नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र आफ्नै भवनमा
एक दशकदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र शुक्रबारदेखि आफ्नै भवनबाट औपचारिक सेवा दिने भएको छ । केन्द्रको नवनिर्मित भवनको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले उदघाटन गरेका हुन । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र उदघाटन गर्दै मन्त्री राईले नरैनापुरलाई हुलाकी सहरका रुपमा विकास गरिने बताएका छन ।
बाँकेको नरैनापुर वडा नम्बर २ लक्ष्मणपुरमामा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० बर्ष भत्र हुलाकी सहरका रुपमा विकास गर्ने र प्रत्येक बर्ष १ अर्बका दरले १० बर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याइने बताए । गएको आर्थिक बर्षमा नरैनापुरका ३ सय घरलाई फुसरहित बनाउन बजेट आएको बताउँदै मन्त्री राईले अबको तीन बर्ष्भित्र सबै घरलाई फुसरहित बनाइने जानकारी दिए ।
आफूलाई पहिलोपटक २०६४ मा सभासद्का रुपमा निर्र्वािचत गरेका बघौडाबासीसंग आफ्नो विशेष लगाब रहेको बताउँदै उनले शिक्षा, स्वास्थ्य, विजुली, सडक लगायतको विकासका लागि आफूले आफ्नो तर्फबाट कुनै कञ्जुस्याईं नगर्ने बताए ।
मन्त्री राईले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउने योजना स्विकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र प्रर्याप्त जनशक्ति व्यवस्थापनमा कुनै कमी हुन नदिइने समेत बताए । १५ शैयाको अस्पताल बनेपछि नरैनापुरबासीले नेपालगञ्जको मुख ताक्नु नपर्ने मन्त्री राईको भनाई छ । उनले सरकारले नरैनापुरलाई जोखिमयुक्त बस्ती घोषणा गरेर काम गर्ने बताए ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तबले ढिलै भएपनि सुविधा सम्पन्न अस्पताल निर्माण हुनु बघौडाबासीका लागि खुसीको क्षण भएको बताए । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको सर्वाङ्गीण विकासका लागि आफू लागिपरेको बताउँदै पिछडिएको क्षेत्रको विकासका लागि संघीय सरकारले कम बजेट दिएको गुनासो गर्दै यथेष्ट बजेट उपलब्ध गराउन मन्त्री राई समक्ष आग्रह गरे ।
३ करोड १९ लाखको लागतमा बनेको नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुर स्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्र भवन निर्माणका लागि २०६८ साल भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि ८ बर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको संघीय सहरी विकास आयोजना कार्यान्वयन इकाई नेपालगञ्जका प्रमुख सुवास बस्नेतले बताए । भवन गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको बस्नेतले जानकारी दिए । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमविविएस डाक्टरहित १३ जनाको दरबन्दी रहेको छ ।