अन्ततः गायत्री साहले बुझ्नैपर्ने भो मेडिसिटीबाट बच्चा, ३ दिनभित्र बच्चासहित उपस्थित हुन उच्चको आदेश
उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साह दम्पतीलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिन आदेश दिएको छ । मेडिसिटी अस्पतालले दिएको रिटनिवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले प्रतिवादी साह दम्पतीलाई आदेशको पत्र प्राप्त भएको ३ दिनभित्र बच्चा जिम्मा लिई बच्चासहित अदालतमा उपस्थित हुन आदेश दिएको हो । यसअघि ८ असोजमा अदालतले मेडिसिटी अस्पतालमा डाउन सिन्ड्रोम लिएर जन्मिएको पूर्वसांसद गायत्री साह र राजेश महतोको नाबालक सन्तानलाई थप उपचार आवश्यक भए–नभएको परीक्षण वीर अस्पतालको सरकारी मेडिकल बोर्डबाट गराउन आदेश दिएको थियो ।
न्यायाधीश श्रीमणकुमार गौतम र टेकनारायण कुँवरको संयुक्त इजलासले बच्चालाई डाउन सिन्ड्रोम भएको निवेदक अस्पतालले नै स्वीकार गरेको अवस्थामा थप उपचार आवश्यक भए–नभएको पत्ता लगाउन चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ दिनभित्र परीक्षण गराउन निर्देशन दिएपछि गरिएको सरकारी परीक्षणमा थप उपचार आवश्यक नभएको रिपोर्ट दिइएपछि अदालतले साह दम्पतीलाई बच्चा फिर्ता लिन आदेश दिएको हो । वीरले २९ असोजमा बालकलाई थप उपचार आवश्यक नभएको रिपोर्ट अदालतसमक्ष बुझाएको थियो । कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. पंकज राय र डा. रामहरि चापागाईंसहितको विशेषज्ञ चिकित्सक टोलीले बालकको स्वास्थ्यपरीक्षण गरी बच्चाका हालको अवस्था सामान्य रहेकाले अस्पतालमा राखेर उपचार गर्नु आवश्यक नरहेको र घर लान सक्ने रिपोर्ट दिएको हो । डाउन सिन्ड्रोममा नियमित स्वास्थ्यपरीक्षण गराउनुपर्ने अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सद्वारा निर्देशित गाइडलाइनअनुसार नै नेपाल मेडिकल बोर्डले प्रतिवेदन दिएकाले हकप्रचलनको अधिकार प्रयोजनार्थ अदालत उपस्थित गराउन अदालतको आदेशमा भनिएको छ ।
७ महिनाअघि जन्मिएको बच्चामा अस्पतालको लापरबाहीका कारण डाउन सिन्ड्रोम देखिएको भन्दै मेडिसिटीले नै बच्चाको जिम्मा लिई उपचार गराउनुपर्ने दाबीसहित साह दम्पतीले बच्चालाई घर लान अस्वीकार गर्दै आएका थिए । साह दम्पतीले डिस्चार्ज गरिएको बच्चालाई स्वीकार नगरी अस्पतालमै छोडेपछि मेडिसिटीले अभिभावकविरुद्ध उच्च अदालत पाटनमा रिटनिवेदन दर्ता गराएको थियो । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ ९३० बमोजिम बालबालिकाको हकअधिकारको प्रचलन गराउने प्रयोजनार्थ अस्पतालबाट बुझिलिएर अदालत उपस्थित हुन साह र अभिभावकलाई अदालतले आदेश दिएपछि त्यसको कार्यान्वयनका लागि साहलाई पत्र पठाइएको छ ।
साहले २८ फागुन ०७५ मा मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । अस्पतालको लापरबाहीका कारण आफ्नो शिशुमा डाउन सिन्ड्रोम देखिएको आरोप लगाएका साह दम्पतीले जीवनभर बच्चाको उपचारको जिम्मा अस्पतालले नै लिनुपर्ने भन्दै बच्चालाई अस्पतालमै छाडेका थिए । अस्पतालले पटक–पटक बच्चालाई घर लान भन्दासमेत अस्वीकार गरेकी पूर्वसांसद साह आफ्नो बच्चालाई स्तनपान गराउन भने नियमित अस्पताल पुगिरहेको बताइएको छ ।