दसैँको खानपान र मुखस्वास्थ्य
नेपालीको घरआँगनमा अहिले दसैँको रौनक छाएको छ । विशेषगरी हिन्दू धर्मावलम्बीको महान् चाड दसैँको बहुआयामिक महत्त्व छन् । धार्मिक हिसाबले असत्यमाथि सत्यको विजयोत्सव तथा शक्तिस्वरूपा भगवती दुर्गाको आराधनामा मात्र दसैँ सीमित छैन, राम्रो लगाउने, मिठो खाने, आफन्तजनसित भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने, वर्षदिनसम्म वा कतिपय अवस्थामा कैयौँ वर्षसम्म पनि अध्ययन तथा रोजगारीको सिलसिलामा देश तथा विदेशमा रहँदा परिवारजनसित बिछडिएका सदस्यसित मिल्ने, सांस्कृतिक र आधुनिक हिसाबले पनि मनोरञ्जन गर्ने प्रचलन सदियौँदेखि दसैँले बोक्दै आएको छ ।
दसैँको स्वास्थ्यसित जोडिएको पक्ष भनेको विशेषतः खानपान नै हो । खानपानमा पनि दसैँलाई अधिकतर नेपालीले मासुसित जोडेको पाइन्छ । शाकाहारी जनले पनि दसैँ भनेपछि मिठा–मिठा परिकार खानुपर्ने मान्यता राखेको पाइन्छ । खासगरी यहाँ दसैँमा अनिवार्यझैँ लिने गरिएको मासुको अत्यधिक सेवनलाई लिएर त्यसको मुखस्वास्थ्यसितको सम्बन्ध, असर र सुरक्षित रहने उपायबारे जानकारी दिने प्रयास गरिनेछ ।
मासु तथा मसालेदार भोजनको सेवनले जिब्रोलाई जति आनन्दित तुल्याउँछ, त्यति नै मुख स्वास्थ्यका लागि चुनौती सिर्जना गर्छ । मासुको अत्यधिक सेवनले गिजामा मासुका त्यान्द्रा अड्किने, हड्डीले दाँत भाँचिने तथा कुँड्किने, दाँत दुख्ने तथा खानामा लशून–प्याजको अत्यधिक सेवनले मुख गन्हाउनेजस्ता समस्या देखापर्छन् । दसैँको रमझम तथा कतिपय अवस्थामा कामको व्यस्तताले पनि नेपाली दाजुभाइ–दिदीबहिनीले मुखस्वास्थ्यलाई खासै ध्यान नदिएको देखिन्छ । अझ दैनिकसजो फकर–फरक आफन्तकोमा गएर रमाइलो गर्ने तथा टीकाटालाका लागि चहार्ने प्रचलनका कारण कतिपयले त झन् खानपान बढी हुने वेलामा दाँत माझ्नेसम्म पनि नगरेको पाइन्छ । दिनहुँ दाँत सफा नगर्दा, मद्यपान, धूमपान र गलिष्ठ भोजन बढी गर्दा अन्य समयमा भन्दा चाडवर्पका वेला मुखमा ब्याक्टेरियाको मात्र बढी हुन जान्छ । मुखमा उत्पादित ब्याक्टेरिया पेटमा पुगी झाडापखालाजस्ता रोगको संक्रमण हुने खतरा पनि दसैँमा उत्तिकै हुन्छ । मुख हाम्रो शरीरको प्रवेशद्वार पनि हो । जसरी प्रवेशद्वार सफा राख्न सके समग्र घर नै सफा रहन्छ, त्यसैगरी माख सफा र स्वस्थ रहेमा हाम्रो शरीर नै सफा र स्वस्थ रहन्छ ।
दसैँले नेपालीको मनमा उमंग ल्याइरहँदा मुखस्वास्थ्यबारे ख्याल नगर्नाले वर्षमा एकपटक आउने आफ्नो महान् चाडलाई खल्लो बनाइदिन्छ । चाडबाडमा रमाउनुपर्ने वेलामा अस्पतालमा बस्नुपर्ने बाध्यता आइपरेमा आफूसँगै समग्र परिवारकै लागि चाडपर्वको रौनक गुम्न पुग्छ । तसर्थ, केही सामान्य आनिबानी र आचरणमा सजग रहेर मुखलाई स्वस्थ राख्नु नै बुद्धिमानी हुन्छ । हाम्रो सामान्य सजगता र आनिबानीमा सुधारले चाडपर्वलाई उल्लासमय बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
दसैँ मनाउने प्रचलित शैलीले मुख स्वास्थ्यमा थपेका प्रमुख चुनौती :
– अत्यधिक मसालेदार भोजनको सेवनले मुख तथा गिजा पोल्ने ।
– मासुका त्यान्द्रा गिजामा पसी दाँत दुख्ने, गिजाबाट रगत आउने तथा गिजामा घाउ हुने ।
– मासु सेवनका क्रममा हड्डीले दाँत भाँच्ने, फुटाउने तथा थाहै नहुने गरी टुक्य्राउने ।
– मुख गन्हाउने ।
– मुखमा ब्याक्टेरियाको मात्रा अत्यधिक भई टन्सिलाइटिस तथा फ्यारेन्जाइटिस हुने ।
– धरै चिसो (फ्रिजमा राखिएको) पेयपदार्थ, जस्तै, कोकाकोला, फ्यान्टा, चिसो बियर आदिको सेवन गर्दा दाँत सिरिङ–सिरिङ गर्ने, आदि ।
कसरी बच्ने ?
– दिनहुँ २ पटक नबिराईकन फ्लोराइडयुक्त दन्तमन्जनले दाँत सफा गर्ने ।
– खाना खाएपछि तथा खानुअघि राम्ररी कुल्ला गर्ने ।
– खानामा मसलाको प्रयोग कम गर्ने ।
– मासु खाएपछि त्यान्द्रा दाँतमा अड्किएको खण्डमा डेन्टल फ्लस प्रयोग गरी त्यान्द्रा निकाल्ने ।
– मासुको हड्डी तथा त्यान्द्रा गिजामा पसेको खण्डमा सावधानीपूर्वक निकाल्ने, यदि निकाल्न समस्या भएमा तुरुन्त दन्तचिकित्सककहाँ जाने ।
– मासु तथा हड्डी चपाउँदा बंगारा (पछाडिको मोटो दाँत) को प्रयोग गर्ने, सकभर अगाडिको दाँतले नचपाउँने ।
– हड्डी चपाउँदा दाँत टुटे–फुटे वा भाँचिएको खण्डमा दाँतको टुक्रा लिई तुरुन्त दन्तचिकित्सकको सम्पर्कमा जाने ।
– पेयपदार्थको बिर्को खोल्न दाँतको प्रयोग कदापि नगर्ने, ज्यादा चिसो पेयपदार्थको सेवन नगर्ने ।
– दाँत अत्यधिक संवेदनशील भएको खण्डमा सेन्सोडाइन दन्तमन्जनले दाँत सफा गर्ने ।
– मसालेदार खानेकुराले मुख तथा दाँत एकदमै पोलेको खण्डमा दन्तचिकित्सकको सल्लाह लिने, त्यसो हुन नसकेको खण्डमा क्लोर्हेग्जिडाइन माउथवासको प्रयोग गर्ने, एक बिर्को क्लोर्हेग्जिडाइन र एक बिर्को पानी मिलाई बिहान–बेलुका कुल्ला गर्ने ।
– नक्कली दाँत (डेन्चर) लगाएका व्यक्तिले खाना खाएपछि टेन्चर र मुखको रम्ररी सफाइ गर्ने ।
– समय–समयमा वा चाडपर्वमा समस्या देखिएमा दन्तचिकित्सकसँग परामर्श लिन शंकोच नमान्ने ।
(काठमाडौं मेडिकल कलेजका बिडिएस छात्र रौनियार अन्तिम वर्षको परीक्षा दिई नतिजाको प्रतीक्षामा छन्)