स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा. प्याकुरेल, व्यापक जिम्मेवारी हेरफेर हुँदा क–कसले कहाँ–कहाँको पाए नेतृत्व ?

हेल्थपोस्ट नेपाल

स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा. सुशीलनाथ प्याकुरेल नियुक्त भएका छन् । कर्मचारी समायोजनपछि पदस्थापनका क्रममा जिम्मेवारीमा व्यापक हेरफेर गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिका निमित्त महानिर्देश डा. गुणराज लोहनीलाई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा सरुवा गरी मन्त्रालयमा प्रमुख विशेषज्ञका रूपमा कार्यरत डा. प्याकुरेललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।१२ औं तहकै व्यक्ति महानिर्देशक हुनुपर्ने व्यवस्था भएपछि लामो समयपछि विभागले बल्ल पूर्ण महानिर्देशक पाएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाईँले समायोजन भएर आएका चिकित्सकहरुको पदस्थापन गरिएको पुष्टि गरे ।

औषधि व्यवस्था विभागमा क्षेत्री
मन्त्रालयका अनुसार अन्य विभाग तथा कार्यालयहरुको पनि जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ । मन्त्रालयले औषधि व्यवस्था विभागमा निमित्त महानिर्देशकको जिम्मेवारी पानबहादुर क्षेत्रीलाई दिएको छ । यसअघिका महानिर्देशक नारायणप्रसाद ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखका रूपमा सरुवा गरिएको छ ।

क्षयरोग केन्द्रमा डा. भण्डारी, परिवारकल्याणमा डा. तिंकरी
यसैगरी, राष्ट्रिय क्षयरोग केन्द्रको जिम्मेवारी डा. सागरराज भण्डारीलाई दिइएको छ । भण्डारी यसअघि धवलागिरि अञ्चल अस्पतालमा मेसुका रूपमा कार्यरत थिए । यसअघि केन्द्रमा निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. भीमसिंह तिंकरीलाई विभागअन्तर्गतको परिवारकल्याण महाशाखाको निर्देशक बनाइएको छ । यसअघि परिवार कल्याणको नेतृत्वमा डा. आरपी विच्छा थियो । हाल उनले कान्ति बाल अस्पतालको नेतृत्व पाएका छन् । यसअघि कान्तिको निर्देशकको जिम्मेवारीमा डा. गणेश राई थिए ।

अन्य कहाँ–कहाँ क–कसले पाए जिम्मेवारी ?
मन्त्रालयका अनुसार सार्क क्षयरोग केन्द्रको निर्देशकमा डा. रमेश खरेलले जिम्मेवारी पाएका छन् । त्यस्तै, मोहमद दाउदले तालिम केन्द्रको जिम्मेवारी पाएका छन् । भोगेन्द्र डोटेललाई व्यवस्थापन महाशाखाको जिम्मेवारीमा ल्याइएको छ । यसअघि डोटेल प्रदेश १ को स्वास्थ्य निर्देशकको जिम्मेवारीमा थिए । त्यसैगरी, नरदेवी आयुर्वेद अस्पतालको नेतृत्व भने डा. प्रदीप केसीले पाएका छन् ।

पदस्थापनमा यी ४ को पुरानै जिम्मेवारी यथावत्
मन्त्रालयले डा. वासुदेव उपाध्यायलाई भने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा यथावत् राखेको छ । त्यसैगरी, मन्त्रालयका सहसचिवहरु डा. दीपेन्द्ररमण सिंह, महेन्द्रप्रसाद श्रेष्ठ, डा. विकास देवकोटालाई भने यथास्थानमा पदस्थापन गरिएको छ । श्रेष्ठले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । मन्त्रालयका अनुसार सूचना तथा अन्य केही मेसुको जिम्मेवारी पनि हेरफेर भएको छ ।



Leave a Reply

Your email address will not be published.