पूरा नहुने भो दादुरा निवारण लक्ष्य, ७८% मा मात्र खोपको पहुँच, मुलुकभर खोप अभियान चलाइँदै
सरकारले सन् २०१९ भित्र नेपालबाट दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । तर, तोकिएको समयसीमा ३ महिना मात्र बाँकी रहँदा निर्धारित लक्ष्य हासिल गर्न भने अझै चुनौतीको पहाड देखिन्छ । केही समयअघि मात्र कपिलवस्तु, मोरङ, दाङलगायत जिल्लामा दादुराका नयाँ बिरामी फेलापरेकापछि सरकारी लक्ष्यमा ठूलो धक्का लागेको छ ।
विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांकअनुसार नेपालमा २ सय ५३ जनामा दादुरा भएको पुष्टि भएको छ । तर, पछिल्ला वर्षहरूमा दादुराको संक्रमणदर बढ्दै गएको तथ्यांकले देखाउँदै आएको छ । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ ले ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको देखाएको थियो । तर, दादुरा निवारण गर्न ९० प्रतिशत बालबालिका खोपको पहुँजमा हुनु आवश्यक हुन्छ ।
नेपालले लिएको दादुरा निवारणको लक्ष्य निर्धारित समयमा हासिल हुन नसक्ने परिवारकल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा बताउँछन् । ‘पछिल्लो समय कपिलवस्तु, मोरङ, दाङजस्ता जिल्लामा दादुराको संक्रमण बढेका कारण निवारणमा चुनौती देखिएको हो,’ डा. शर्मा भन्छन्, ‘निवारणका लागि मुलुकभर दादुराको खोपको क्याम्पियन चलाएर खोपको पहुँजको कभरेज बढाउनुपर्छ ।’
खोप खरिदका लागि वार्षिक २ अर्ब
सम्पूर्ण खोप कार्यक्रमका लागि वार्षिक २ अर्ब खर्च हुने गरेको खोप शाखाले जनाएको छ । खोप खरिदमा ८० प्रतिशत दातृनिकायको सहयोग रहँदै आएको छ भने २० प्रतिशत नेपाल सरकारले बेहोर्दै आएको छ ।
यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । डब्लुएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।
नेपालमा दादुराको खोप अभियान सन् २००४ सालदेखि सुरु भएको हो । प्रत्येक ४ वर्षको फरकमा मुलुकभर दादुराविरुद्धको खोप दिइँदै आएको छ । यद्यपि, स्वास्थ्यसंस्थामार्फत नियमित रूपमा दादुराको खोप दिइँदै आएको छ । यसअन्तर्गत पहिलोपटक बच्चा जन्मिएको ९ महिनामा खोप दिने गरिन्छ भने दोस्रो डोज १५ महिनामा दिइन्छ । तर, धेरै मानिसमा पहिलो डोजको प्रयोग भइपछि दोस्रो डोजबारे कम जानकारी हुनुले वा दोस्रो डोजको कभरेज कम हुनुले निवारणमा थप चुनौती आइपरेको विज्ञहरूको भनाइ छ ।
मंसिर–पुसमा मुलुकभरका ३१ लाख बालबालिकालाई दादुराविरुद्धको खोप दिइने
कतिपय बालबालिकाले दादुराविरुद्धको खोप नपाएका कारण नयाँ बिरामी फेला परिरहेका छन् । समयमै बालबालिकाले दादुराविरुद्धको खोप पाएको खण्डमा रोगबाट बच्न सक्छन् । तर, अझै पनि देशका कुनाकाप्चामा रहेका बालबालिकाले खोप पाउन सकेका छैनन् ।
एमएमआर खोप दादुरा, हाँडे तथा रुबेला रोगका लागि साना बालबालिकालाई दिइन्छ । सरकारले आगामी मंसिर, पुस महिनाभित्र मुलुकभर बालबालिकालाई दादुराविरुद्धको खोप अभियान चलाउने भएको छ । ‘पाँच वर्षमुनिका बालबालिकालाई मुलुकभर दादुराविरुद्धको खोप लगाइने भएको छ,’ डा. शर्मा भन्छन्, ‘यसका लागि करिब २० करोड खर्च हुनेछ ।’
अभियानमा करिब ३१ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ । शर्मा थप्छन्, ‘गर्भवती महिलालाई रुबेला भएको खण्डमा गर्भको बच्चा तुहिन सक्ने, कान नसुन्ने, आँखा नदेख्ने, मुटुका भल्भ बिग्रने तथा अपांगता हुन सक्ने हुन्छ ।’
के हो दादुरा ?
दादुरा एउटा भाइरसका कारण लाग्ने रोग हो । यो प्रायः बालबालिकामा लाग्छ । ‘दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ,’ डा. शर्मा भन्छन्, ‘कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा संक्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ ।’
यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । डब्लुएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।
दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ । दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या देखिन्छ ।
दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिऊँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका स–साना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने काम गर्छन् ।
दादुराको लक्षण
दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । ज्वरोको सुरुवातमा दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहने हुन्छ ।
दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ । दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभएको खण्डमा रोगीको मृत्युसमेत हुन सक्छ ।
उपचार
दादुराको कुनै विशेष एन्टिभाइरल उपचार छैन । यो रोगका कारण हुने कडा जटिलताहरूलाई सहयोगी उपचार, स्याहारका माध्यमले कम गर्ने प्रयास गरिन्छ । राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल ओरल रिहाइड्रेसन साल्टका माध्यमले उपचार गरिन्छ । जीवनजलले पखाला र बान्ताका कारण शरीरबाट निस्किएको तरलपदार्थको परिपूर्ति गर्छ । आँखाको संक्रमण र निमोनियाको उपचार गर्न एन्टिबायोटिकसमेत दिइन्छ ।