स्वास्थ्य कार्यालयबाटै मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड, चितवन कार्यालयअगाडि औषधिको डंगुर
चितवन जिल्ला स्वास्थ्य कार्यालय पुग्नेबित्तिकै अत्यन्त अव्यवस्थित रूपमा फलिएका अनेक प्रकारका औषधिको डंगुर देख्न सकिन्छ । कार्यालयले म्याद नाघेका र केही म्याद भएकै औषधि पनि कार्यालयअगाडि जथाभावी फालेको हो । स्वास्थ्य कार्यालयबाहिर एन्टिबायोटिक, प्यारासिटामोल, क्षयरोग, कुष्ठरोग, औलो, मलेरिया, एचआइभीलगायतका म्याद नाघेका औषधिको थुप्रो देख्न सकिन्छ । कार्यालयपरिसरमा गैरजिम्मेवार ढंगले प्रदूषण फैलाउने गरी फालिएका औषधिको डंगुरमा कतिपय म्याद ननाघेका औषधिसमेत भेट्न सकिन्छन् ।
‘मान्छेहरू औषधि नपाएर उपचारबाट वञ्चित हुनुपरिरहेको छ । तर, यहाँ स्वास्थ्य कार्यालयले यसरी औषधि फालेको छ,’ भरतपुरकी तारा बरालले फालिएका औषधिमध्येबाट एक पोका म्याद ननाघेको औषधि देखाउँदै भनिन्, ‘यो सिफ्रोफोक्सासिन औषधिको म्याद अझै ६ महिना बाँकी छ, तर यसरी फालिएको छ ।’ उनले सरकारी अस्पतालमा जाँदा निःशुल्क पाउनुपर्ने औषधि नपाएर बिरामीहरू यत्तिकै फर्किरहेको बताइन् ।
औषधिजस्तो संवेदनशील वस्तुको राम्ररी व्यवस्थापन गर्नुपर्नेमा स्वयम् स्वास्थ्य कार्यालयले नै जथाभावी बाहिर फालेर चरम लापरबाही गरेको उपभोक्ता अधिकारकर्मी विष्णु भुसालले बताए । ‘म्याद नाघेका औषधिलाई स्वास्थ्य कार्यालयले छुट्टै व्यवस्थापन गर्नुपर्छ, तर यहाँ यसरी बाहिर फालिएको छ,’ भुसालले भने, ‘मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्ने व्यक्तिले यो औषधि खायो भने को जिम्मेवार हुन्छ ?’
उनका अनुसार कार्यालयले म्याद ननाघेका एन्टिबायोटिक औषधिसमेत म्याद नाघेका औषधिमा मिसाएर बाहिर फालिएको छ । कार्यालयपरिसरमा म्याद नाघेका औषधिको गन्ध फैलिन सुरु भएका कारण मानव स्वास्थ्यमा यसले गम्भीर असर गर्न सक्ने उनले बताए । स्वास्थ्य कार्यालयजस्तो जिम्मेवार निकायले यसरी औषधि फल्नु गैरजिम्मेवारी भएको उनले बताए ।
जथाभावी औषधि फाल्दा एकातिर त्यसबाट फैलिने प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ भने अर्कोतिर लागुऔषध वा अन्य गलत प्रयोजनमा त्यसको दुरुपयोग हुन सक्ने जोखिम उत्तिकै रहन्छ । अधिकांश बिरामीलाई आवश्यक पर्ने टेट्रासाइक्लिन, क्लोरामफेनिकल, सिप्रोफ्लोक्सासिन, एमोक्सोमिसिलजस्ता अत्यावश्यक एन्टिबायोटिक औषधि कार्टुनका कार्टुन कार्यालय परिसरमै फालिएको छ ।
एन्टिबायोटिक, क्षयरोग, कुष्ठरोग, औलो/मलेरिया, एचआइभीलगायतका २० हजार ट्याब्लेटभन्दा बढी म्याद नाघेका औषधि बाहिर राखिएको स्वास्थ्य कार्यालयको भनाइ छ । बेटाडिन १ सय सिसी, कुष्टरोग एचआरजेट १ हजार ५४, एचआर चाइल्ड ९ हजार ५ सय ट्याब्लेट, ५० सिसी प्यारासिटामोल र अन्य एन्टिबायोटिक र एचआइभीका औषधि म्याद नाघेकाले बाहिर फालिएको कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कोष तथा लेखानियन्त्रकका प्रतिनिधिको रोहबरमा स्वास्थ्य कार्यालयले म्याद नाघेका औषधिको मुचुल्का उठाएको थियो । तर, म्याद नाघेका औषधिलाई निस्तेज नपारी कार्यालयअगाडि छरपस्ट फालिएको छ ।
जथाभावी गाड्न वा जलाउन नमिल्ने भएका कारण म्याद नाघेका औषधिको व्यवस्थापन गर्न कठिन भएको कार्यालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । स्टोरमा राख्ने ठाउँ नहुँदा बाहिर राखिएको उनले बताए । ‘म्याद नाघेका औषधि अन्य औषधिसँग राख्ने कुरा भएन । अन्य स्थानमा राख्ने ठाउँ छैन,’ अधिकारीले भने, ‘अब छिट्टै यसलाई व्यवस्थापन गर्छौं ।’ उनका अनुसार दुई वर्षदेखिका म्याद नाघेका औषधि बाहिर राखिएको छ । म्याद नाघेका औषधिलाई निस्तेज पार्ने प्रक्रियामा रहेको उनले बताए । ‘त्यतिकै बाहिर जलाउन पनि भएन, गाड्दा पनि सबै कुहिने औषधि छैनन्,’ उनले भने, ‘यसको व्यवस्थापनको तयारीमा छौँ ।’
औषधिको आपूर्ति, खपत र आवश्यकताबीच तालमेल नभएकाले बर्सेनि लाखौँ रुपैयाँबराबरका औषधि म्याद छँदै वितरण नहुँदा खेर गइरहेका छन् । स्वास्थ्य नीतिमा औषधिको म्याद समाप्त नहुँदै लक्षित वर्गमा वितरण गरिसक्नुपर्ने प्रावधान भए पनि अनुकूल आपूर्ति प्रणाली नहुँदा वर्षौंदेखि यस्तो समस्या देखिएको छ । यद्यपि, अधिकारी भने औषधिको माग नआउँदा स्वास्थ्य कार्यालयमा रहेका औषधिको म्याद नाघेको बताउँछन् ।