बाढीको चपेटामा स्वास्थ्य : प्रदेश २ का ६ स्वास्थ्यसंस्था डुबानमा, पाल्पामा झाडापखाला

हेल्थपोस्ट नेपाल

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण हालसम्म ६० जनाको मुत्यु भइसकेको छ भने ४५ जनाभन्दा बढी बेपत्ता छन् ।

बाढी–पहिरोका कारण प्रदूषित पानी तथा खाद्यान्नको सेवन, अस्वस्थकर खानपान तथा बसोवासका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष समस्या पर्दै गएको छ । बाढी प्रभावित ठाउँका स्वास्थ्य कार्यालय तथा स्वास्थ्यसंस्था डुबानमा पर्दा औषधि पनि नष्ट भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आपत्कालीन तथा विपद्व्यवस्थापन एकाइका प्रमुख चूडामणि भण्डारीले प्रदेश २ का प्रदेश स्वास्थ्य कार्यालयसहित स्वास्थ्यसंस्थाहरूसमेत डुबानमा परेको बताए । प्रदेश २ मा सप्तरीमा २, रौतहटमा २ र महोत्तरीमा १ गरी ५ वटा स्वास्थ्यसंस्था डुबानमा परेका छन् भने स्वास्थ्य कार्यालय पूर्णतः डुबानमा छ । उनले भने, ‘अविरल वर्षाका कारण सम्पर्क हुन सकेको छैन, स्वास्थ्य कार्यालयमा भएका औषधि पनि डुबानमा परेका छन् ।’

आइतबार मन्त्रालयमा बसेको स्वास्थ्य विषयगत क्षेत्रको बैठकले पैथलिया, बर्दिवास र लहानमा मेडिकल अधिकृतको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाउने निर्णय गरेको भण्डारीले जानकारी दिए ।

डुबानमा परेका स्वास्थ्यसंस्थामा औषधि कसरी व्यवस्थापन गर्ने र स्वास्थ्यसंस्था कसरी सञ्चालनमा ल्याउने भनेर प्रदेश स्वस्थ्य कार्यालयहरूसँग समन्वय र छलफल भइरहेको एकाइ प्रमुख भण्डारी बताउँछन् । उनका अनुसार अविरल वर्षाका कारण रोग तथा महामारी फैलन नदिन केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म संयन्त्र बनाइएका छन् । विपद्व्यवस्थापनका लागि सबै बजेट प्रदेश तथा स्थानीय तहमा गएको छ । ‘वर्षापछि निम्तन सक्ने रोग तथा महामारी नियन्त्रणका लागि प्रदेश तथा स्थानीय तहमा बजेट तथा जनशक्ति उपलब्ध छन्,’ उनले भने, ‘प्रदेश तथा स्थानीय तहले नसकेको अवस्थामा भने केन्द्र सरकारले समन्वयको भूमिका निर्वाह गर्छ ।’

मन्त्रालयले स्थापना गर्यो ३ समन्वय केन्द्र, सोमबारबाटै टोली खटिने
प्रदेश २ लाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले बाढीप्रभावित ३ स्थानमा समन्वय केन्द्रको स्थापना गर्ने भएको छ । आइतबार मन्त्रालयमा बसेको स्वास्थ्य विषयगत क्षेत्रको बैठकले पैथलिया, बर्दिवास र लहानमा मेडिकल अधिकृतको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाउने निर्णय गरेको भण्डारीले जानकारी दिए । टोली सोमबारबाटै तोकिएको क्षेत्रमा खटिने उनको भनाइ छ ।

सर्पको बिगबिगीले थपिँदै जोखिम
बाढी र डुबानको कहर झेलिरहेका तराईवासीमा वर्षासँगै सलबलाउन थालेका सर्पको जोखिम थपिएको छ । वर्षा र डुबानसँगै सर्पहरू यत्रतत्र निस्कन थालेपछि तिनको टोकाइबाट बच्ने चुनौती थपिएको हो । सर्पबाट बच्न उच्च सतर्कता अपनाउन सरकारले बाढीप्रभावितलाई भनेको छ ।
‘अविरल वर्षाका कारण धेरै ठाउँमा सर्पहरू बाहिर निस्कन थालेका छन्,’ भण्डारी भन्छन्, ‘वर्षाका कारण सर्पको बिगबिगी बढ्न थालेको छ, जसले गर्दा उच्च सतर्कता अपाउनुपर्छ ।’

‘यस्तो वेलामा सरुवारोगको जाखिम उच्च हुने गर्छ र कीटजन्य रोग पनि देखापर्न सक्छ,’ डा. पुनले भने । वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका तथा दीर्घरोग भएका मानिसमा बढी समस्या उत्पन्न हुने भएका कारण उनीहरूले बढी सतर्कता अपनाउनुपर्ने पुन बताउँछन् ।

पाल्पामा झाडापखालाको प्रकोप
वर्षाकै कारण पहाडी जिल्ला पाल्पामा झाडापखालाको प्रकोप देखिएको छ । अविरल वर्षासँगै पहाडमा बाढी–पहिरो र तराईमा डुबान र कटानले प्रतिवर्ष जनजीवन त्राहि–त्राहि बनाउँदै आएको छ । यसका अतिरिक्त वर्षाकै कारण पाल्पामा २५ असारदेखि झाडापखालाको प्रकोप फैलिएको भण्डारीले जानकारी दिए । उनले भने, ‘झाडापखालाका कारण झाडापखाला फैलिएपछि ७० जनाको उपचार गरिएको छ, समयमा उपचार गरिएका कारण अवस्था सामान्य छ ।’

बाढीका कारण पानीजन्य रोगहरू टाइफाइड, जन्डिसको संक्रमण : डा. पुन
बाढीग्रस्त क्षेत्रमा दूषित पानीका कारण पानीजन्य रोगहरूको संक्रमणको सम्भावना बढ्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । संक्रमणबाट बच्न पानी उमालेर पिउनुपर्ने सुझाब उनको छ । डा. पुनले भने, ‘पानीजन्य रोगका कारण टाइफाइड तथा जन्डिसको संक्रमण बढी हुने गर्छ । यस्ता रोगबाट बच्च पानीमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

हाल तराईका अधिकांश जिल्लाहरू डुबानमा छन् । यसका कारण झाडापखाला, आउँ, हैजा, टाइफाइड, जिन्डिस, फुड प्वाइजनिङलगायत रोग फैलिन सक्ने खतरा रहेको डा. पुनको भनाइ छ । ‘यस्तो वेलामा सरुवारोगको जाखिम उच्च हुने गर्छ र कीटजन्य रोग पनि देखापर्न सक्छ,’ डा. पुनले भने । वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका तथा दीर्घरोग भएका मानिसमा बढी समस्या उत्पन्न हुने भएका कारण उनीहरूले बढी सतर्कता अपनाउनुपर्ने पुन बताउँछन् ।

बच्ने उपाय
– शुद्ध पानी मात्रै पिउने, पानी धमिलो भएमा पियुस हालेर वा उमालेर मात्र पिउने ।
– शौचालयमा मात्र दिसा–पिसाब गर्ने ।
– खाना खानुअगाडि साबुनपानीले राम्ररी हात धुने ।
– भिड तथा हुलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने ।
– टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुनेलगायत विभिन्न रोगको लक्षण देखिए वा संक्रमण देखिए तुरुन्तै नजिकैको स्वास्थ्यचौकीमा गएर जँचाइहाल्ने ।



Leave a Reply

Your email address will not be published.