विश्वविद्यालयमा दलीय भागबन्डामा पदाधिकारी नियुक्त नगर्न डा. केसीको आग्रह
चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले विश्वविद्यालय तथा सार्वजनिक संस्थाहरूमा दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त नगर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै डा. केसीले विश्वविद्यालय तथा सार्वजनिक संस्थाहरूमा चलिरहेको भागबन्डाको ‘मुसादौड’ बन्द गरी योग्यता र वरिष्ठताको ठोस आधारमा पदाधिकारी नियुक्त गर्न आग्रह गरेका हुन् ।
विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले पदाधिकारी नियुक्तिसम्बन्धमा सुझाब दिइसकेको स्मरण गराउँदै डा. केसीले सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिहरूलाई कुनै पनि हालतमा विश्वविद्यालयमा नियुक्त नगर्न ध्यानाकर्षण गराएका छन् । त्रिवि सेवा आयोगमा भ्रष्टाचारको विकराल अवस्था हुँदाहुँदै फेरि पनि भागबन्डाकै आधारमा नियुक्ति गरिनु लज्जास्पद भएको भन्दै डा. केसीले त्यसलाई सच्याउन भनेका छन् ।
डा. केसीले लहडको भरमा कुनै पनि विश्वविद्यालय नथप्नसमेत सरकारलाई आग्रह गरेका छन् । त्यस्तै, डा. केसीले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा यथाशीघ्र एमबिबिएसलगायत शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नसमेत आग्रह गरेका छन् ।