प्रधानमन्त्रीबाट प्रसूतिगृहको पुनर्निर्मित भवन उद्घाटन, ५४% स्वास्थ्यसंस्थाको पुनर्निर्माण सम्पन्न
प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवनको उद्घाटन गरेका छन् । शुक्रबार बिहान अस्पतालमा आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरेका हुन् ।
जापानी सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा करिब १५ महिना समय लगाएर निर्माण सम्पन्न गरिएको उक्त भवनबाट एक साताअघि नै सेवा सुरु भइसकेको छ । भवनको औपचारिक उद्घाटन भने सेवा सुरु गरेको एक सातापछि मात्र गरिएको हो । भवन निर्माणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।
उद्घाटनपछि प्रधानमन्त्री ओलीले जापान सरकारलाई धन्यवाद दिँदै प्रसूतिगृहको नयाँ भवन निर्माण सम्पन्न भएको प्रति खुसी व्यक्त गरे । १२ वैशाख ०७२ को महाविनाशकारी भूकम्पले क्षति पुर्याएका संरचनाको पुननिर्माणसँगै नयाँ–नयाँ काम गरेर अगाडि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रसूतिगृहको भवन निर्माण भूकम्पपछिको पुनर्निर्माणको एक उदाहरणीय काम हो ।’
भवन मात्रै नयाँ नभएर अस्पतालले अत्याधुनिक सेवा पनि प्रदान गर्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले अस्पतालको पार्किङको स्तरोन्नति तथा अस्पतालको पारिपट्टि रहेको जग्गाका विषयमा पनि सरकारको ध्यानाकर्षण भएको बताए ।
वीरको नवनिर्मित भवनको पनि शुक्रबार नै उद्घाटन
यसैबीच, शुक्रबार नै वीर अस्पतालको नवनिर्मित भवनको पनि उद्घाटन गरिएको छ । जाइकाकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको वीरको नयाँ भवनको उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन् ।
काठमाडौंबाहिर पनि प्रसूति अस्पताल आवश्यक : स्वास्थ्यमन्त्री यादव
प्रसूतिगृहको भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौंबाहिर पनि अत्याधुनिक सेवायुक्त प्रसूति अस्पताल आवश्यक रहेको बताए । उनले नयाँ भवन निर्माणसँगै प्रसूतिगृह मुलुककै एक सुविधासम्पन्न अस्पताल बनेको बताए । स्वास्थ्यमन्त्री यादवले यस्तो अत्याधुनिक प्रविधिसम्पन्न अस्पताल काठमाडौंबाहिर पनि आवश्यक रहेको बताए ।
प्रसूतिगृहको भवन उद्घाटन कार्यक्रमलगत्तै मन्त्री यादव वीरको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका थिए ।
विश्वमा सबैभन्दा बढी डेलिभरी गराउने अस्पतालमा प्रसूतिगृह, यस वर्ष २७ हजार डेलिभरी
उद्घाटन कार्यक्रममा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले प्रसूतिगृहमा एक पैसा पनि खर्च गर्न नसक्ने बिरामीले पनि उपचार सेवा नपाएर फर्किनुनपर्ने बताए । निर्देशक गौतमले विश्वमा सबैभन्दा बढी डेलिभरी गराउने अस्पतालमा प्रसूतिगृह पनि पर्ने जानकारी गराए ।
‘विश्वमा सबैभन्दा बढी डेलिभरी गराउने अस्पतालमध्ये प्रसूतिगृह पनि एक हो,’ उनले भने, ‘यस वर्ष मात्रै अस्पतालले २७ हजारको प्रसूति गरायो ।’ प्रसूतिगृहमा सबै डेलिभरी निःशुल्क हुने बताउँदै निर्देशक गौतमले भने, ‘यहाँ कसैले पनि उपचार गर्न नसकेर फर्किनुपर्ने अवस्था छैन ।’ ४ सय शय्याको अस्पताल भूकम्पपछि ३ सय ५० शैय्यामा झरेपछि निम्तिएका समस्याका बाबजुद पनि प्रसूतिगृहले उत्कृष्ट सेवा दिइरहेको निर्देशक गौतमले दाबी गरे ।
नयाँ भवनमा यस्ता छन् सेवा–सुविधा
अस्पतालको नवनिर्मित भवनमा नयाँ भवनमा २४ शय्याको आकस्मिककक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी रुम, नर्सको निगरानीमा हुने बर्थिङ सेन्टर, दुईवटा शल्यक्रियाकक्ष, पोस्टअपरेटिभ वार्ड, १२ शय्याको आमाका लागि आइसियू, ४० शय्याको बच्चाका लागि आइसियूलगायत सेवा सञ्चालनमा छन् ।
अन्तर्राष्ट्रिय दातृनिकायको सहयोगमा ६४३ स्वास्थ्यसंस्थाको पुनर्निर्माण, ५४% को पुनर्निर्माण सम्पन्न
०७२ को महाभूकम्पका कारण स्वास्थ्यसंस्थाहरूको भवन नराम्ररी क्षतिग्रस्त भएका थिए । कुल १ हजार १ सय ९७ स्वास्थ्यसंस्थाका भौतिक संरचनामा क्षति पुगेकोमा अन्तार्राष्ट्रिय दातृनिकाय तथा दातृराष्ट्रको सहयोगमा ६ सय ४३ स्वास्थ्यसंस्थाको पुनर्निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
हालसम्म लगभग ५४ प्रतिशत स्वास्थ्यसंस्थाको पुननिर्माण सम्पन्न भइसकेको बताउँदै उनले सबै स्वास्थ्यसंस्थाको पुनर्निर्माणको काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले प्रसूतिगृहको भवन निर्माण पनि एउटा उपलब्धिमूलक काम भएको बताए । साथै, प्रसूतिगृहको नयाँ भवनमा आधुनिक उपकरण पनि जडान गरिएको समेत ज्ञवालीले जानकारी दिए ।
‘भूकम्पले क्षति पुर्याउनुअघिको भन्दा पनि राम्रो र बलियो ढंगबाट स्वास्थ्यसंस्थाहरूको पुनर्निर्माण गरिनेछ,’ उनले भने । १० वटा स्वास्थ्यसंस्थाको पुनर्निर्माण कार्य भने अब अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।