डेंगुले ६७ जिल्ला आक्रान्त, साउनयता मात्र ११ हजार संक्रमित, तिहारसम्मै जोखिम कायम रहने

हेल्थपोस्ट नेपाल

मुलुकका ६७ जिल्लालाई आक्रान्त बनाइसकेको डेंगुको संक्रमण फैलिनेक्रम जारी छ । चालू आर्थिक वर्षको साढे २ महिनामा सरकारी रेकर्डमा आएका मात्र संक्रमितको संख्या ११ हजार पुगिसकेको छ । यद्यपि, यसपटकको डेंगु संक्रमण वैशाखको अन्तिम सातादेखि नै सुरु भएको हो । डेंगु र स्क्रब टाइफसको बिगबिगीका कारण यस वर्षका सन्निकट दसैँ, तिहार, छटजस्ता ठूला पर्व पूर्ववत् उल्लासमय नहुने पो हुन् कि भन्ने चिन्ता आम बनेको छ ।

पछिल्लो ६ वर्षमा कुनै पनि वर्ष डेंगुका बिरामी ४ हजार पुगेका थिएनन् । यसपटक भने विगतको तुलनामा अस्वाभाविक रूपमा संक्रमण फैलिएको हो । संक्रमण फैलनेक्रम नरोकिएकाले अझै कति मानिस रोगको चपेटामा आउँछन् भन्ने अनुमान लगाउन सकिएको छैन । असोज महिनाभर नै डेंगुको फैलावट जारी रहने विज्ञहरूले बताइसकेका छन् । सुरुका १–२ महिना रोकथाम तथा नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको सरकारले यसअघि नै डेंगु नियन्त्रण सरकारको काबुबाहिर गएको बताइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार १ साउनदेखि १३ असोससम्ममा ६७ जिल्लामा १० हजार ९ सय ९३ जना बिरामीमा डेंगु प्रमाणित भएको छ । सरकारी रेकर्डमा अनाइपुगेका, निजी स्वास्थ्यसंस्थामा उपचार गराउने तथा घरमै आराम गरेर ठिक पार्ने बिरामीको संख्या ठूलो रहेकाले डेंगुपीडितको वास्तविक संख्या भने यकिन गर्न गाह्रो रहेको बताइएको छ ।

महाशाखाको तथ्यांकअनुसार आव ०७०/७१ मा ३ सय २ जनामा डेंगु संक्रमण देखिएको थियो । यस्तै, ०७१/७२ मा १ सय ३४ जनामा मात्रै डेंगु पाइएकोमा ०७२/७३ मा डेंगुका बिरामीको संख्या १ हजार ५ सय २७ जना पुगेको थियो । यस्तै, ०७३/७४ मा २ हजार १ सय ११ जना डेंगुबाट प्रभावित भएका थिए । तर, आव ०७४/७५ मा भने अघिल्लो वर्षभन्दा डेंगुका बिरामी घटेका थिए । त्यस वर्ष ८ सय ११ जनामा मात्रै डेंगुको संक्रमण भेटिएको महाशाखाको तथ्यांक छ ।

प्रादेशिक रूपमा हेर्दा साउनयता प्रदेश ३ मा मात्र ५ हजार ७ सय १५ जना डेंगुबाट संक्रमित भएका छन्, जुन कुल संक्रमणको आधाभन्दा बढी हो । यसपटक प्रदेश ३ का राजधानी काठमाडौंसहित चितवनलगायतका जिल्ला बढी चपेटामा आएका छन् । त्यस्तै, हालसम्म सबैभन्दा कम कर्णाली प्रदेशमा ५३ जना संक्रमण भेटिएको छ ।

आव ०७५/७६ मा अघिल्लो वर्षको तुलनामा डेंगुका बिरामीको संख्या निकै बढ्यो । यसै वर्षको वैशाखदेखि सुनसरीबाट सुरु भएको डेंगुको संक्रमण हालसम्म फैलिनेक्रम जारी छ । वैशाखदेखि असारमसान्तसम्मको संक्रमितको रेकर्ड अघिल्लो आर्थिक वर्षमा गणना हुँदा सो वर्ष डेंगुका बिरामी बढी देखिएका हुन् । उक्त वर्ष जम्मा ३ हजार ४ सय २४ जनामा डेंगुको संक्रमण भएको थियो ।

साढे २ महिनामै विगतको रेकर्ड तोडियो
अघिल्लो आवदेखि नै निरन्तर डेंगु फैलिरहेकै वेला सुरु भएको चालू आव ०७६/७७ को मात्र साढे २ महिनाको अवधिमा करिब ११ हजारमा संक्रमण फैलिसकेको आधिकारिक तथ्यांक छ, जुन संख्या हालसम्मकै बढी हो । त्यसमा पनि फैलनेक्रम नरोकिएको अवस्थामा यसै सिजनको असोजमहिनाभर र आगामी वैशाखदेखि असारमसान्तसम्मको जोखिम अवधिको समेत गणना यसै अवमा हुने हुँदा चालू आवको संक्रमित संख्या अझै निकै बढ्ने पक्का छ । यसरी हेर्दा यस आवमा डेंगुले ठूलै रेकर्ड कायम गर्ने स्पष्ट अनुमान लगाउन सकिन्छ ।

कुल संक्रमितको आधा प्रदेश ३ मा मात्र
प्रादेशिक रूपमा हेर्दा साउनयता प्रदेश ३ मा मात्र ५ हजार ७ सय १५ जना डेंगुबाट संक्रमित भएका छन्, जुन कुल संक्रमणको आधाभन्दा बढी हो । यसपटक प्रदेश ३ का राजधानी काठमाडौंसहित चितवनलगायतका जिल्ला बढी चपेटामा आएका छन् । त्यस्तै, हालसम्म सबैभन्दा कम कर्णाली प्रदेशमा ५३ जना संक्रमण भेटिएको छ ।

डेंगु नियन्त्रणको एक मात्र अस्त्रका रूपमा रहेको ‘खोज तथा नष्ट अभियान’लाई प्रभावकारी रूपमा सञ्चालन गर्न र समाजका सबै वर्गमा सचेतना पुर्याउन सरकार विफलसिद्ध भएको छ । सरकारले डेंगु नियन्त्रणका लागि विभिन्न निकायहरूसँग छलफल गरी हरेक स्थानीय तहका सबैको साथ डेंगुको नाश, हप्ताको एक दिन एक घण्टा भन्ने अभियानका साथ जनसहभागितमा डेंगुको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको जनाए पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

बढी संक्रमित हुनेको दोस्रो नम्बरमा रहेको गण्डकी प्रदेशमा सोमबारसम्म २ हजार ८ सय ३३ जनामा संक्रमण भेटिएको छ । त्यस्तै, प्रदेश १ मा १ हजार ७३, प्रदेश ५ मा १ हजार ४४, प्रदेश २ मा १ सय ७४ र सुदूरपश्चिम प्रदेशमा १ सय १ जनामा डेंगु संक्रमण भएको महाशाखाको तथ्यांक छ ।

डेंगु संक्रमण तिहारसम्म कायम रहने
डेंगु नियन्त्रणको एक मात्र अस्त्रका रूपमा रहेको ‘खोज तथा नष्ट अभियान’लाई प्रभावकारी रूपमा सञ्चालन गर्न र समाजका सबै वर्गमा सचेतना पुर्याउन सरकार विफलसिद्ध भएको छ । सरकारले डेंगु नियन्त्रणका लागि विभिन्न निकायहरूसँग छलफल गरी हरेक स्थानीय तहका सबैको साथ डेंगुको नाश, हप्ताको एक दिन एक घण्टा भन्ने अभियानका साथ जनसहभागितमा डेंगुको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको जनाए पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन । डेंगुको संक्रमण अझै तिहारसम्म रहने विज्ञहरूले बताउँदै आएका छन् ।

पछिल्लो समय तापक्रममा केही गिरावट आएसँगै घटस्थापनाको दिनदेखि ज्वरो आएर अस्पताल आउने बिरामीको संख्यामा केही गिरावट आएको र डेंगुको संक्रमण पनि घट्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । ‘अस्पतालमा केही दिनअघिसम्म दैनिक पाँच–छ सयको हाराहारीमा ज्वरोका बिरामी आउने गरेकोमा हाल करिब ३ सयको संख्यामा मात्र आउने गरेका छन्,’ डा. बास्तोला भन्छन्, ‘ अझै पनि ज्वरो आएर चेक गर्न आएकामध्ये आधाभन्दा बढीमा डेंगुको संक्रमण पाइएको छ ।’

चाडपर्वको समय भएकाले काठमाडौंबाहिर जानेक्रम बढ्दो रहेका कारण पनि डेंगु संक्रमित बिरामी कम संख्यामा अस्पताल आइपुगेको हुन सक्ने डा. बास्तोला अनुमान छ । ‘२–४ दिनदेखि मौसम चिसिँदै गएकाले डेंगुको संक्रमण कम देखिदैँ गएको छ,’ डा. बास्तोला भन्छन्, ‘१६ डिग्रीभन्दा कम तापक्रम भएको अवस्थामा डेंगु त्यति सक्रिय हुँदैन, तर आजबाट घाम लाग्न सुरु गरेका कारण डेंगु अझै सक्रिय बन्दै जान सक्ने सम्भावना छ ।’



Leave a Reply

Your email address will not be published.