विप्लवका छोराको नेतृत्वमा चिकित्साशिक्षा संघर्ष समिति, आन्दोलनका कार्यक्रम घोषणा
विभिन्न कलेजमा चिकित्साशिक्षा पढ्दै गरेका विद्यार्थीले मेडिकल शिक्षामा विकृति बढ्दै गएको भन्दै संघर्ष समिति नै बनाएर संघर्षका कार्यक्रम घोषणा गरेका छन् । चितवन मेडिकल कलेजमा अध्ययनरत प्रकाश चन्दको नेतृत्व र अगुवाइमा विद्यार्थीकै तहबाट यस्तो संघर्ष सुरु हुन लागेको हो । चन्द प्रतिबन्धित नेकपा (विप्लव) समूहका नेता नेत्रविक्रम चन्द (विप्लव) का छोरा हुन् ।
संघर्ष समितिले मंगलबारदेखि २४ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । संघर्षको नेतृत्वकर्ता चन्दले मेडिकल शिक्षा दलाल र माफियाको कब्जामा रहेको भन्दै त्यसबाट मुक्त गर्न संघर्षको विकल्प नभएको बताए । मंगलबार राजधानीमा पत्रकार सम्मेलन तथा अन्तरक्रियामार्फत घोषित कार्यक्रमअनुसार विद्यार्थीले ज्ञापनपत्रबाट सुरु गरेर मेडिकल कलेजमा सभा गर्ने, सबै मेडिकल कलेजमा कालो ब्यानर राख्नेदेखि कडा विरोधका कार्यक्रमसमेत गर्नेछन् । चन्दले सेवा नरोकीकन शैक्षिक तथा प्रशासनिक काम ठप्प पारेर मेडिकल शिक्षा क्षेत्रमा सुधार गराएरै छाड्ने बताए ।
गण्डकी मेडिकल कलेजका विद्यार्थी अनित सिन्हाले मेडिकल कलेज मुख्य व्यवसायका रुपमा मौलाउँदै गएको बताए । ‘मेडिकल कलेजका लागि निर्धारित कुनै पनि मापदण्ड पूरा नगरेको अवस्थामा पनि कलेजहरुलाई कसरी अनुमति दिइयो ?’ सिन्हाले प्रश्न गरे ।
चिकित्साशिक्षा संघर्ष समितिका नाममा मेडिकल विद्यार्थीले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी कामु उपकुलपति सुधा त्रिपाठी, नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष धर्मकान्त बास्कोटा, सोही संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका डिन डा. राजेन्द्र कोजू, शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साललगायतले विद्यार्थीका जायज मागमा छलफल र तिनको सम्बोधनको प्रयास हुनुपर्ने धारणा राखेका थिए ।
‘चिकित्साशिक्षामा विकृति बढ्नुमा सबै पक्षको धेरथोर कमजोरी छ,’ डा. बास्कोटाले भने, ‘चिकित्साशिक्षा ऐनले ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको छैन, मेडिकल कलेजहरुले त्यसको प्रतिकूल भर्ना खेलेका छन् ।’
गण्डकी मेडिकल कलेजका विद्यार्थी अनित सिन्हाले मेडिकल कलेज मुख्य व्यवसायका रुपमा मौलाउँदै गएको बताए । ‘मेडिकल कलेजका लागि निर्धारित कुनै पनि मापदण्ड पूरा नगरेको अवस्थामा पनि कलेजहरुलाई कसरी अनुमति दिइयो ?’ सिन्हाले प्रश्न गरे ।
केही कलेजका सञ्चालकले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमार्फत विश्वविद्यालयका पदाधिकारीलाई समेत दबाब दिएर यस वर्ष भर्ना र विद्यार्थी छनोटमा मनपरी गर्न लागेको सन्दर्भमा विद्यार्थीको आन्दोलनले चर्को रुप लिने देखिएको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. श्रेष्ठले चिकित्साशिक्षा आयोगको उपाध्यक्ष चयनमा राज्य संवेदनशील नरहेको जिकिर गरे । ‘मेडिकल कलेजहरुमा व्याप्त बेथिति र अराजकताविरुद्ध विद्यार्थीले चलाएको संघर्षमा एनएमएको साथ रहनेछ,’ डा. श्रेष्ठले भने ।
पछिल्ला दिनमा राष्ट्रिय चिकित्साशिक्षा ऐनलाई कमजोर बनाउँदै विश्वविद्यालय र संसदीय समितिलाई प्रभावमा पारेर कलेज सञ्चालकहरु फेरि चलखेलमा लागेका छन् । कलेज सञ्चालकहरु सरकारले तोकेको शुल्क लागू गर्न नदिन, विदेशी विद्यार्थी भर्ना बढाउन र मेरिट भर्ना छल्न चलखेल बढाएका छन् । विशेषगरी केही कलेजका सञ्चालकले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमार्फत विश्वविद्यालयका पदाधिकारीलाई समेत दबाब दिएर यस वर्ष भर्ना र विद्यार्थी छनोटमा मनपरी गर्न लागेको सन्दर्भमा विद्यार्थीको आन्दोलनले चर्को रुप लिने देखिएको छ ।