टेकुमा १ दिन, वीर र कान्तिमा ३ दिन, प्रसूतिगृहमा ४ दिन ओपिडी बन्द, आकस्मिक कक्षमार्फत जुनसुकैवेला सेवा

हेल्थपोस्ट नेपाल

दसैँ बिदामा नियमित तथा आकस्मिक स्वास्थ्योपचार सेवाको उपलब्धता सबैको चासोको विषय हो । मुलुक दसैँमय बनिसकेको छ । तर, रोगले चाडपर्व भन्दैन । अझ वर्षदिनको प्रतीक्षापछि आएको महान्तम पर्व दसैँ विशेषगरी मिठा–मिठा परिकारसँग प्रत्यक्ष जोडिएकाले असन्तुलित तथा अधिक भोजनका कारण रोगको जोखिम झन् बढी हुन्छ । यस्तोमा चाडपर्वको लामो बिदामा स्वास्थ्योपचार सेवा उपलब्ध स्वास्थ्यसंस्थाबारे खुलदुली हुनु स्वाभाविक छ । त्यसैले यहाँ राजधानीका प्रमुख अस्पतालहरूमा दसैँ बिदामा स्वास्थ्यसेवाप्रवाहको अवस्थाबारे जानकारी प्रस्तुत गर्नु वाञ्छनीय छ ।

वीर अस्पताल
मुलुकै सबैभन्दा पुरानो र ठूलो अस्पताल वीरले दसैँमा ३ दिन ओपिडीसेवा बन्द गर्ने भएको छ । फूलपाती (आज) शनिबार परेकाले यसै पनि ओपिडीसेवा बन्द नै छ । अष्टमी, नवमी र दशमीका दिन अस्पतालमा ओपिडीसेवा बन्द रहने निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । तर, आकिस्मक सेवा भने सधैँ खुला रहनेछ । आकस्मिक कक्षमा सेवाका लागि आउने बिरामीका लागि भने सबैखाले सेवा उपलब्ध गराउने तयारी गरेको उनको भनाइ छ । त्यसका लागि हरक्षण डाक्टर उपलब्ध हुने डा. सेन्चुरीले जानकारी दिए । ‘चाडपर्वका वेला अस्पताल बन्द हुन्छ भन्ने भ्रम कसैलाई नहोस्,’ डा. सेन्चुरी भन्छन्, ‘वीरमा आएका बिरामीले सेवा नपाएर फर्कनुपर्ने छैन ।’

कान्ति बाल अस्पताल
कान्ति बाल अस्पतालले पनि दसैँ बिदामा जम्मा ३ दिन ओपिडीसेवा बन्द गर्ने भएको छ । अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार दसैँमा अष्टमीदेखि मंगलबार (टीकाको दिन) सम्म ओपिडीसेवा बन्द रहनेछ । ओपिडी बन्द रहे पनि आकस्मिक सेवा भने २४ घण्टै खुला रहने निर्देशक बिच्छा बताउँछन् । ‘अस्पतालमा आएका बिरामी सबैले सेवा पाऊन्, दसैँका कारण केही पनि सेवाविहीन घर नफर्कियून् भन्ने उद्देश्यका साथ तयारी गरेका छौँ,’ डा. बिच्छाले भने, ‘यसका लागि हामीले थप ३ जना डाक्टर राखेका छौँ, जतिसुकैवेला अस्पताल आउँदा बिरामीले सेवा पाउनेछन् ।’

टेकु अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दसैँको टीकाको दिनबाहेक ओपिडीसेवा सुचारु रहनेछ । डेंगुको महामारी फैलिरहेको तथा अत्यावश्यक रेबिज तथा सर्पदंशको भाक्सिन लगाउनुपर्ने भएको हुँदा अस्पतालमा सेवा बन्द नगरिएको निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् ।
‘टीकाको दिनबाहेक अन्य दिनमा बिहान ९ बजेदेखि हिउँसो २ बजेसम्म ओपिडी खुला रहनेछ,’ डा. पाण्डे भन्छन्, ‘सेवा अवरुद्ध नहोस् भनेर डाक्टर तथा कर्मचारीको बिदा चाडपर्वअनुसार आलोपालो मिलाएका छौँ ।’

प्रसूतिगृह
थापाथलीस्थित परोपकार प्रसूतिगृहमा आइतबारदेखि बुधबारसम्म ओपिडीसेवा बन्द रहनेछ । आकस्मिक सेवा भने हरेक दिन २४ घण्टै सुचारु रहने अस्पतालले जनाएको छ । दसैँमा अष्टमी, नवमी, दशमी र एकादशी गरी ४ दिन ओपिडी सेवा बन्द रहने निर्देशक डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार आकस्मिक कक्षमा युनिट–युनिट गरी ड्युटी मिलाएर सेवा सुचारु गरिनेछ ।

नियमित १० देखि १२ जनाको संख्यामा चिकित्सक अस्पतालमा रहने गौतम बताउँछन् । दसैँ बिदाको हरेक दिन, टीकाको दिनसमेत अस्पतालमा चिकित्सक कार्यरत रहने उनको भनाइ छ । तर, टीकाको दिन भने केही समय ब्रेक गराउन निर्देशन दिएको गौतम बताउँछन् । उनका अनुसार ६ घण्टा ड्युटीमा रहँदा टीकासमेत लगाउन नपाउने अवस्था आउने भएकाले ब्रेक गराउन भनिएको हो । दसैँ, टीका तथा अन्य कुनै पनि कुराले डेलिभरी नरोकिने भएकाले निरन्तर सेवा दिइने गौतम बताउँछन् ।

‘दसैँका वेला झन् धेरै जोखिमका केस आउने गरेका छन् । जति बिरामी आउँछन्, जोखिमकै बढी हुन्छन्,’ डा. गौतम अनुभव सुनाउँछन्, ‘त्यसकारण चाडपर्वका वेला चिकित्सकहरू अन्य समयभन्दा झनै व्यस्त हुन्छन् ।’



Leave a Reply

Your email address will not be published.