नयाँ व्यवस्थापनपछि सेवाविस्तार र गुणस्तर अभिवृद्धिमा आक्रामक बन्दै स्टार हस्पिटल

हेल्थपोस्ट नेपाल

डेढ दशकअघि स्थापित ललितपुरको पुरानोमध्येको एक स्टार अस्पतालले आकस्मिक उपचारका विशेषज्ञबाट २४ घण्टे आकस्मिक सेवासहित पूर्णकालीन विशेषज्ञ चिकित्सकबाट १२ घण्टा ओपिडी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले महत्त्वपूर्ण विधामा पूर्णकालीन विशेषज्ञ चिकित्सक राखेसँगै सेवाको प्रवर्धन र गुणस्तर दुवै पाटोमा सक्रियता बढाएको छ ।

वि.सं. २०६३ फागुनदेखि सेवा आरम्भ गरेको अस्पतालले १४ वर्षको यात्रामा सेवाविस्तारसँगै व्यवस्थापकीय उतार–चढावसमेत भोगेको छ । पछिल्लोपटक नयाँ व्यवस्थापनको प्रवेश भएसँगै अस्पताल नयाँ नयाँ सोच र योजनाका साथ अगाडि बढ्न लागेको हो । अस्पतालको ५१ प्रतिशत सेयरसहित ३३ वर्ष बैंकिङ क्षेत्रमा बिताएका किशोरकुमार महर्जनको समूहले अस्पतालमा लगानी बढाएको छ । पब्लिक लिमिडेटका रुपमा रुपान्तरिक अस्पतालका नयाँ सेयर सदस्यमध्ये अधिकांश ललितपुरसहित, काठमाडौंका सीतापाइला, मातातीर्थलगायत क्षेत्रका स्थानीय छन् । एक वर्षअघि मात्रै नेतृत्वबाट बाहिरिएका चर्चित शल्यचिकित्सक डा. शैल रुपाखेतीले अस्पतालको प्रबन्धनिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

उनले पूर्णकालीन र अल्पकालीन चिकित्सकबाट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म (सिफ्टवाइज) अधिकांश विशेषज्ञता ओपिडीसमेत सुचारु गरिने जानकारी दिए । सय शय्याको अनुमति पाएको अस्पतालले अब पूर्ण शय्या सञ्चालनमा ल्याएर, आइसियू, एनआइसियू र सिसियूसहितको बहुविशेषज्ञ अस्पताल बनाउने जनाएको छ ।

नवनियुक्त प्रबन्धनिर्देशक डा. रुपाखेतीका अनुसार पछिल्लोपटक जनरल मेडिसिन, जनरल एन्ड जिआई सर्जरी, स्त्री तथा प्रसूतिरोग, एनेस्थेसिया एन्ड क्रिटिकल मेडिसिन, हाडजोर्नी, न्युरो सर्र्जरी, बालरोग, मुटुरोग, रेडियोलोजी र ट्रमाजस्ता महत्त्वपूर्ण विधामा पूर्णकालीन चिकित्सक आबद्ध गराइसकिएको छ । ‘अब २४सै घण्टा आकस्मिक चिकित्सा विषयकै विशेषज्ञसहितको आकस्मिक सेवा सुरु भइसकेको छ,’ डा. रुपाखेतीले भने, ‘यो क्षेत्रकै उत्कृष्ट र बहुविशेषज्ञ अस्पतालका रुपमा विकास गर्ने नयाँ लक्ष्य लिएर आएका छौँ ।’

उनले पूर्णकालीन र अल्पकालीन चिकित्सकबाट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म (सिफ्टवाइज) अधिकांश विशेषज्ञता ओपिडीसमेत सुचारु गरिने जानकारी दिए । सय शय्याको अनुमति पाएको अस्पतालले अब पूर्ण शय्या सञ्चालनमा ल्याएर, आइसियू, एनआइसियू र सिसियूसहितको बहुविशेषज्ञ अस्पताल बनाउने जनाएको छ ।

पूर्ण गुणस्तरीय सेवाका लागि अन्तरविभाग समन्वयमा जोड दिएर आगामी दिनमा केही महत्त्वपूर्ण विधाका सुपरस्पेसलाइज्ड सेन्टरका रुपमा अस्पताललाई विकास गर्ने योजना रहेको डा. रुपाखेतीले जानकारी दिए । उनका अनुसार स्टारलाई जोर्नी तथा घुँडा प्रत्यारोपण र स्पोर्स मेडिसिन, ग्यास्ट्रोइन्टेस्टाइन सर्जरी, इनभिक्टो फर्टिलाइजेसन (आइभिएफ) र प्रिभेन्टिभ कार्डियोलोजी सेन्टरका रुपमा विकास गर्ने योजना छ । हाल अस्पतालमा मुटुरोग, नाक–कान–घाँटी, जोर्नी, सर्जरी, आर्थोस्कोपी, जोर्नी विधाका चर्चित विशेषज्ञ चिकित्सक, नर्स, अन्य प्राविधिक तथा प्रशासनिक कर्मचारी गरी ३ सयभन्दा बढी जनशक्ति आबद्ध छ ।

अस्पतालले सेवाका अलावा स्टार एकेडेमीमार्फत सिटिइभिटीअन्तर्गतको नर्सिङ, एचए र पोखरा विश्वविद्यालयअन्तर्गतको स्नातक तहका बिएमएलटी, बिपिएच, बिफर्मालगायत कोर्ससमेत सञ्चालन गर्दै आएको छ । अस्पतालले २ वर्षदेखि आफ्नै सुविधासम्पन्न भवनमार्फत सेवा दिँदै आएको छ ।



Leave a Reply

Your email address will not be published.