चर्को गर्मी र विद्युत् अनियमितताले बाँकेवासी आक्रान्त, अस्पतालमा बिरामीको घुइँचो

हेल्थपोस्ट नेपाल

चिसो मौसममा अति जाडो र गर्मीमा भीषण गर्मी हुने बाँकेका बासिन्दा यतिखेर तातो हावा र चर्को गर्मीले आक्रान्त बनेका छन् । मुलुककै बढी गर्मी हुने बाँकेमा अहिले गर्मीको सकस झेल्न स्थानीयलाई हम्मे–हम्मे परेको छ ।

चर्काे गर्मीका कारण घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था नभएका वेला विद्युत् अनियमितताले झन् समस्या थपिदिएको बाँकेवासीको गुनासो छ । चर्को गर्मीमा विद्युत मात्रै नियमित भइदिने हो भने धेरै राहत हुने नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्राका शिवप्रसाद पाठकको भनाइ छ ।

विद्युत् नियमितताका लागि पहल पनि भइरहेको छ । तर, चर्को गर्मीका वेला विद्युत् अनियमितता झन् बढ्दै गएको प्रति पाठकमा आक्रोश देखिन्छ । प्रत्येक वर्ष गर्मीमा हुने विद्युत् आपूर्तिको अनियमितताको समस्या यस वर्ष पनि यथावत् छ ।

जुनसुकै स्थानमा मर्मत गर्नुपरे नेपालगन्ज वितरण केन्द्रले विद्युत् अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन । ‘विद्युत् किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन,’ नेपालगन्ज–५ फुल्टेक्राकी कल्पना त्रिपाठी भन्छिन्, ‘गर्मीमा प्राधिकरणले थप पीडा दिन्छ ।’ दिनभर चर्को गर्मी सहने नेपालगन्जवासी रातको समयमा अनियमित विद्युत्का कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन ।

वर्षा नहुँदासम्म यहाँको तापक्रम घट्ने सम्भावना देखिँदैन । विद्युत् नियमित नहुँदा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । दिनहुँ घण्टौँसम्म बिजुली हुँदैन । लोडसेडिङ अन्त्य भएको भनिए पनि दैनिक तीन–चार घण्टा बत्ती गइरहेको छ ।

‘दिनभर गर्मीमा काम गर्छौं, विद्युत् गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन,’ डुडुवा गाउँपालिका–१ होलियाका अटोरिक्साचालक राजु मुराऊ भन्छन् । एक घण्टामा चार–पाँचपटकसम्म विद्युत् काटिने गरेको फुल्टेक्राकै मदन शर्मा बताउँछन् । ‘कम्तीमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो,’ उनी भन्छन् । पूर्वसूचनाविना हुने विद्युत् अनियमितताले मेसिनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् ।

‘चलिरहेको मेसिन एक्कासि पटक–पटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ,’ नेपालगन्ज–८ का रमेश गुप्ता भन्छन् । लोडसेडिङको विकल्पमा जेनेरेटर र इनभर्टर जडान गरिए पनि लामो समय विद्युत् अवरुद्ध हुँदा ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने गुप्ताकोे गुनासो छ । विद्युत् अनियमितताले होटेलव्यवसायीको पनि लागत बढ्दै गएको हो ।

जेनेरेटको प्रयोग गर्दा आउने लागतका कारण अनावश्यक नोक्सानी बेहोर्नुपरिरहेको होटेलव्यवसायीको भनाइ छ । नेपालगन्जका लागि भारत र नेपाल दुवैतर्फबाट विद्युत् आपूर्ति हुने गरेको छ । गर्मीमा नेपालगन्जमा २४ एमभिएसम्मको विद्युत् माग हुने गरेको छ, जसमा १२ एमभिएसम्मको विद्युत् भारतबाट प्राप्त हुने गरेको छ । ह्वात्तै बढ्ने माग र आपूर्तिको कमीले विद्युत् अनियमित हुने गर्छ ।

वर्षा नहुँदासम्म यहाँको तापक्रम घट्ने सम्भावना देखिँदैन । विद्युत् नियमित नहुँदा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । दिनहुँ घण्टौँसम्म बिजुली हुँदैन । लोडसेडिङ अन्त्य भएको भनिए पनि दैनिक तीन–चार घण्टा बत्ती गइरहेको छ । गर्मीमा यहाँको औसतमा तापक्रम ४२–४३ डिग्री सेल्सियसआसपास नै हुन्छ । छिटफुट पानी परे पनि वर्षा भएको छैन, स्थानीयवासी गर्मीले आक्रान्त छन् ।

गर्मी बढेसँगै खरबुजा, काँक्रा, उखुको रस, लस्सीलगायत पेयपदार्थको व्यापार फस्टाएको छ । गर्मीका कारण आवश्यक कामबाहेक मध्य दिउँसो सडकमा मानिसको चहलपहल पातलिएको छ । बाहिर हिँड्दा गर्मी र त्यसमा पनि ‘लु’ चल्ने भएपछि सडकमा मानिसको आवत–जावत कम भएको छ । दैनिक मजदुरी गरेर खानेहरूका लागि गर्मीयाम निकै कष्टकर बन्न पुगेको छ । प्रायः युवायुवती गर्मी छल्न विभिन्न पार्क, हरियाली स्थानमा पुग्ने गरेका छन् ।

यस्तै अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ । अन्य मौसमको तुलनामा गर्मी मौसममा ५० प्रतिशतले बिरामीको संख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन् । गर्मीसँगै हावाहुरी र धुलो, सडकपेटी तथा फुटपाथको खाना र फोहोर पानीका कारण बिरामीको संख्या बढ्दै गएको चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै बिरामीको चाप पनि बढ्दै गएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

‘तीमध्ये अधिकांश भाइरल र टाइफाइडका छन्,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रूपानन्द अधिकारीले भने, ‘भर्ना भएका बिरामीमा पनि आधाभन्दा बढी भाइरल ज्वरो र टाइफाइडकै छन् ।’ उनका अनुसार बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत प्रभावित भएका छन् ।

भाइरल, झाडापखाला, रुघाखोकी, पिसाबको संक्रमण, जलवियोजनलगायत बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक प्रकाश गुप्ताले गर्मीसँगै वर्षायाम सुरु हुन लागेकाले सवाधानी नअपनाइए मलेरिया, डेंगुजस्ता रोगले प्रभावित पार्न सक्ने बताए । ओपिडी सेवाका लागि मात्र दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

बाँकेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, वैष्णवी, वेस्टर्न अस्पताललगायत दर्जनभन्दा बढी अस्पताल तथा निजी क्लिनिकमा पनि बिरामीको चाप उस्तै छ । चिकित्सकका अनुसार बाटो तथा फुटपाथको खाजा–नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर पिउने, दिसा–पिसाब गरिसकेपछि साबुनपानीले हात धुने, सफा–सुग्घर गर्ने बानीको विकास गरेमा बिरामी हुनबाट जोगिन सकिन्छ ।

नेपालगन्जका अस्पतालमा प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै भारतका विभिन्न स्थानबाट पनि दैनिक बिरामी उपचारका लागि आउने गरेका छन् । ‘तीमध्ये अधिकांश भाइरल र टाइफाइडका छन्,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रूपानन्द अधिकारीले भने, ‘भर्ना भएका बिरामीमा पनि आधाभन्दा बढी भाइरल ज्वरो र टाइफाइडकै छन् ।’ उनका अनुसार बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत प्रभावित भएका छन् ।

गम्भीर प्रकृतिका बिरामी नभए पनि ओपिडीमा देखाएर घर जाने बिरामीको संख्या धेरै रहेको डा. अधिकारीको भनाइ छ । गर्मी बढ्दै जानु र पानी नपरेका कारण बिरामीको चाप बढेको हो । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नुलगायत कारण बिरामीको चाप बढेको डा. अधिकारीले बताए । गर्मीमा पूरै शरीर ढाक्ने गरी लुगा लगाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन चिकित्सकको सुझाब छ ।



Leave a Reply

Your email address will not be published.