नर्सिङ काउन्सिलमा ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी, २८ भदौमा निर्वाचन
नेपाल नर्सिङ काउन्सिलको बोर्ड सदस्यका लागि ८ जना नर्सले उम्मेदवारी दर्ता गराएका छन् । यद्यपि, मंगलबार (आज) बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय बाँकी नै भएकाले अन्तिम उम्मेदवारको सूची भने तय भइसकेको छैन । निर्वाचन समितिले आइतबार ५ बजेसम्मका लागि उम्मेदवारी दार्ता गराउन समय दिएको र तोकिएको समयभित्र ८ जना नर्सले रीतपूर्वक उम्मेदवारी दिएको नर्सिङ संघकी अध्यक्ष तारा पोख्रेलले जानकारी दिइन् ।
उम्मेदवारी दिनेमा डा. तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठ, सरला केसी, जिता बराल र मित्रकुमारी देवकोटा छन् । तीमध्ये ५ जना प्रगतिशील पक्षधर र बाँकी ३ जना स्वतन्त्र उम्मेदवार रहेको बताइएको छ । उम्मेदवारी दिनेमध्ये जिता बराल गत जेठमा नर्सिङ बेथितिको अन्तका लागि आमरण अनशन बसेर चर्चामा आएकी थिइन् । काउन्सिलको सदस्यका लागि उम्मेदवारी दिन नर्सिङ संघको सदस्यता लिएको ५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ ।
काउिन्सलको निर्वाचन २८ भदौका लागि तय भएको छ । निर्वाचनमा नर्सिङ संघमा आबद्ध नर्सले मात्र मतदान गर्न पाउने व्यवस्था छ । हाल करिब १२ हजार नर्स नर्सिङ संघका सदस्य छन् । उनीहरूले ठिक एक महिनापछि हुने निर्वाचनमार्फत उम्मेदवारमध्येबाट काउन्सिलको सदस्यका लागि ३ जना चयन गर्नेछन् ।
१५ सदस्यीय नेपाल नर्सिङ काउन्सिलमा हाल ८ जना मात्र पदाधिकरी छन् । ८ महिनादेखि रिक्त रहेको ३ सदस्य पदका लागि अहिले निर्वाचन हुन लागेको हो । अन्य रिक्त सदस्य पद विभिन्न निकायबाट नियुक्त हुनुपर्नेमा हुन सकिरहेको छैन ।