स्वास्थ्यमा प्रदेश ५ सरकारले दावी गरेका दश उपलब्धि

हेल्थपोस्ट नेपाल

प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७५/७६ मा स्वास्थ्य क्षेत्रमा १० मुख्य काम गरेको बताएको छ । प्रदेश मन्त्रालयहरूको प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले स्वास्थ्यक्षेत्रको प्रगति विवरणसमेत सार्वजनिक गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमका १० प्रगति मन्त्रालयले पेस गरेअनुरूप मुख्यमन्त्री पोख्रेलले सार्वजनिक गरेका हुन् । प्रदेशका सबै मन्त्री तथा मन्त्रालयका अधिकारीको उपस्थितिमा मुख्यमन्त्री पोख्रेलले मन्त्रलयगत रूपमा प्रगति–विवरण सार्वजनिक गरेका थिए ।

स्वास्थ्यको प्रगतिमा स्वयंसेवक परिचालनदेखि ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्यसेवा पुर्याएको विषयलाई १० बुँदामा समेटिएको छ । सेवाप्रवाहमा सुधार ल्याउने प्रयास, सेवा–सुविधाबारे सचेतना अभिवृद्धि, सडक मानवको उद्धार, श्रमलाई व्यवस्थित गर्न पहल, सेवामा गुणस्तर कायम गर्ने प्रयास, प्रयोगशाला र बर्थिङ सेन्टरको विस्तार, स्वास्थ्यसंस्थामा एम्बुलेन्स तथा उपकरण वितरण, अनलाइन बिलिङलगायतलाई प्रदेश सरकारले आफ्ना मूल उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।

प्रगतिका १० बुँदा
१) २२१ स्वयंसेवक परिचालनबाट सेवाप्रवाहमा सुधार ल्याउने प्रयास गरिएको छ ।
२) महिला, बालबालिका, ज्येष्ठनागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यकलगायत क्षेत्रमा कार्यक्रमहरू सञ्चालन भई अधिकार र सेवा–सुविधाबारे सचेतनामा वृद्धि भएको छ ।
३) मानवसेवा आश्रममार्फत ५० जना सडक मानवको उद्धार र सहयोग गरिएको छ ।
४) श्रमिक र रोजगारदाताबीच छलफल, अन्तरक्रिया सम्पन्न भई श्रमबजारलाई व्यवस्थित गर्न पहल गरिएको छ ।
५) अनुगमन र पृष्ठपोषणका माध्यमबाट सञ्चालित कार्यक्रमहरूको गुणस्तर कायम गर्ने प्रयास गरिएको छ ।
६) ८४ वर्षभन्दा बढी उमेरका, ७ हजार ८ सय ६५ जना ज्येष्ठनागरिकलाई घरमै स्वास्थ्यसेवा पुर्याइएको छ ।
७) १६ वटा स्वास्थ्यसंस्थामा प्रयोगशाला र १७ स्थानमा बर्थिङ सेन्टरको विस्तार तथा सुदृढीकरण गरिएको छ ।
८) ८ वटा एम्बुलेन्स थप, ११ वटा मर्चरी फ्रिजको वितरण तथा ११ वटा पोस्टमार्टम भवनको निर्माण र सुधार भएको छ ।
९) सर्पदंश उपचारसेवा सुधारका लागि १२ सेट उपकरण वितरण गरिएको छ ।
१०) स्वास्थ्यसेवाको गुणस्तर सुदृढीकरणका लागि सिटी स्क्यान, भिडियो एक्स–रे, डायलाइसिस मेसिन, साधारण तथा डिजिटल एक्स–रे मेसिन, मोडुलर बेड, मनिटर (आइसियूमा), अटोक्लेभ मेसिन (फोहोर व्यवस्थापन) खरिद तथा अनलाइन बिलिङ मेसिन जडान गरिएको छ ।



Leave a Reply

Your email address will not be published.