पाँच वर्षमा ११ गुणाले बढ्यो डेंगु संक्रमण

हेल्थपोस्ट नेपाल

बढ्दो तापक्रम, सहरीकरणसँगै रोग सार्ने लामखुट्टेले वासस्थान बदल्दा पाँच वर्षका देशभर डेंगुको संक्रमण पाँच गुणाले बढेको छ । यो वर्ष प्रदेश १ अन्तर्गतका जिल्लामा गर्मीयाममा देखिने विभिन्न रोगमध्ये यस वर्ष डेंगुले महामारीको रूप लिएको छ ।

पाँच वर्षअघिसम्म १२ जिल्लामा फाटफुट रुपमा देखिएको डेंगु पाँच वर्षको बीचमा ५६ जिल्लामा देखापरिसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष ०७१/७२ मा सबैभन्दा बढी चितवनमा ११९ र पर्सामा ११४ जनासहित ३०२ जनामा डेंगु देखिएकोमा अन्य जिल्लामा १/२ वटा केसमात्रै भेटिएको थियो ।

महाशाखाका अनुसार देशभरका ५६ जिल्लामा डेंगुका बिरामी फेला परिसकेका छन् । पाँच वर्ष यताको तथ्यांक हेर्दा यो वर्ष प्रदेश १ को सुनसरी (धरान)मा मात्रै ३ हजार २५ जनामा डेंगु प्रमाणित भएको छ ।
पाँच वर्षअअि १२ जिल्लामा जम्मा ३०२ डेंगु बिरामी भेटिएकोमा यो वर्ष ३४ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगी देखापरिसकेको छ । महाशाखको तथ्यांकअनुसार यो वर्ष प्रदेश १ का १० वटै जिल्लामा डेंगु भेटिइसकेको छ । जसमा सुनसरीमा बढी र त्यसपछि मोरङ र झापामा बिरामी भेटिएका छन् ।

त्यसैगरी प्रदेश २ मा ४ जिल्लामा १२ बिरामी, प्रदेश ३ का ९ जिल्लामा १२६, गण्डकी प्रदेशका ५ जिल्लामा २६, प्रदेश ५ का ९ जिल्लामा ९६, कर्णाली प्रदेशको सल्यानमा मात्र १ जना र सुदुरपश्चिम प्रदेशको ५ जिल्लामा १२ बिरामी भेटिएका छन् । यो वर्ष प्रदेश २ मा पर्सा र सप्तरी, प्रदेश ३ का मकवानपुर र चितवनमा, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को रुपन्देही र नवलपरासीमा बढी बिरामी भेटिएका छन् ।

महाशाखाका अनुसार धरानमा ३० वैशाखदेखि पूर्वी तराईको धरानबाट सुरु भएको डेंगुको संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । विगत वर्षका अनुभवका आधारमा पनि थप सतर्कता अपनाउँदै समयमै रोकथामका कार्यक्रमहरू सञ्चालन गरी न्यूनीकरणतर्फ लाने प्रयास भइरहेपनि प्रभावहीन देखिएको छ ।



Leave a Reply

Your email address will not be published.