डेंगु परीक्षणका लागि टेकु अस्पतालले मन्त्रालयसँग माग्यो १ करोड ३५ लाख
डेंगुका बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालको खर्च बढ्दै गएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले स्वास्थ्य मन्त्रालयसित बजेट माग गरेको छ । डेंगु परीक्षण गराउने बिरामी अत्यधिक बढ्दै गएपछि वार्षिक बजेटको सीमा नाघेका कारण अस्पतालले १ करोड ३५ लाख अतिरिक्त बजेट माग गरेको हो । अस्पतालमा डेंगु पहिचान गर्ने किट र रगत परीक्षण गर्ने मेसिन थप गर्न रकम माग गरिएको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडा बताउँछन् ।
परीक्षण शुल्क रु. ५००, प्रतिकिट अस्पतालले तिर्नुपर्छ रु. ९५०
अस्पतालले डेंगु परीक्षणबापत प्रतिव्यक्ति ५ सय रुपैयाँ लिने गरेको छ । ‘डेंगु परीक्षण किट अस्पतालले टेन्डरमार्फत प्रतिकिट ९ सय २० रुपैयाँमा ल्याउने गरेको छ,’ खतिवडा भन्छन्, ‘तर, बिरामीको सहुलियतका लागि अस्पतालले ५ सयमा परीक्षण गर्दै आएको छ ।’
निःशुल्क सेवा दिने हो भने वार्षिक बजेट १ महिनामै सकिन्छ : अस्पताल प्रशासन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले १७ भदौमा टेकुस्थित शुक्रराज ट्र«पिकल तथा सरुवारोग अस्पतालको निरीक्षणका क्रममा डेंगुको परीक्षण तथा उपचारका लागि आउने बिरामीसँग शुल्क नलिन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए । तर, २ हप्ता बितिसक्दा पनि राज्यमन्त्री यादवले दिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन । सरकारका विभागीय मन्त्रीले दिएको निर्देशन कार्यान्वयन हुन नसक्नुको कारणबारेको प्रश्नमा अस्पताल प्रशासन विद्यमान बजेटमा निःशुल्क परीक्षण सम्भव नभएको बताउँछ । दैनिक ६ सयभन्दा बढीको परीक्षण हुने र त्यसको व्ययभार अस्पतालले थग्न नसक्ने अस्पतालको भनाइ छ ।
‘दैनिकजसो ८ सयभन्दा बढी बिरामी डेंगु परीक्षण गर्न आउँछन्, उनीहरू सबैमा डेंगु परीक्षण गर्ने हो भने दैनिक ७–८ लाख खर्च हुन्छ,’ सूचना अधिकारी खतिवडा भन्छन्, ‘परीक्षण निःशुल्क गर्न थालियो भने अस्पतालको वार्षिक बजेट १ महिनामै सकिन्छ ।’
अस्पताललाई निःशुल्क परीक्षण सेवा दिनेबारे कुनै लिखित पत्र नआएको र राज्यमन्त्री स्वयंले नै निःशुल्क गर्न नसकिने जानकारी दिएको खतिवडा बताउँछन् । निःशुल्क सेवा दिनका लागि सरकारले त्यहीअनुरूप बजेट उपलब्ध गराउनुपर्ने खतिवडाको भनाइ छ । यसरी हेर्दा राज्यमन्त्रीले लोकप्रियताका लागि मिडियासामु निःशुल्क परीक्षण गराउन निर्देशन दिएको तर भित्री रूपमा अस्पताललाई सशुल्क गर्न भनेको बुझिन्छ । उनले साधन–स्रोत उपलब्ध गराउनतर्फ कुनै पहल नै नगरी निःशुल्क परीक्षण गराउने कुरा मात्र गरेका थिए ।
डेंगु संक्रमण बढ्दै, बिदाको दिन पनि साबिककै सेवा
डेंगुका बिरामी लगातार बढेपछि अस्पतालले सार्वजनिक बिदाको दिन पनि ओपिडी सेवा सञ्चालन गर्न थालेको छ । अस्पतालमा हाल दैनिक आठ सयभन्दा बढी ज्वरोका बिरामी आउने गरेका छन् । बिरामीको चाप अत्यधिक बढेका कारण भिड व्यवस्थापन गर्न अस्पतालले ‘क्यास काउन्टर’ दोब्बर बनाएको छ । २ वटा काउन्टरबाट सेवा दिँदै आएको अस्पतालमा अहिले ४ वटा काउन्टर सञ्चालनमा छन् ।
परीक्षण गराएका मध्ये झन्डै आधामा डेंगु संक्रमण
टेकु अस्पतालमा डेंगु परीक्षण गराएका मध्ये ४७.३४ प्रतिशतमा संक्रमण भेटिएको छ । अस्पतालको तथ्यांकअनुसार १ देखि २८ भदौसम्म ६ हजार २ सय ३१ जनाले डेंगु परीक्षण गराएका छन्, जसमध्ये २ हजार ९ सय ५० जनामा डेंगु प्रमाणित भएको छ । विभिन्न अनुसन्धानले डेंगु समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइसम्मको स्थानमा फैलिन सक्ने देखाएका छन् । यसबाट अझै पनि पहाडी जिल्लाहरूमा डेंगुको संक्रमण बढ्दै जाने निश्चितप्रायः देखिन्छ ।
डेंगु नियन्त्रणको एक मात्र विकल्पका रूपमा ‘खोज तथा नष्ट गर’ अभियानलाई महाअभियानको रूपमा लाग्नुपर्ने विज्ञहरूले बताएका छन् । अभियानअन्तर्गत व्यक्ति–यक्तिले लार्भा खोज्ने र नष्ट गर्ने काम थालेमा मात्र डेंगुमाथि नियन्त्रण पाउन सम्भव छ ।