इतिहासकै सबैभन्दा ठूलो घुसकाण्डका आरोपी भिसी रौनियार ४८ लाख धरौटीमा रिहा
नेपालको भ्रष्टाचारको इतिहासमा सबैभन्दा ठूलो घुसकाण्डका आरोपी बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार धरौटीमा रिहा भएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोसी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले भिसी रौनियार र उनको घुसकाण्डमा मतियार बनेका उनका भतिज रामहरि रौनियारलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । विशेषले भिसी रौनियारलाई ४८ लाख र रामहरिलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाको नेतृत्वमा रहेका र दशकौँ प्राज्ञिक क्षेत्रमा बिताएर प्राध्यापकको पदवीप्राप्त उपकुलपति रौनियार २६ असारमा ८ लाख घुससहित रंगेहात प्रक्राउ परेका थिए । रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइसकेको अवस्थामा प्रतिष्ठानको उपकुलपतिनिवासबाट पक्राउ गरेको थियो । भिसी रौनियारले करकापमा पारी पटक–पटक आफूसित घुस लिएको र मागिरहेको भनी श्याम सुन्दर निर्माण सेवा प्रालिका सबकन्ट्य्राक्टर गिना एवं गिना कन्स्ट्रक्सन कम्पनीका प्रबन्धनिर्देशक सुशीलकुमार झाले अडियो रेकर्डिङ तथा भिडियो प्रमाणसहित अख्तियारमा उजुरी दिएपछि अनुसन्धानका लागि खटिएको अख्तियारको टोलीले रौनियारद्वयलाई घुससहित रंगेहात पक्राउ गरेको थियो ।
पक्राउ परेका रौनियारद्वयमाथिको करिब २ साताको अनुसन्धानपछि अख्तियारले भिसी रौनियारले प्रतिष्ठानको भवननिर्माणको ठेक्कामा भुक्तानी कमिसनबापत पटक–पटक गरी १ करोड २८ लाख रुपैयाँ ठेकेदार कम्पनीबाट घुस लिएको प्रमाणसहित उक्त रकमलाई बिगो दाबीसहित विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । इतिहासमा भ्रष्टाचार तथा घोटालाका ठूला–ठूला रकम बिगोका प्रशस्तै मुद्दा दायर भए पनि घुस प्रकरणमा भने यो नै हालसम्मको सबैभन्दा ठूलो बिगो रकमको मुद्दा अख्तियारले दर्ता गरेको हो । अख्तियारले भिसी रौनियारको घुस प्रकरणको मतियार बनेका रामहरिलाई भने ८ लाख बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।