढिलाईको विषयसँग पनि सम्बन्धित भएको बताए ।

के हो एबिजी ?
शरीरको रक्तसञ्चालनमा अक्सिजनको मात्रा जाँच्ने काम एबिजी मेसिनले गर्छ । यसका लागि भित्री नसाबाट रगत लिने गरिन्छ । एसिटोसिस र अक्कोलोसिस छुट्याउने काम एबिजी मेसिनले गर्ने गर्छ ।
‘रगतमा कार्बनडाइअक्साइड धेरै भयो र अक्सिजनको मात्रा कम भयो भने बिरामीको मुटु बन्द हुने अवस्था आउँछ,’ डा. ठाकुर भन्छन्, ‘यसको मात्रा एबिजी मेसिनले छुट्याउने गर्छ ।’ उनका अनुसार रक्तसञ्चार राम्रोसँग नहुँदा रगत नै कालो भएर बिरामीको मुत्युसमेत हुने जोखिम रहन्छ ।
एबिजीमार्फत बिरामीको मुटुको धडकन, प्रेसर, शरीरमा चाहिने अक्सिजनको मात्राबारे थाहा भएपछि बिरामीलाई भेन्टिलेटरमा राखेर थप उपचार गरिन्छ ।
अस्पतालमा नयाँ उपकुलपति, निर्देशक तथा अन्य पदाधिकारीको नियुक्ति हुन नसक्दा आवश्यक उपकरण खरिद तथा मर्मतमा समस्या निम्तिएको अस्पतालका कर्मचारीको आरोप छ । ती कर्मचारीले स्पेसल एक्स रे, मेमोग्राफीजस्ता उपकरण सञ्चालनका लागि आवश्यक इक्युप्मेन्ट अस्पताल प्रशासनले उपलब्ध नगराउँदा हजारौँ बिरामीको उपचारमा समस्या परेको समेत आरोप लगाए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उपकरण भएर पनि जनशक्ति अभावमा कान्तिको आइसियूसेवा संकुचित, निजीको महँगो शुल्क तिर्न बिरामी बाध्य

सरकारीस्तरमा सञ्चालित मुलुकको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालमा आइसियूका लागि ५२ बेड छुट्याइएका छन् । सबै बेड आइसियूकक्षका लागि आवश्यक यन्त्र–उपकरणले जडित पनि छन् । तर, अस्पतालले ३८ बेड मार्फत मात्र आइसियूसेवा दिइरहेको छ ।
अस्पतालले बिरामीको माग कम भएका कारण बाँकी बेड सञ्चालनमा नल्याएको होइन । कान्तिको आइसियूमा भर्ना पाउनुलाई भाग्यकै रूपमा लिने गरिएको छ ।

आइसियूमा भर्ना पाउनका लागि नाम लेखाएर हप्तौँसम्म पालो कुर्नुपर्ने बाध्यता बिरामीको छ । कान्तिमा आइसियू नपाएकै कारण दिनहुँ कयौँ अभिभावक कमजोर आर्थिक अवस्थाका बाबजुद पनि आफ्ना बालबालिकाको सघन उपचारका लागि महँगा निजी अस्पताल धाउन बाध्य छन् । आइसियू मिलाइदिनका लागि दिनहुँ अस्पताल प्रशासनले राजनीतिक दबाबसमेत झेल्ने गरेको छ । यति चर्को माग हुँदाहुँदै पनि किन अस्पतालले पूर्ण क्षमतामा आइसियूसेवा सञ्चालन गरिरहेको छैन ?

‘कान्ति बाल अस्पतालले पछिल्लो समय चरम आर्थिक संकट तथा जनशक्ति अभावको सामना गरिरहेको छ,’ निर्देशक डा. राई भन्छन्, ‘जनमानसमा कान्तिमा ५२ बेडको आइसियू छ भन्ने बुझाइ छ, तर हामीले जनशक्ति र साधनस्रोत अभावमा मुस्किलले ३८ बेडमार्फत सेवा दिइरहेका छौँ ।’

अस्पतालका निर्देशक डा. गणेश राई जनशक्ति अभावकै कारण पूर्ण क्षमतामा आइसियूसेवा सञ्चालन गर्न नसकेको बताउँछन् । आवश्यक जनशक्ति र साधनस्रोतको कमीका कारण सञ्चालनमा रहेका ३८ बेडको सेवाप्रति पनि स्वयम् निर्देशक डा. राई नै सन्तुष्ट छैनन् । ‘कान्ति बाल अस्पतालले पछिल्लो समय चरम आर्थिक संकट तथा जनशक्ति अभावको सामना गरिरहेको छ,’ निर्देशक डा. राई भन्छन्, ‘जनमानसमा कान्तिमा ५२ बेडको आइसियू छ भन्ने बुझाइ छ, तर हामीले जनशक्ति र साधनस्रोत अभावमा मुस्किलले ३८ बेडमार्फत सेवा दिइरहेका छौँ ।’

आइसियू प्रमुख विभूति कट्टेलका अनुसार सञ्चालनरत ३८ बेडमध्ये एनआइसियू १६, पिआइसियू १२, सिआइसियू ७ तथा आइसोलेसन २ बेड छन् । त्यसमध्ये एनआइसीयूमा महिनादिनभन्दा कम उमेरका बालबालिकालाई उपचारका लागि राखिन्छ । आइसोलेसन बेडमा विशेषप्रकारका बिरामी राख्ने गरिन्छ । पिआइसियूमा ३० दिनभन्दा माथि १५ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार हुन्छ । एसआइसियू १५ वर्षसम्मका सबै प्रकारका बिरामी राख्ने गरिन्छ, जहाँ मुख्यतया सर्जरी गरेका बिरामी राख्ने गरिन्छ । आइसियू आवश्यक भएका तर अन्यप्रकारका आइसियूमा राख्न नमिल्ने बिरामीलाई एनआइसियूमा राखिन्छ ।

कान्तिले पहिलेदेखि नै दिँदै आएको आइसियूसेवालाई पूर्वस्वास्थ्यमन्त्री गगन थापाको पालामा सेन्ट्रल आइसियूका रूपमा विकास गरिएको थियो । त्यतिवेलैदेखि ५२ बेडमा आइसियू सञ्चालन गरिएको भनिए पनि जनशक्ति अभावका कारण पूर्ण क्षमतामा आइसियू सञ्चालन गर्न नसकिएको निर्देशक राई बताउँछन् । आइसियू सञ्चालनका लागि उपकरणहरू उपलब्ध भए पनि प्रमुख रूपमा जनशक्ति अभावै कारण पूर्ण क्षमतामा सेवा दिन नसकिएको उनको भनाइ छ । सञ्चालनमा रहेका ३६ बेडका लागि पनि पर्याप्त जनशक्ति उपलब्ध गराउन सकिएको छैन । उपलब्ध उपकरण र जनशक्तिलाई जसोतसो व्यवस्थापन गरी सेवा दिइरहेको आइसियू प्रमुख कट्टेल बताउँछिन् ।

सरकारी मापदण्डअनुसार आइसियूमा मेसिनमार्फत उपचार गराइरहेको एक बिरामीको रेखदेखका लागि एकजनै नर्स आवश्यक हुन्छ । त्यसैगरी, मेसिनमा नभएको बिरामीको हकमा २ बिरामीबराबर एक नर्स हुनुपर्ने प्रावधान छ । कान्तिको आइसियूमा एकजना नर्सले ५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । जब कि बालबालिकाको हकमा जनरल वार्डमा पनि १ नर्सले अधिकतम ६ जनासम्म मात्र बिरामी हेर्न मिल्ने प्रावधान छ ।

कान्तिमा सञ्चालनरत एनआइसीयूमा १६ बेडका लागि १६ जना नै नर्सिङ स्टाफ उपलब्ध छन् । उपलब्ध नर्सिङ स्टाफलाई सिफ्ट–सिफ्मा ड्युटी लगाउँदा एक नर्सले मापदण्डभन्दा निकै बढी बिरामी हेर्नुपर्ने बाध्यता छ । आइसियूमा बिहानको सिफ्टमा पर्याप्त चिकित्सक उपलब्ध हुने भए पनि २४ घण्टे सेवामा भने एक–दुईजना चिकित्सक मात्र उपलब्ध हुन्छन् । कान्तिको आइसियूमा रेजिडेन्ट चिकित्सक तथा कन्सल्टेन्टहरू खटिने गरेका छन् । एनआइसियू र पिआइसियूका लागि ५–५ जना चिकित्सक खटाइएका छन् । सर्जिकल आइसियूका लागि भने यति नै जना भनेर ड्युटी तोकिएको छैन । अस्पतालमा आइसियूमा मात्र नभई सबै विभागमा जनशक्तिको अभाव रहेको निर्देशक राई बताउँछन् ।

कान्तिको आइसियूमा बिरामीको आर्थिक अवस्था हेरेर शुल्क लिने गरिएको छ । कान्तिमा भेन्टिलेटरसहितको आइसियू बेडचार्ज २ हजार ५ सय छ, जुन निजी अस्पतालहरूको तुलनामा नगण्य हो । त्यसैगरी, विनाभेन्टिलेटर आइसियूसेवा लिएबापत बिरामीले प्रतिदिन १ हजार २ सय रूपैयाँ तिर्नुपर्छ ।

मुलुकको एक मात्रै केन्द्रीय बाल अस्पताल भएकाले कान्तिमा रेफरका केसहरू बढी आउने गरेका छन् । बिरामीको अत्यधिक चापका कारण कान्तिको आइसियूले धान्न सक्ने अवस्था छैन । आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको अवस्थामा भने आइसियूसेवा अपुग भएर बिरामी फर्काउनुपर्ने समस्या न्यूनीकरण गर्न सकिने आइसियू प्रमुख कट्टेल बताउँछिन् ।

बिरामीको आर्थिक अवस्थाअनुसार शुल्क
कान्तिको आइसियूमा बिरामीको आर्थिक अवस्था हेरेर शुल्क लिने गरिएको छ । कान्तिमा भेन्टिलेटरसहितको आइसियू बेडचार्ज २ हजार ५ सय छ, जुन निजी अस्पतालहरूको तुलनामा नगण्य हो । त्यसैगरी, विनाभेन्टिलेटर आइसियूसेवा लिएबापत बिरामीले प्रतिदिन १ हजार २ सय रूपैयाँ तिर्नुपर्छ । त्यसमा पनि बिरामीको आर्थिक अवस्था हेरी छुटको व्यवस्था छ । बिरामीको आर्थिक अवस्थाअनुसार केही प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीलाई आइसियू चाहिने अवस्था आएमा बाहिरबाट रेफर गरिएकालाई भन्दा उपचाररतलाई प्राथमिकता दिने गरिएको छ ।

कान्तिमा मात्र होइन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्डअनुसारको जनशक्तिको परिपूर्ति कुनै पनि अस्पतालमा भएको छैन । देश संघीय संरचनामा गएसँगै अन्य क्षेत्रमा जस्तै स्वास्थ्यमा पनि कर्मचारी समायोजनको प्रक्रिया अघि बढेको छ । यद्यपि, समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै चिकित्सक तथा कर्मचारी आन्दोलनमै छन् । नयाँ संगठन संरचनामा पनि मापदण्डअनुसार चिकित्सक तथा कर्मचारीको व्यवस्था हुने संकेत नदेखिनुले स्वास्थ्यक्षेत्रको समस्या समस्याकै रूपमा रहने चिन्ता बढेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सरकारी अस्पतालका आइसियूमा नै मापदण्डअनुरूप जनशक्ति छैन

आइसियूका सामान्य मापदण्ड के हुन् ?
सरकारले आइसियूको जनरल मापदण्ड नछुट्याएको भए पनि यसका ३ वटा लेभल हुन्छन् । सामान्यतया हामीले बुझ्ने गरेको आइसियू लेभल ३ आइसियू हो ।
लेभल १ आइसियूमा बिरामीलाई केही थप समस्या उत्पन्न हुन्छ कि भनेर राख्ने गरिन्छ । यस्तो प्रकारको आइसियूमा एकजना नर्सले तीनजना बिरामी हेर्ने गर्छन् । त्यहाँ नियमित रूपमा डाक्टर हुँदैनन् । लेभल १ आइसियूमा राखिएको भन्दा केही सिकिस्तखालका बिरामीलाई लेभल २ आइसियूमा राख्ने गरिन्छ, जहाँ चाहिएको अवस्थामा भेन्टिलेटरमा राख्न सकिन्छ ।
यसमा कुनै अंगलाई समर्थन गर्ने कुरासमेत राख्न सकिन्छ । जस्तै, रक्तचापको औषधि । तर, लेभल २ मा धेरै समयसम्म बिरामी राख्न सकिँदैन । यसमा पनि डाक्टर नियमित हुँदैनन् । त्यहाँ एक नर्सले दुई बिरामी हेर्ने गर्छन् । लेभल २ बाट सिकिस्त बिरामीलाई लेभल ३ मा ल्याउने गरिन्छ । लेभल ३ आइसियूमा सबै सुविधा हुन्छन् । यसमा मेडिकल अब्जर्भर, रेजिडेन्ट हुन्छन् भने एकजना नर्सले एक बिरामीलाई मात्र हेर्ने गर्छन् । यसभित्र भेन्टिलेटर, इबिजी मेसिन, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी हुन्छन् । यसप्रकारको आइसियूमा डायलाइसिस पनि कक्षभित्रै गर्न मिल्छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आइसियूको लेभल निर्धारण गर्नुपर्ने भए पनि नेपालमा अझै त्यसको अभ्यास भएको छैन । विदेशमा भने आइसियूको वर्गीकरण हुने गरेको छ । विदेशमा कुनै पनि अस्पताल दर्ता भएपश्चात् अस्पतालमा कतिवटा कुन लेभलका बेड हुने भन्ने निर्धारण गरिन्छ ।

कस्ता प्रकारका बिरामीलाई आइसियूमा रेफर गर्ने गरिन्छ ?
कुनै पनि अंगले काम नगरेमा आइसियूमा राख्नुपर्ने अवस्था आउँछ । ब्लड प्रेसर कम भएमा, श्वास–प्रश्वासका समयमा अक्सिजन नपुगेमा, कलेजोले काम नगरेमा, मुटुले काम नगरेमा, मस्तिष्कले काम नगरी होस कम भएमा तथा कुनै पनि एउटा अंगले काम नगरेमा तथा बिरामीको अवस्था बिग्रँ्रदै गएमा उनीहरूलाई आइसियूमा राख्ने गरिन्छ । कुनै–कुनै बिरामीलाई ठूलो शल्यक्रिया गरेपश्चात् पनि आइसियूमा राख्नुपर्ने अवस्था आउन सक्छ । शल्यक्रियापश्चात् विभिन्न जोखिम आउन सक्ने भएकाले त्यस्ता जोखिम नआऊन् भन्नका लागि आइसियूमा राख्ने गरिएको हो ।

बिरामीको हेरचाह र प्रतिफललाई तुलना गरेर हेर्दा आइसियू महँगो नै छ । आइसियूमा जनशक्ति खटाउन पनि महँगो नै हुने भएकाले सरकारले आइसियूमा आवश्यक मात्रामा जनशक्ति नदिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा आइसियूको अवस्था के–कस्तो छ ?
सरकारी स्वामित्वका नेपालका सम्पूर्ण अस्पतालको प्रमुख समस्या नै दक्ष जनशक्ति अभाव हो । १० बेडको एउटा आइसियूलाई एकजना डाक्टर भए पुग्छ । लेभल ३ आइसियूमा एउटा बिरामीलाई एउटै नर्सको आवश्यकता पर्छ । तर, नेपालको कुनै पनि सरकारी स्वामित्वका अस्पतालका आइसियूमा नर्सिङ जनशक्ति पुगेको छैन । त्रिवि शिक्षण अस्पतालमा ११ बेडको आइसियू छ । त्यसमा एउटा सत्रमा जम्मा ५ जना नर्स कार्यरत छन् । सिकिस्त अवस्थाका बिरामी ल्याएर राख्ने अति जोखिम ठाउँमा यसरी जनशक्ति अपुग हुँदा कसरी राम्रो प्रतिफल दिन सकिन्छ ? जनशक्तिचाहिँ आवश्यकताभन्दा आधा पनि नदिने, अनि प्रतिफलचाहिँ विदेशको सुविधासम्पन्न अस्पतालको जस्तो खोजेर कसरी पाइन्छ ?
सरकारी स्वामित्वका संस्थाहरूमा नचाहिने ठाउँमा धेरै जनशक्ति छ भने चाहिने ठाउँमा भने जनशक्ति अभाव छ । आइसियूको लेभल ३ मा एउटा नर्सले ३ जना बिरामीको हेरचाह गर्नुपर्ने अवस्थामा त्यसको प्रतिफल राम्रो हुन सक्दैन । हामीकहाँ आइसियूमा कुनै पनि उपकरणको अभाव छैन । कलेजो प्रत्यारोपण गर्नका लागि हामी तयार भइरहेका छौँ भने उपकरणको अभाव हुने त कुरै रहेन । विदेशमा आइसियूमा उपलब्ध सम्पूर्ण उपकरण त्रिवि शिक्षण अस्पतालमा पनि उपलब्ध छन् । प्रमुख समस्या भनेको जनशक्तिमै हो । त्यसमा पनि नर्सिङ जनशक्ति सरकारी अस्पतालमा आवश्यक मात्रामा खपत गर्न सकिएको छैन । डाक्टरको उपलब्धता भने अपर्याप्त छैन ।
एकजना नर्सले एक बिरामी हेर्नुपर्नेमा ३ जना हेर्नुपरेको खण्डमा बिरामीलाई पर्याप्त हेरचाह पुग्दैन । त्यसैकारण नेपालका सरकारी अस्पतालको प्रतिफल निजी अस्पतालसरह हुन नसकेको हो ।
निजी अस्पतालमा प्रतिफल राम्रो हुन्छ । सरकारी अस्पतालको आइसियूमा मृत्युदर ३० देखि ४० प्रतिशत पाइएको छ भने निजीमा १५ देखि २० प्रतिशत छ । निजी अस्पतालका आइसियूमा एक बिरामीलाई एक नर्सले हेरचाह गर्ने व्यवस्था छ ।

आइसियूका आधारभूत कुराहरू पु-याउन खोज्दा नै बिरामीमा आइसियूको लागत बढ्ने हो ।

त्रिवि शिक्षण अस्पतालमा आइसियूका बिरामीको मृत्युदर कुन अवस्थामा छ ?
मेडिकल तथा सर्जिकल बिरामीमा मृत्युदर फरक–फरक रहेको पाइन्छ । त्रिवि शिक्षण अस्पतालमा मेडिकल बिरामीको आइसियूमा मृत्युदर ३५ देखि ४० प्रतिशत छ भने सर्जिकल बिरामीमा करिब ३० प्रतिशत छ । यो विदेशका अस्पताल तथा नेपालकै पनि निजी क्षेत्रबाट सञ्चालित अस्पतालको तुलनामा बढी हो । अघिल्ला वर्षहरूको तुलनामा यो दर स्थिर छ । मृत्युदर बढी हुनुको प्रमुख कारण नै पर्याप्त जनशक्ति नहुनु नै हो ।

नेपालमा आइसियूमा काम गर्न सक्ने दक्ष जनशक्तिको अवस्था कस्तो छ ?
आइसियूमा काम गर्न सक्ने दक्ष जनशक्तिलाई इन्टेन्सिभिस्ट भनिन्छ । त्रिवि शिक्षण अस्पतालमा हामीले इन्टेन्सिभिस्टको डिएम कोर्स दिएर डिएमको समेत उत्पादन गरिसकेका छौँ । नेपालमा आइसियू कोर्स यो एउटा मात्रै हो, अन्त कतै पनि छैन । कार्डियोलोजी तथा नेफ्रोलोजीमा सबै क्षेत्रमा सबै कार्यक्रम छन् । तर, आइसियूको क्षेत्रमा भने त्यस्तो छैन । आइसियूमा काम गर्न सक्ने दक्ष एकजना जनशक्ति उत्पादन गर्न १ वर्ष लाग्छ । यस हिसाबले भन्ने हो भने सयजना दक्ष जनशक्तिको उत्पादन गर्न हामीलाई सय वर्ष लाग्छ ।
अन्य छात्रवृत्ति कार्यक्रमहरूमार्फत विदेशबाट आइसियू कोर्स गरेर आउने जनशक्ति नेपालमा उपलब्ध छ । नेपालमा उत्पादन भएको डिएम करिब ३ जना हुँदा विदेशबाट छात्रवृत्तिमा कोर्स गरेर आउनेको संख्या करिब १० छ । नेपालमा नै छात्रवृत्तिका कार्यक्रम विकास गर्नुपर्ने हाम्रो मनसाय छ ।

त्रिवि अस्पतालमा आइसियू सेवा लिएबापत बिरामीले कति रकम तिर्नुपर्छ ?
बिरामीको हेरचाह र प्रतिफललाई तुलना गरेर हेर्दा आइसियू महँगो नै छ । आइसियूमा जनशक्ति खटाउन पनि महँगो नै हुने भएकाले सरकारले आइसियूमा आवश्यक मात्रामा जनशक्ति नदिएको हो ।आइसियूका आधारभूत कुराहरू पु¥याउन खोज्दा नै बिरामीमा आइसियूको लागत बढ्ने हो । तैपनि सरकारी अस्पतालमा बेडशुल्क तथा भेन्टिलेटर चार्ज भने खासै महँगो छैन । त्रिवि शिक्षण अस्पतालको कुरा गर्ने हो भने भेन्टिलेटर चार्ज १ हजार २ सय ५० छ भने बेडशुल्क पनि त्यति नै छ ।
निजी अस्पतालको कुरा गर्ने हो भने बेड तथा भेन्टिलेटरशुल्क गरी १५ हजार पुग्छ ।

निजी अस्पतालले त्यसअनुसारको सुविधासमेत दिन सकेका छन् । १ बिरामीबराबर १ नर्स उपलब्ध गराउन सकेका छन् । निजी अस्पतालले सरसफाइमा पनि त्यतिकै ध्यान दिने गरेको देखिन्छ ।सरकारी अस्पतालले शुल्क पनि लिन सकेको छैन, सुविधा पनि दिन सकेको छैन । सबैभन्दा ठूलो चुनौती त जनशक्ति अभाव नै हो । अर्काे, सरकारी अस्पतालले शुल्कसमेत बढाउन सकेका छैनन् । शुल्क बढाउन नसकेपछि दिगो हुँदैन, दिगो नभएपछि आइसियू विस्तार गर्नसमेत सकिँदैन ।
आइसियू बढाएमा अस्पतालको दायित्व तथा सरकारको लागतसमेत बढ्ने भएकाले सरकारी अस्पतालमा आइसियू बढाउन नखोजिएको हो । आइसियू अपुग हुँदा हरेक दिन ५ देखि ७ जना बिरामी इमर्जेन्सीबाट रेफर गर्नुपर्ने हाम्रो बाध्यता छ ।

विदेशको तुलनामा नेपालमा आइसियूको लागत कस्तो छ ?
विदेशको तुलनामा नेपालको आइसियूको लागत ज्यादै नै नगण्य छ । नेपालकै कुरा गर्ने हो भने पनि निजी क्षेत्रबाट सञ्चालित ग्रान्डी, मेडिसिटी अस्पतालकै तुलनामा पनि त्रिवि अस्पतालको आइसियूमा लाग्ने खर्च ज्यादै नै न्यून छ । औषधि, डाक्टर, नर्स सबैको खर्च जोड्ने हो भने चलेका निजी अस्पतालमा दैनिक २०–२५ हजार खर्च हुन जान्छ । विदेशको एपोलो, मेदान्त अस्पतालको कुरा गर्ने हो भने दैनिक १ लाख लाग्न सक्छ ।
नेपालीहरू उपचारका क्रममा विदेश गएर त्यति महँगो तिर्न तयार हुन्छन् भने नेपालमा सस्तो सुविधा लिँदा पनि महँगो भयो भनी कम्पेन गर्छन् । शुल्कसँग जोडेर त्यसबाट प्राप्त हुने सेवा–सुविधालाई जोड्ने गरिन्छ । त्रिवि अस्पतालमा हामीले सेवा पनि प्रभावकारी दिन सकेका छैनौँ भने शुल्क पनि बढी लिएका छैनौँ । प्रभावकारी सेवा दिनका लागि त आवश्यक दक्ष जनशक्ति पनि त उपलब्ध हुनुपर्यो नि !

आइसियू मृत्युदरमा विदेशको अवस्था कस्तो पाउनुहुन्छ ?
नेपालका निजी अस्पतालहरूको कुरा गर्नुपर्दा आइसियू मृत्युदर १५ देखि २० प्रतिशत छ भने विदेशमा १० देखि १५ प्रतिशत रहेको पाइन्छ । यस्तो हुनुमा मुख्य भूमिका जनशक्तिकै भए पनि आइसियूको प्रकारमा समेत यो कुरा निर्भर रहन्छ । आइसियू मुख्यतया ३ प्रकारका हुन्छन्– ओपन आइसियू, सेमिक्लोज आइसियू, क्लोज आइसियू ।
ओपन आइसियूमा सबै प्रकारका बिरामी भर्ना गरिन्छन् । क्लोज आइसियूमा यससम्बन्धी सम्पूर्ण तालिम पाएको व्यक्तिलाई त्यसको जिम्मा दिइएको हुन्छ र उसकै नियन्त्रणमा सम्पूर्ण कार्य हुने गर्छन् । उसले रिपोर्ट दिए पनि अन्तिम निर्णय भने आइसियूको टोलीले नै गर्ने गर्छ । सेमिक्लोज मोडललाई भने मध्यम तथा हाइब्रेड मोडल भनेर समेत बुझ्ने गरिन्छ । संसारभरकै आइसियू क्लोज मोडलमा अपनाएमा त्यसको प्रतिफल राम्रो पाउन सकिन्छ । नेपालमा भने क्लोज मोडलको आइसियूको अभाव छ । यस्तो मोडलको आइसियू नेपालमा एउटा–दुइटा मात्रै छन् । धरानमा, काठमाडौंको ग्रान्डी अस्पतालमा, क्लोज मोडलका आइसियू छन् । त्रिवि शिक्षण अस्पतालको आइसियू भने सेमिक्लोज मोडलको हो । सेमिक्लोज तथा क्लोज आइसियूको प्रतिफल ओपन आइसियूको भन्दा राम्रो हुन्छ ।

(डा‍. आचार्य आइसियू विभाग त्रिवि शिक्षण अस्पतालमा क्लिनिकल कोअडिनेटरका रुपमा कार्यरत छन्)

प्रस्तुति : लक्ष्मी चौलागाईँ

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

८५ वर्षको टेकु अस्पताल आइसियूमा बल्ल वामे सर्दै

स्थापनाको ८५ वर्ष पुगिसक्दा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल आइसियू सेवामा बल्ल वामे सर्न थालेको छ । पौनेशताब्दीभन्दा लामो समय स्वास्थ्य सेवा प्रदान गरिसकेको अस्पतालले १३ जेठ ०७५ देखि मात्र आइसियू सेवा सुरु गरेको हो । टेकु अस्पतालको नामले परिचित यो सरुवारोग अस्पतालको स्थापना देशले प्रजातन्त्रको उज्यालो देख्नुभन्दा १७ वर्षअघि नै १० माघ १९९० मा भएको थियो ।

४ शय्याको आइसियू कक्ष कुल १ करोड ५५ लाख लागतमा निर्माण सम्पन्न भएको अस्पतलाका प्रवक्ता डा. अनुप बास्तोला बताउँछन् । उनका अनुसार आइसियू सेवा लिएबापत बिरामीले प्रतिदिन २ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । भेन्टिलेटरसहितको आइसियू सेवा लिने बिरामीले भने प्रतिदिन ५ हाजार रुपैयाँ तिनुपर्छ । आइसियू कक्षमा ६ जना मेडिकल अफिसर तथा ३ जना कन्सल्टेन्ट कार्यरत रहेको बास्तोला बताउँछन् । अस्पतालकी वरिष्ठ नर्सिङ प्रशासक कल्पना सुब्बाका अनुसार आइसियू कक्षमा १० जना नर्सिङ स्टाफ कार्यरत छन् । आइसियू कक्ष निर्माणका लागि कतिपय दातृनिकायले विभिन्न उपकरणहरू प्रदान गरी सहयोग गरेको अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडा बताउँछन् ।

अस्पतालले गम्भीर अवस्थाका बिरामीलाई आइसियूको स्थापना नहुँदासम्म रेफर गर्नुपर्ने बाध्यता रहेकोमा अहिले उक्त समस्याबाट मुक्ति मिलेको बास्तोला बताउँछन् । सरुवारोगको प्रकोप बढेमा सरकारको पहिलो नजर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पर्ने गर्छ ।

सेवारम्भको करिब ३ महिनाको अवधिमा करिब ५० जनाले अस्पतालबाट आइसियू सेवा लिएका छन् । जेठ महिनामा ४ महिला र ६ पुरुष गरी १० जना, असारमा ५ पुरुष र ७ महिला गरी १२ जना, साउनमा १० पुरुष र ४ महिला गरी १४ जना र भदौमा ८ पुरुष तथा ६ महिला गरी १४ जनाले आइसियू सेवा लिएको अस्पतालले जनाएको छ ।

धेरै अघिदेखि आइसियू स्थापना गर्ने अस्पताल प्रशासनको सोच भए पनि दक्ष जनशक्तिको अभावका कारण आइसियू कक्ष निर्माणमा ढिलाइ भएको प्रवक्ता वास्तोलाको भनाइ छ । शुक्रराज अस्पतालबाट रेफर भएका कतिपय बिरामी अन्य अस्पतालले सहज रूपमा लिन नमान्ने भएका कारण पनि अस्पतालले धेरै पहिले नै आइसियू कक्ष स्थापनाको आवश्यकता पहिल्याएको थियो । अस्पतालमा आइसियू सञ्चालनमा दक्ष जनशक्ति अपुग छ । कतिपय स्वास्थ्यकर्मीहरू अस्पतालमा दरबन्दी राखेर बाहिर पढ्न जाने परिपाटीका कारण पनि स्वास्थ्यकर्मीको अभाव भएको हो ।

नेपाल सरकारमातहतका अन्य अस्पतालभन्दा शुक्रराज ट्रपिकल निकै पिछडिएको अवस्थामा रहेको बास्तोलाको ठम्याइ छ । विदेश पढ्न जाने क्रममा दरबन्दी होल्ड रहनाले पनि अस्पतालले प्रभावकारी सेवा प्रदान गर्न सकेको छैन, जसका कारण जनमानसमा अस्पतालले प्रभावकारी सेवा प्रदान गर्न सक्छ भन्ने विश्वास जगाउन सकिएको छैन । अस्पतालको भिजनबारे जनता जानकार नभएका कारण पनि अस्पताल पिछडिएको महसुस भएको बास्तोला बताउँछन् ।

अस्पतालले गम्भीर अवस्थाका बिरामीलाई आइसियूको स्थापना नहुँदासम्म रेफर गर्नुपर्ने बाध्यता रहेकोमा अहिले उक्त समस्याबाट मुक्ति मिलेको बास्तोला बताउँछन् । सरुवारोगको प्रकोप बढेमा सरकारको पहिलो नजर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पर्ने गर्छ । सरकारले सरुवारोग तथा त्यसको व्यवस्थापनमा शुक्रराज अस्पताललाई नै एकलौटी अधिकार दिएको छ भन्दा अत्युक्ति हुँदैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै