डेंगु रोग संक्रमणको जोखिमबाट बच्न बाँकेमा लार्भा नष्ट गर्ने अभियान
बाँके लगायत देशका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिन थालेपछि बाँकेका स्थानीय तहहरुले रोगको संक्रमणबाट बच्नका लागि लार्भा नष्ट गर्ने अभियान शुरु गरेका छन । केही दिन अघि खजुरा गाँउपालिकाले शुरु गरेको अभियानलाई निरन्तरता दिँदै डुडुवा गाउँपालिकाले पनि गाउँपालिका अन्र्तगत वडाका गाउँहरुमा लार्भा नष्ट गर्ने अभियान शुरु गरेको जनाएको छ । अभियान अन्र्तगत बुधवार वडा नं. ४, ५ र ६ मा लार्भा नष्ट गर्ने औषधी छर्किएको गाउँपालिकाले जनाएको छ । बाँकी अन्य वडाहरुमा पनि औषधी छर्किने कार्य भईरहेको छ ।
अभियान अन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी छर्किनुका साथै सर्वसाधारणमा सचेतना अभिबृद्धिका कार्यक्रम समेत गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनाँका अनुसार वडादेखि गाउँपालिकास्तरका सबै सरोकारवालालाई यसबारे सचेतना अभिमुखीकरण शुरु गरिएको छ । आज शुक्रबार गाउँपालिकाका पदाधिकारी, जनप्रतिनिधी, शाखा प्रमुख, प्रहरी, स्वास्थ्य क्षेत्रमा सक्रिय संघसस्थाहरुको सहभागितामा अन्र्तक्रिया गरिने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ । शाखा प्रमुख बुढाका अनुसार यस्तो सचेतना कार्यक्रम वडास्तरमा पनि आयोजना गरिने छन ।
कार्यक्रममा जनप्रतिनिधी, वडास्तरका विद्यालय, आमा समुह, महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी, स्थानीय अगुवाहरुलाई समाबेश गरि छलफल गरिनेछ ।
कार्यक्रम पश्चात उनीहरुले गाउँ समुदायमा सचेतना फैलाउने विश्वास लिइएको छ । औलो रोगको समेत उच्च जोखिममा रहेको डुडुवा गाउँपालिकामा लामखुट्टेका लार्भा बढी सक्रिय भएकाले त्यसलाई नष्ट गर्न औषधी छर्कने अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले यो अभियानले डेंगु रोगको संक्रमण फैलिनबाट जोगाउने भन्दै अब प्रत्येक टोल समुदायमा यसबारे जनचेतना फैलाउने कार्यक्रमलाई प्रभावकारी बनाउन अभियान नै शुरु गरिएको बताए ।
अहिले मौसमी रुपमा देशैभरि फैलिएको भाइरल ज्वरोका विरामी डुडुवामा बढी देखिएका छन । गाउँपालिका अन्र्तगतका विभिन्न स्वास्थ्य संस्थाहरुमा अहिले दैनिक रुपमा ३५० बढी विरामी उपचारका लागि आउने गरेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले शुरु गरेको निशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत संचालित दुई वटा प्रयोगशालामा टाइफाइड, मलेरिया परिक्षण गराउने विरामीहरुको संख्या समेत बढ्दै गएको छ ।
डेंगुबाट बाँकेमा सात जना संक्रमित
देशै भरि डेंगुको सन्त्रास फैलिरहेको बेला बाँकेमा पनि डेंगुको संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार हालसम्म ७ जना बिरामीमा डुेंगुको संक्रमण देखिएको हो । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूपानन्द अधिकारीका अनुसार ६ जना अन्य जिल्लाका छन् भने एक जना बाँकेका छन् । अस्पतालमा भेटिएका डेंगुका बिरामीमा कैलालीका एक, बर्दियाका एक, पाल्पाका एक, बुटवलका तीन जना रहेका छन् ।
बाहिरी जिल्लाबाट नेपालगन्ज आएका व्यक्ति बिरामी भई अस्पताल आउँदा डेंगु फेला परेको मेडिकल सुपरिटेन्डेन्ट डा.अधिकारीले बताए । ‘अहिलेसम्म बाँकेमा जोखिम देखिएको छैन,’ उनले भने, ‘यद्यपि, सुरक्षाका उपाय भने अपनाउनु आवश्यक छ ।’ भेरी अस्पतालका डा.खगेन्द्रजंग शाहीले अस्पतालमा फेला परेका डेंगुका बिरामीमा कडा संक्रमण भने नपाइएको बताए । ‘बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आउनेमा डेंगु देखिए पनि यहींका बिरामीमा त्यस्तो कम पाइएको छ,’ उनले भने, ‘भाइरल बिरामीको संख्या भने यहाँ बढेको छ ।’ उनका अनुसार डेंगुको डरका कारण भाइरल संक्रमण हुनेहरू पनि उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । डा.शाहीले भने, ‘ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लाग्ने, ब्लडप्रेसर कम हुने डेंगुका लक्षण हुन् ।’
डा.शाहीले बाँकेमा डेंगु जोखिम नदेखिए पनि सतर्कता अपनाउन भने सुझाव दिएका छन् । ‘नियमित झुल लगाएर सुत्नुस,’ उनले भने, ‘पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, खाली ड्रम, गाडीका टायर आदिमा पानी जम्न नदिनु उचित हुन्छ ।’ डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।
‘संवेदनशील भएर लाग्न आग्रह’ विकासका लागि नागरिक सरोकार समिति बाँकेले डेंगु संक्रमण नफैलियोस् भनेर समयमै सचेत भएर त्यसतर्फ आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले देशका ५६ जिल्लामा डेंगुका संक्रमण देखिएकोले बाँकेमा भयावह अवस्था आउन नदिन तीन वटै तहका सरकारले चासो राखेर नियन्त्रणका उपायहरु अवलम्वन गर्नुपर्ने बताएका छन् । ‘बाँकेमा डेंगु संक्रमण भयावह नहोस् भनेर समयमै सचेतना अपनाउनु आवश्यक छ’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले भने, ‘त्यसैले जिल्ला स्थित स्थानीय तहलाई पहलका लागि आग्रह गरेका हौं ।’ समितिले बुधबार डेंगुको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विज्ञप्ति समेत जारी गरेको छ । विज्ञप्तिमा डेंगुका जीवाणु नष्ट गर्ने औषधी छर्कने र जनचेतनाका कामहरु अगाडि बढाउन स्थानीय तहसँग अनुरोध गरिएको छ ।