काठमाडौंमा मात्रै थपिए ४ सय ६४ एचआइभी संक्रमित

हेल्थपोस्ट नेपाल

केही वर्षदेखि देशभर एचआइभी संक्रमण घटिरहेको अवस्थामा देशको राजधानी काठमाडौंमा भने यो वर्ष मात्रै ४६४ जना नयाँ एचआइभी संक्रमित भेटिएका छन् । यो विभिन्न प्रयोगशाला परीक्षण एवं सरकारले सञ्चालन गरेको कार्यक्रमअनुसार सेवा लिन आइपुगेका संक्रमितको एकीकृत तथ्यांक हो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार २०७४ मा देशभर २ हजार १ सय ७५ नयाँ संक्रमित भेटिएकोमा काठमाडौंमा सबैभन्दा बढी छन् ।

काठमाडौंपछि सबैभन्दा बढी रुपन्देहीमा १ सय ६२ जना नयाँ संक्रमित भेटिएका छन् । केन्द्रका अनुसार धनुषामा १ सय १०, बाँकेमा १ सय ४, पर्सामा १ सय २, सुनसरीमा १ सय २, पाल्पामा ९८, कैलालीमा ९३, मोरङमा ९३ जना एचआइभी संक्रमणका नयाँ केस भेटिएका छन् । (कुन जिल्लामा कति नयाँ संक्रमित भेटिए तलको तथ्यांक हेर्नुहोस्)

असुरक्षित यौनसम्पर्कमा संलग्न व्यक्ति, दुव्र्यसनी, यौनकर्मी महिला तथा पुरुष, समलिंगी महिला तथा पुरुष एचआइभी संक्रमणको जोखिम समूहमा पर्छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा जाने समूहसमेत संक्रमणको उच्च जोखिममा छ ।

केन्द्रका निर्देशक डा. ताराप्रसाद पोखरेलका अनुसार काठमाडौंमा यौनकर्मी, लागुऔषध प्रयोगकर्तालगायत अन्य जोखिमयुक्त समूहको उपस्थिति बाक्लो रहेकै कारण बढी संक्रमित भेटिएको हो । ‘यौनकर्मी, समलिंगी, लागुऔषध प्रयोगकर्तालगायत सबैको बाक्लो उपस्थिति यहीँ छ,’ पोखरेलले भने, ‘त्यसैले काठमाडौंमा संक्रमण बढी छ ।’

असुरक्षित यौनसम्पर्कमा संलग्न व्यक्ति, दुव्र्यसनी, यौनकर्मी महिला तथा पुरुष, समलिंगी महिला तथा पुरुष एचआइभी संक्रमणको जोखिम समूहमा पर्छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा जाने समूहसमेत संक्रमणको उच्च जोखिममा छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार महिलाभन्दा पुरुष एचआइभी संक्रमित बढी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् १९८८ मा एचआइभी संक्रमित भेटिएका थिए ।  हाल नेपालभर २२ हजार ६ सय ३४ जना संक्रमित भेटिइसकेका छन् । भेटिएका संक्रमितमध्ये २ हजार ९ सय ३२ को मृत्यु भइसकेको छ । हाल १९ हजार ७ सय २ एचआइभी संक्रमित रोगसित लडिरहेका छन् । संक्रमितमध्ये ७ हजार २ सय ९२ पुरुष र ७ हजार महिला छन् । तीबाहेक ९ सय ६८ बालबालिका छ । केन्द्रका अनुसार संक्रमितमध्ये १५ हजार २ सय ६० ले औषधिको प्रयोग गरिरहेका छन् ।

नेपाल सरकारले एचआइभी रोग नियन्त्रणका लागि हालसम्म ७५ करोड खर्च गरिसकेको र विभिन्न दातृनिकायबाट एचआइभी नियन्त्रणका लागि १ अर्ब २५ करोड अनुदानस्वरूप प्राप्त भएको केन्द्रका सूचना अधिकृत वीरबहादुर रावलले बताए ।

नेपाल एचआइभी एड्स अलाइन्सका अध्यक्ष ऋषि ओझाले सरकारले सानो संख्यामा संक्रमित रहेका वर्गमा करोडौँ खर्च गरिरहेको भन्दै वैदेशिक रोजगारीमा जाने कामदारका परिवारका लागि कुनै पनि कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको आरोप लगाए । ‘कैदीबन्दी र माइग्रेन्ट वर्कर्समा सरकारले चासै दिएन,’ ओझाले भने । सरकारले प्रदेशमा पैसा पठाएको भने पनि काम नभएको उनले बताए ।

केन्द्रका निर्देशक डा. पोखरेलले भने भोलुमका हिसाबले सानो भए पनि सबै वर्ग र क्षेत्रमा कार्यक्रम पुगेको बताए । उनले एचआइभी क्षेत्रमा बजेटको आकार र प्राथमिकता घटिरहेकाले आगामी दिनमा थप चुनौती आउन सक्ने बताए ।

सरकारले सन् २०१६ देखि २०२१ सम्मका लागि तीनवटा प्रमुख लक्ष्यसहित रणनीति बनाएको छ । जसमा अनुमानित करिब ३१ हजार एचआइभी संक्रमितमध्ये ९० प्रतिशतलाई पत्ता लगाउने, त्यसको ९० प्रतिशतलाई उपचार सुरु गर्ने र उपचार सुरु गरेका मध्ये ९० प्रतिशतको भाइरल लोड काउन्ट गरेर त्यसलाई नियन्त्रणमा राख्ने कार्यक्रम रहेको डा. पोखरेलको भनाइ छ ।

कुन  जिल्लामा कति थपिए ?

१ काठमाडौं ४६४
२ रुपन्देही १६२
३ धनुषा ११०
४ बाँके १०४
५ पर्सा १०२
६ सुनसरी १०२
७ पाल्पा ९८
८ कैलाली ९३
९ मोरङ ९३
१० अछाम ६८
११ चितवन ६१
१२ झापा ५८
१३ कास्की ५४
१४ नवलपरासी ५०
१५ रौतहट ४५
१६ सर्लाही ३९
१७ बारा ३६
१८ डोटी ३०
१९ बैतडी २९
२० सिरहा २८
२१ सुर्खेत २८
२२ दाङ २६
२३ गुल्मी २५
२४ कपिलवस्तु २५
२५ कञ्चनपुर २४
२६ दैलेख २१
२७ तनहुँ १८
२८ भक्तपुर १५
२९ बाग्लुङ १४
३० स्याङ्जा १४
३१ गोरखा १३
३२ नुवाकोट १३
३३ प्युठान १२
३४ बझाङ ११
३५ ललितपुर ११
३६ डडेल्धुरा १०
३७ मकवानपुर ८
३८ बर्दिया ७
३९ धादिङ ७
४० उदयपुर ७
४१ महोत्तरी ६
४२ अर्घाखाँची ६
४३ पाँचथर ५
४४ सप्तरी ५
४५ बाजुरा ४
४६ दार्चुला ४
४७ म्याग्दी ३
४८ रोल्पा ३
४९ धनकुटा १
५० इलाम १
५१ लमजुङ १
५२ संखुवासभा १



Leave a Reply

Your email address will not be published.