प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि पुनः सिंगापुर प्रस्थान, मिर्गौलासम्बन्धी एन्टिबडी निष्कासन गरिने

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि पुनः सिंगापुर प्रस्थान गरेका छन् । झन्डै डेढ दशकदेखि मिर्गौलारोगसँग लडिरहेका प्रधानमन्त्री ओली १० दिनको बीचमा दोस्रोपटक बिहीबार दिउँसो साढे १ बजे उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको टोलीमा उनकी धर्मपत्नी राधिका शाक्यलगायत सहयोगी, निजी चिकित्सक तथा सुरक्षाकर्मी सम्मिलित रहेको प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।

करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि उनी यसअघि १८ साउनमा सिंगापुर गएका थिए । उनले १८ देखि २७ साउनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । उपचारका क्रममा उनको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढी देखिएको डा. सिंहले जानकारी दिएकी छिन् ।

खासमा प्रधानमन्त्रीका के–कस्तो उपचार हुँदै छ सिंगापुरमा ?
प्रधानमन्त्री ओलीको निजी चिकित्सक तथा वरिष्ठ नेफ्रोलोजिस्ट डा. सिंहका अनुसार सिंगापुरमा प्रधानमन्त्रीको मुख्यतः मिर्गौलासम्बन्धी एन्टिबडी निष्कासनका लागि उपचार हुनेछ । अघिल्लोपटकको उपचारका क्रममा बढेको देखिएको एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन नै प्रधानमन्त्री पुनः सिंगापुर प्रस्थान गरेको डा. सिंहको भनाइ छ ।

सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा सिंगापुरका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण, क्षमता अभिवृद्धिका साथै आवश्यक उपचार गर्ने डा. सिंहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे केही विशेष जानकारी दिनुपर्ने भएमा आमसञ्चारमार्फत नेपाली जनतालाई सुसूचित गराइने डा. सिंहको भनाइ छ ।



Leave a Reply

Your email address will not be published.