आइओएमले मनायो ४७औँ वार्षिकोत्सव, शिक्षण अस्पताल ३७औँ वर्षमा, यस्तो छ प्रगतिविवरण

हेल्थपोस्ट नेपाल

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले आइतबार स्थापनाको ४७औँ वार्षिकोत्सव मनाएको छ । सँगसँगै त्रिवि शिक्षण अस्पताल ३७औँ वर्षमा प्रवेश गरेको छ । आइतबार चिकित्सा क्याम्पसको वेसिक साइन्स भवनमा आयोजित समारोहका बीच दुवैले वार्षिकोत्सव मनाइरहँदा आ–आफ्ना उल्लेखनीय कार्यप्रगतिको विवरण सार्वजनिक गरे ।

वार्षिकोत्सव समारोहमा त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिविको नेतृत्व सम्हाल्दा आफू निकै खुसी भएको बताए । उनले आफ्नो उपकुलपति यात्रा मध्यतिर केही उतर–चढाव र तनावपूर्ण भएको तर आफ्नो कार्यावधि सकिनै लाग्दा धरानको उपकुलपतिको जस्तो हविगत नहोस् भनेर अवतरणको बाटोमा रहेको बताए । उनले सरकारले भिसीहरूलाई अप्ठ्यारोमा पार्ने गरेको गुनासो गरे । ‘के कुराको तारतम्य नमिलेको हो, यकिन हुन नसेन,’ खनियाँले भने । बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार मन्त्रीसित साँठगाँठ नमिल्दा हटाइएका थिए भने सर्वोच्चबाट पुनर्बहाली भएका रौनियार केही साताअघि घुससहित अख्तियारको फन्दामा परेका थिए ।

‘शिक्षण अस्पतालको वार्षिकोत्सव मनाउँदा जेजति कुरा भएका छन्, प्रतिवेदनमा उल्लेख भएका कुराहरू भएका छन्,’ खनियाँले भने, ‘तपाईंले गरेको परिश्रमसँग जोडिएर बौद्धिक क्षमतालाई सम्मान गर्दै तपाईंहरूले मनाएको खुसी साट्न पाउनु खुसीको कुरा हो ।’

चिकित्साशास्त्र अध्ययन संस्थानको प्रतिवेदन प्रस्तुत गर्दै डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले संस्था सुरुवातको चरणमा महाराजगन्ज मेडिकल क्याम्पसमा स्नातक तहका सीमित कार्यक्रमहरूमा वार्षिक ३० देखि ४० जना विद्यार्थी भर्ना गराई अध्यापन गराउँदै आएकोमा हाल स्नातक तहका विभिन्न कार्यक्रममा वार्षिक १ सय ४० देखि ५० जना, स्नातकोत्तर तहमा १ सयभन्दा बढी र विद्यावारिधिका विभिन्न कार्यक्रममा वार्षिक २० जना विद्यार्थीलाई अध्यापन तथा तालिमको व्यवस्था गर्दै आएको जानकारी दिए ।

डा. अग्रवालले चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरूको आर्थिक वर्ष ०७४÷७५ का विभिन्न शैक्षिक कार्यक्रममध्ये स्नातकोत्तर तहमा २ सय ४४, स्नातक तहमा १ हजार १ सय ४२ र प्रमाणपत्र तह (पिसिएल नर्सिङ) कार्यक्रममा २ सय ८३ विद्यार्थी उत्तीर्ण भएको प्रतिवेदन प्रस्तुत गरे ।

त्यसैगरी, संस्थानअन्तर्गतका सम्पूर्ण अस्पताल, केन्द्र, क्याम्पस कार्यालयका कार्ययोजनाको कार्यपत्र पनि प्रा. अग्रवालले प्रस्तुत गरेका थिए, जसमा मुख्य रूपमा उपयुक्त स्थानको खोजी गरी फ्याकल्टी तथा कर्मचारीका लागि आवासीय भवन निर्माण गर्ने लक्ष्य राखेको छ । काठमाडौंबाहिर रहेका वीरगन्ज नर्सिङ क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पसमध्ये प्रथम चरणमा पोखरा नर्सिङ क्याम्पसमा १ सय शय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम छ । प्रथम चरणको लागत अनुमान तयार गर्ने कार्य सम्पन्न भइसकेको र अन्य क्याम्पसमा पनि क्रमशः विस्तार गरिने योजना छ । त्यसैगरी, केन्द्रीय जनस्वास्थ्य विभागको स्थापना गरी जनस्वास्थ्य विषयमा स्नातकोत्तर तथा विद्यावारिधि तहको कार्यक्रम सञ्चालन गर्नेलगायत अन्य कार्यक्रमको स्तरोन्नति गर्न त्रिवि कीर्तिपुरमा निर्मित बेसिक साइन्स भवनको प्रयोग गर्ने उल्लेख छ ।

डा. अग्रवालले ०७६÷७७ का लागि कार्यालयले विकास कार्यक्रमका लागि ७३ करोड ७० लाख प्रस्ताव गरेको बताए । त्यसैगरी, डिन कार्यालयले नियमिततर्फ ३ करोड २५ लाख, ३८ हजार ३ सय ८८ र आन्तरिक स्रोततर्फ १२ करोड २१ लाख ८९ हजार ३ सय ५५ रूपैयाँ प्रस्ताव गरेको जानकारी उनले दिए ।

अस्पतालमा सबैखाले बिरामीको चाप बढ्दै
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गरेको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले सुरुवातको चरणमा ३ सय १ बेड क्षमताबाट सुरु भएको शिक्षण अस्पताल हाल करिब ७ सय बेड क्षमतामा सञ्चालन भइरहेको र अस्पतालमा नियमित उपचार गराउन आउने बिरामीको संख्या वृद्धि हुँदै गएको बताए । डा. खड्काको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४÷७५ मा उपचार गराउन आउने बिरामीको संख्या ओपिडीतर्फ ५ लाख ८ हजार ३ सय ३१ रहेकोमा आर्थिक वर्ष ०७५÷७६ मा ५ लाख २५ हजार ५ सय ११ ले सेवा लिएका छन् । अस्पतालमा भर्ना भई उपचार गराउने बिरामीको संख्या आर्थिक वर्ष ०७४÷७५ मा २५ हजार १२ रहेकोमा आर्थिक वर्ष ०७५÷७६ मा वृद्धि भई २५ हजार ८ सय ४५ पुगेको छ । त्यसैगरी, इमर्जेन्सीमा आउने बिरामी संख्या ०७४÷७५ मा ४८ हजार ८ सय ५७ बाट ०७५÷७६ मा ५० हजार ३ सय ६९ पुगेको डा. खड्काले जानकारी दिए ।

फार्मेसीको आम्दानी पनि बढ्यो
अस्पतालको फार्मेसीबाट आर्थिक वर्ष ०७४÷७५ मा १४ करोड ३० लाख ७५ हजार मुल्यबराबरको औषधि विक्री भएकोमा फार्मेसी सेवालाई सुधार गर्दै आर्थिक वर्ष ०७५÷७६ मा १९ करोड ७६ लाख ११ हजारको औषधि विक्री गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

चालू आव ०७६÷७७ मा अस्पतालमा ६८ लाख ८९ हजार ३ सय ५५ घाटा हुने अनुमान
चालू आर्थिक वर्ष ०७६÷७७ को अनुमानित आर्थिक विवरणमा आम्दानीतर्फ २ अर्ब १८ करोड ५६ लाख २२ हजार ९ सय ९४ प्रक्षेपण गरिएको छ भने खर्चतर्फ २ अर्ब १९ करोड, २५ लाख, १२ हजार ३५ हुने अनुमान गरिएको छ । जसअनुसार ६८ लाख ८९ हजार ३ सय ५५ घाटा हुने देखिएको डा. खड्काले बताए ।

महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य
अस्पतालले एक दशकदेखि मिर्गौला प्रत्यारोपणलाई सफलतापूर्वक निरन्तरता दिँदै आएको छ भने ०७६ सालमा पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालको भौतिक एवं प्रविधिक क्षमतालाई मध्यनजर गरी महिनामा एउटा बिरामीमा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ ।
वार्षिकोत्सवमा ०७२ सालपछि अस्पतालबाट अवकाश भएका कर्मचारीलाई सम्मान गरियो ।



Leave a Reply

Your email address will not be published.