आइओएम तालाबन्दीले १९ हजार विद्यार्थीको भविष्य अन्योलमा, प्रवेश परीक्षा नरोक्न त्रिवि कुलसचिवको आग्रह

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा आइतबार गरिएको तालाबन्दीले १९ हजारभन्दा बढी विद्यार्थीको भविष्य अन्योलमा परेको छ । एमबिबिएसलगायत चिकित्साशिक्षाका स्नातक तहका विषय अध्ययनार्थ निर्धारित प्रवेश परीक्षाको मुखमा डिनको कार्यालय र परीक्षा सञ्चालन शाखामा चिकित्साशिक्षा संघर्ष समितिले तालाबन्दी गरेसँगै परीक्षा अनिश्चित बनेको छ । आइओएमले यसअघि नै एमबिबिएसलगायतको प्रवेश परीक्षा २१ देखि २३ भदौका लागि तय गरेको छ ।

त्रिवि महाराजगन्ज चिकित्सा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनसमेतको सहभागितामा गठित मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीको संघर्ष समितिले विभिन्न सुधारका माग राख्दै आइतबार आइओएममा तालाबन्दी गरेका थिए । तालाबन्दीलगत्तै वार्ताद्वारा समस्याको समाधान गर्न आइओएम डिन कार्यालयले वार्ता टोली गठन गरी आन्दोलनकारी विद्यार्थीलाई वार्तामा बोलाइसकेको छ । तर, संघर्ष समिति ताला खोलेर वार्तामा बस्न तयार नदेखिँदा वर्षौंदेखिको डाक्टर बन्ने सपना साकार पार्न दिनरात नभनी प्रवेश परीक्षाको तयारी गरिरहेका हाजारौँ विद्यार्थीमा निराशा छाउने खतरा बढेको छ । आइओएमको प्रवेश परीक्षाका लागि १९ हजारभन्दा बढी विद्यार्थीले फर्म भरेका छन् ।

विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले १० भदौमा गठन गरेको चिकित्साशिक्षा संघर्ष समिति विभिन्न ८ बुँदे मागसहित आन्दोलनमा छ । राष्ट्रिय चिकित्साशिक्षा ऐनको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कार्यान्वयन गर्नुपर्ने, मेडिकल कलेजले विभिन्न शीर्षकमा लिँदै आएका मनोमानी शुल्क फिर्ता हुनुपर्ने तथा त्यस्तो शुल्क लिने कलेजलाई कारबाही हुनपर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन गरी गुणस्तरीय र प्रविधिमैत्री पाठ्यक्रम बनाउनुपर्नेलगायत माग समितिले अघि सारेको छ । विद्यार्थीका माग जायज हुँदाहुँदै पनि हजारौँ विद्यार्थीको भविष्यसित प्रत्यक्ष जोडिएको प्रवेश परीक्षा कुनै पनि मूल्यमा रोकिन नहुने सरोकारवालाहरु बताउँछन् । यदि परीक्षा रोकिएको खण्डमा योग्य विद्यार्थीहरु मारमा पर्ने र मेडिकल कलेजहरुले अयोग्य व्यक्तिहरुलाई चिकित्साशिक्षामा भर्ना दिएर अवाञ्छित लाभ उठाउन सक्ने खतरा रहने उनीहरुको आशंका छ ।

प्रवेश परीक्षा नरोकिने गरी वार्ताबाट समस्या सुल्झाउन त्रिवि कुलसचिवको आह्वान
आइओएममा गरिएको तालाबन्दीका कारण प्रवेश परीक्षा प्रभावित हुन लागेको प्रति त्रिभुवन विश्वविद्यालयले ध्यानाकर्षण भएको जनाएको छ । त्रिविका कुलसचिव (रजिस्ट्रार) डिल्लीराम उप्रेतीले सोमबार आइओएममा लगाइएको ताला खोली प्रवेश परीक्षा सुचारु रुपले सञ्चालन गर्र्ने वातावरण सिर्जना गरिदिन सरोकारवाला सबैसँग विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

प्रवेश परीक्षा आमविद्यार्थीको जीवनसँग जोडिएको बताउँदै कुलसचिव उप्रेतीले वार्ताद्वारा समस्याको समाधान खोज्न अनुरोध गरेका छन् । डिन कार्यालयले आन्दोलनरत विद्यार्थीको मागलाई महत्त्व दिँदै तत्कालै वार्ता समिति गठन गरिसकेको स्मरण गराउँदै कुलसचिव उप्रेतीले प्रवेश परीक्षा नबिथोलिने गरी वर्तामा आउन संघर्ष समितिलाई आह्वान गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै