स्वस्थ मन, अस्वस्थ ज्यान
शारीरिक रुपमा थला परेका उनी भेटिँदा उत्तिकै जोशिला लाग्छन् । स्कुलमा विद्यार्थीमाझ सिक्न सिकाउने दैनिकी टाढाको विषय भइसके पनि सम्झिएर आउनेहरुका भेटघाट, कुराकानीदेखि र उनका फेसबुकका वालहरु हेर्दा उत्तिकै सक्रिय लाग्छन् ।
गुल्मी रुरु गाउँपालिका वडा नं २ ग्वादी गाउँका ओमप्रकाश शाह पेशाले अवकाश प्राप्त शिक्षक हुन् । बि।स। २०१० पुष १४ गते जन्मिएका शाहले शिक्षण सेवामा ३७ बर्ष ४ महिना ११ दिन बिताए । शिक्षण पेशामा २०३३ भदौ २ गतेबाट शुरु गरेका उनी २०७० पुष १३ गते विद्यालयको शिक्षकबाट अवकाश भएका थिए । ग्वादी गाउँको शिक्षामा लामो समय सेवा गरेका उनलाई गाउँमा डाडाका हेडसर भनेर चिन्छन् । विद्यालयमा लामो समयसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका शाहको विद्यालय शिक्षाको योगदान कम महत्वपूर्ण छैन् । उनलाई गुल्मी र छेउछाउका जिल्लाका शिक्षा क्षेत्रका व्यक्तिहरुले शाह हेडसर भनि चिन्ने गर्दछन् ।
ग्वादीको विद्यालयदेखिे नजिक रहेको डाडामा घर भएका उनको खानपान सादा थियो । उनले न कहिल्यै जाँड, रक्सी, खैनी खाए । न त जीवनकालमा चुरोटका ठुटा सल्काए । तर उनि २४ बर्षदेखि सुगरका बिरामी देखिएका छन् । उनीमा सात बर्षदेखि मृगौलामा समस्या देखिएको छ । सुई र औषधीबाट उपचार गराइरहेका उनले डेड बर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयाँमिलमा बसी मृगौलाको डायोलोसिस सेवा लिइरहेका छन् ।
बिरामी भएर ओछ्यानमा समय बिताउदाको समय कष्ठकर हुने अनुभव उनको छ । शिक्षणमा मात्र नभई साहित्यतर्फ रुची राख्ने शाहले फुर्सदको समय कविता सिर्जना गर्ने गर्दछन् ।
उनले बिरामी हुदाको आफ्नो अवस्थालाई कवितामा यसरी उतारेका छन्
बाँच्नलाई त बाँचेकै छु, तर बाँचेको सार छैन,
मर्नलाई त मर्न मन छैन, तर मर्नुको चारा छैन ।
हाँस्नलाई त हाँसेकै छु, तर हाँस्नुको अर्थ छैन,
रुनलाई त रोएकै छु, तर आँसुको मूल्य छैन ।
………
उनलाई स्वास्थ्यले धोका दिएको छ, साथ छ श्रीमतीको । माया छ स्कुलमा पढाएका विद्यार्थीहरुको । अनि गाउँघरका साथी भाई इष्ट मित्रको । सबैको मायाले नै आफु बाँचिरहेको उनी बताउँछन् । दुई छोरी र दुई छोराका बाबु ओमप्रकाश शाहको अहिलेको साहारा श्रीमती शुशीला शाह हुन् । दुई छोरा र एक छोरी विदेशमा छन् भने एक छोरीले शिक्षण पेशासँगै पहाडको घर धानिदिएकी छिन् ।
श्रीमती शुशीलाको हेरबिचार, स्याहार सुसार र रेखदेख अरुका लागि पनि लोभलाग्दो छ । उनीहरुमा भएको मायालाई देख्दा जो कोहीलाई ढुकुरको जोडीको याद गराउँछ । उनले आफ्नो फेसबुक वालमा श्रीमतीले डोर्याउदै गरेको फोटो राखेर पोष्ट गर्दै लेखेका छन्,
म तातेताते गर्दै हिंड्छु,
तिमी हात् समाती डुलाऊ,
म बच्चा जस्तै रोएँ भने,
तिमी आमा बनेर भुलाऊ ।
…….
देशको समसायिक अवस्थाबारे अपटुडेट रहने ओमप्रकाश शाह अहिले पनि घटनाक्रमप्रति उत्तिकै चासो राख्छन् ।
उनले पोष्ट गरेको तस्वीर र शब्दबाट उनले श्रीमान श्रीमती बीचको समिप्यता कति नजिक छ भन्ने भाव देखाएका छन् । उनको माया र कथा मुनामदनको भन्दा कम छैन् ।
अर्को पोष्टमा मेरो अनुभव भन्दै उनले लेखेका छन्
बुढेसकालमा, बिरामी अवस्थामा, दुख परेको बेला र समस्या परेको बेला असली पत्नीको पहिचान हुँदो रहेछ ।
पत्नीलाई धर्मपत्नी भन्नुको कारण यो रहेछ ।
अहिले बुझ्दैछु,
पत्नीको महत्व, महिमा र गरिमा ।
पत्नीलाई जीवन साथी भनिन्छ, जीवनपर्यन्त साथ दिने ।
अत्यन्त सार्थक शब्द हो । पत्नी साथी त हुँदै हो, सल्लाहकार हो, दुख र सुख शेयर गर्ने मित्र हो, आमा हो, बन्धु हो, रक्षक हो ।
पुरुषबिना नारी बाँच्न सक्लिन तर पुरुष बाँचे पनि नारीबिना अकेलो, अनाथ, निश्तेज, शक्तिहीन र जीवन्तताहीन महसुस गर्दछ ।
तसर्थ नारी शक्तिरुपा भगवती हुन् ।
……..
कोठामै गुम्सिएर हैन् उनि बिहान श्रीमतीको सहायताबाट सुप्रभातको हिडाई गर्छन् । कहिले पार्कहरुमा पुग्छन् त कहिले जन्मिएको गाउँ अनि ३७ बर्ष भन्दा बढी सेवा गरेको विद्यालयको आगन । आफन्त, साथी भाई र विद्यार्थीसँग भेटघाट गर्छन् कुराकानी गर्छन् । उनको सक्रियता देखेर जो कोही पनि दङ्ग पर्छन् र भन्छन् अस्वस्थ शरिर भएपनि स्वस्थ मानिसको भन्दा के फरक छ उनमा ।
उनले पोष्ट गरेको यो अर्को यो मन शिर्षकको कविताबाट पनि उनको डुल्ने घुम्ने रहर र बानीलाई प्रष्ट्याउन थप मद्दत पुग्छ,
संसार घुमाउने यो मन, संसार डुलाउने यो मन,
संसारमा एक छत्र राज्य गर्ने राजा हो यो मन ।
मलाई लाग्छ, यो मनले संसारलाई हाँकेको छ,
मान्छेको मनलाई मनले नै सिक्रीमा बाँधेको छ ।
यसरी शिक्षा क्षेत्रमा लामो समय अर्पण गरेका हेडसर ओम प्रकाश शाहलाई स्वास्थ लाभको कामना । यो दशैको नवरात्रले उहाँलाई स्वस्थ रहनमा थप शक्ति प्रदान गरोस् ।