१२६ देशमा डेंगुको महामारी, अन्तर्राष्ट्रिय विज्ञ भन्छन्– नियन्त्रणको एक मात्र विकल्प ‘खोज तथा नष्ट गर’ अभियान

हेल्थपोस्ट नेपाल

डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर अभियान’ सर्वव्यापक रूपमा अघि बढाउनुको विकल्प नभएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले बताएका छन् । बिहीबार विश्व स्वास्थ्य संगठन, युनिसेफ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा भएको पत्रकार सम्मेलनमा विज्ञहरूले डेंगु नियन्त्रणका लागि अब व्यक्ति–व्यक्तिबाटै खोज तथा नष्ट अभियान सुरु गर्नुपर्ने बताएका छन् ।

भारतबाट आएका डा. विन एन नाम्पालले डेंगु नेपालको मात्र समस्या नभएर हाल १ सय २६ वटा देशमा डेंगुले माहामारीको रूप लिएको बताए । ‘सन् १९९६ मा ९ वटा देशमा मात्र डेंगु देखिएकोमा हाल १ सय २६ वडा देशमा महामारीको नै रूप लिएको छ,’ नाम्पालले भने, ‘व्यक्ति–व्यक्तिमा जनचेतना भयो भने मात्र डेंगु नियन्त्रण सम्भव छ, औषधि तथा खोपद्वारा नियन्त्रण सम्भव छैन ।’

नियन्त्रणका लागि मानिसले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा उनको मुख्य जोड थियो । ‘हामीले दैनिक रूपमा प्रयोग गर्ने पानीमा डेंगु बढी फैलिने गर्छ, सकेसम्म पानीलाई २–३ दिनमा परिर्वतन गरिरहनु जरुरी हुन्छ,’ नाम्पाल भन्छन्, ‘जसको घरमा डेंगुका बिरामी हुन्छन्, उसलाई मात्र थाहा हुन्छ, डेंगु के हो ।’

डेंगु संक्रामक लामखुट्टेले दिउँसोको समयमा टोक्ने हुँदा बढी त्यतिवेलै बढी क्रियाशील हुने उनले बताए । एक डेंगुसंक्रामक लामखुट्टेले एक दिनमा ५ जनासम्मलाई टोक्ने र ६० देखि १०० वटासम्म फुल पार्ने नाम्पालले जानकारी दिए । उनका अनुसार यस्तो लामखुट्टेलाई बढीजसो टायरमा हुर्कन सजिलो हुन्छ ।

दक्षिण एसियमा डेंगु संक्रमित संख्या बढ्दै गएको विवरण डा. नाम्पालले यसरी प्रस्तुत गरे–
सन्         डेंगुका केस
२०११  :     १९३०१३
२०१२  :     २७४९२१
२०१३  :     ३२७४१७
२०१४   :    २४५२८५
२०१५  :      ४५१४४२
२०१६   :       ४३९३३२
२०१७    :       ४२५५३२

डेंगुले नेपालमा मात्र नभएर भारत, चीन, साउथ कोरिया, मेलेसियाजस्ता देशमा पनि महामारीको रूप लिएको विश्व स्वास्थ्य संगठनसित आबद्ध डा. रेमतेन वाङचुत बताउँछिन् । ‘पछिल्ला ३ महिनादेखि डेंगु महामारीको रूपमा फैलिएको छ,’ डा. वाङचुत भन्छिन्, ‘डेंगु नियन्त्रणका लागि सबैले हातेमालो गर्नु जरुरी छ ।’



Leave a Reply

Your email address will not be published.