सिन्धुपाल्चोक दुर्घटनाका १०१ घाइतेको ट्रमा, शिर मेमोरियल, धुलिखेलमा उपचार हुँदै, ११ को मृत्यु
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा.२ख २७१५ नम्बरको बस शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको थियो ।
अधिकांश घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर र शिर मेमोरियल अस्पतालमा ल्याइएको छ । ७२ जनाको धुलिखेल, १६ जनाको बनेपाको शिर मेमोरियल र १३ जनाको ट्रमामा गरी कुल १०१ घाइतेको उपचार भइरहेको बताइएको छ । प्रदेश ३ का समाजिक विकासमन्त्री युवराज दुलालको रोहवरमा नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट १३ जना र निजी वायुसेवा प्रदायक कम्पनीको अर्को एक हलिकोप्टरमार्फत १० जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याएको हो ।
कच्ची सडक तथा यात्रुको चापका कारण बस दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि थप अनुसन्धानपछि मात्रै कारण खुल्ने प्रहरीको भनाइ छ । गुडिरहेको बस सडकबाट तल खसेर दुर्घटना भएको थियो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।
मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजू, इन्द्रावती गाउँपालिकका–९ का हीरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगीता पुर्कुटी छन् । त्यस्तै, जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कुटी, सुभास अधिकारी र मीना मगरको दुर्घटनामा मृत्यु भएको बताइएको छ । मृतकमध्ये एकजनाको हालसम्म सनाखत हुन सकेको छैन ।
विशेषगरी चाडबाडको समयमा क्षमताभन्दा दोब्बरभन्दा पनि बढी यात्रु बोकेर गाडी गुडाउँदा ठूला दुर्घटना निम्तिँदै आएका छन् । वर्षाको पानीले नराम्ररी बिग्रिएको कच्ची सडकमा क्षमताभन्दा अत्यधिक यात्रु बोकेर जोखिम मोलेकै कारण शुक्रबारको सिन्धुपाल्चोकको दुर्घटना निम्तिएको बताइएको छ ।