सरकारी अस्पतालमा उपकरण खरिद र सञ्चालनमा अनियमितता रोक्न निजीसित पार्टनरसिप : मन्त्री यादव
सरकारी अस्पतालमा उपकरण चाँडै बिग्रिने प्रवृत्तिको अन्त्य नभए निजी पार्टनरसँग सम्झौता गरेर सेवा सुचारु गर्ने उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा मन्त्री यादवले वीर अस्पतालको एमआरआई मेसिनको दुरुपयोग भएको प्रसंग उल्लेख गर्दै यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । सरकारी अस्पतालमा उपकरण खरिद महँगोमा हुने गरेको तर सञ्चालन र टिकाउमा भने लापरबाही व्याप्त रहेकोप्रति कटाक्ष गर्दै मन्त्री यादवले अबका दिनमा त्यसो हुन नदिइने बताए ।
‘उपकरण किन्नु ठूलो कुरा होइन, सदुपयोग गर्नु ठूलो कुरा हो, उपकरणको दुरुपयोगजस्तो अलोकप्रिय काम गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ,’ यादवले भने, ‘यस्ता प्रवृत्तिको नियन्त्रण भएन भने हामीले बाध्य भएर अर्को विकल्प खोज्नुपर्ने हुन्छ ।’
सरकारी सेवामा रहेका प्राविधिकले उपकरण चलाउन नसक्ने र बिगार्न मात्रै जान्ने हो भने निजी पार्टनरसिपमा लाने र सरकारले रेट तोकेबमोजिम सेवा प्रदान हुने उनले बताए । ‘कुनै उपकरण सरकारी अस्पतालमा चाहिँ बिग्रिहाल्ने र निजीमा राम्रो छ भनेर पठाउनचाहिँ सक्ने ? यस्तो धन्दा अब म चल्न दिन्नँ,’ मन्त्री यादवले भने, ‘जनताको पसिनाले कर तिरेको पैसाले हाम्रा संस्था सञ्चालन हुने गर्छन्, त्यसको सम्मान गर्न सिकौँ ।’
निजी अस्पतालमा किनेको मेसिन वषौँसम्म चल्ने र उनीहरुले सस्तो दरमा किन्न सक्ने तर सरकारी अस्पतालमा निजीले किन्ने रेटमा किन नसक्नुको कारणबारे मन्त्री यादवले प्रश्न गरे ।
वीरलाई अनुसन्धान सेन्टरका रुपमा विकास
वीरले राम्रो सेवा तथा शिक्षा प्रदान गर्दै आएकाले अब अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने मन्त्री यादवले बताए । ‘स्वास्थ्य क्षेत्रमा जनशक्ति कम भएको भन्दै मन्त्री यादवले अब छिट्टै ओएनएम सर्वे गर्नेतर्फ मन्त्रालय सक्रिय भएको छ,’ मन्त्री यादवले भने, ‘ओएनएम सर्वे २०५० सालमा भएको थियो, त्यसवेलादेखि आजसम्म भएको छैन । ०५० को देशको जनसंख्या जति थियो, अहिले त्यसको दोब्बरभन्दा बढी भएको खण्डमा पनि त्यही जनशक्तिले स्वास्थ्यसेवा प्रदान भइरहेको छ ।’ सरकारले केही दिनमा स्वास्थ्यको समायोजन सक्नेबित्तिकै ओएनएम सर्वे गर्नेतर्फ क्रियाशीलता बढाउने मन्त्री यादवको भनाइ थियो ।