१० कर्मचारीले ८ महिना काम गरिसके, तर बिपी क्यान्सर अस्पतालको फार्मेसी अझै सञ्चालनमा आउन सकेन
चैत महिनाभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने गरी तयारी गरेको चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अझै पनि फार्मेसी सञ्चालनमा ल्याउन सकेको छैन । विद्युतीय माध्यमबाट भुक्तानीसेवा, औषधिको खरिद प्रक्रियालगायतको तयारी पूरा नभएका कारण समयमा फार्मेसी सञ्चालनमा ल्याउन नसकिएको अस्पतालको भनाइ छ ।
फार्मेसी सञ्चालनका लागि गत कात्तिकमै १० जना कर्मचारी नियुक्त भएका थिए । तर, कर्मचारी नियुक्तिको ८ महिना पुगिसक्दा पनि फार्मेसी सञ्चालनमा आउन नसक्दा उद्देश्यअनुरूप बिरामी सुलभ मूल्यमा गुणस्तरीय औषधि पाउनबाट वञ्चित भएका छन् । अस्पतालले फार्मेसी सञ्चालनका लागि अधिकृतस्तरका २ र अन्य ८ कर्मचारी नियुक्त गरेको छ ।
राष्ट्रिय नीति तथा अस्पताल फार्मेसी निर्देशिका २०७० अनुसार प्रत्येक अस्पतालले अनिवार्य रूपमा आफ्नै फार्मेसी सञ्चलन गर्नुपर्ने व्यवस्था छ । अस्पतालहरूले व्यापारिक रूपमा भाडामा फार्मेसी सञ्चालन गर्न दिँदा तथा अस्पतालआसपास भाडामा सञ्चालित फार्मेसीमा निर्भर रहँदा सर्वसाधारणले महँगो मूल्यमा औषधि किन्नुपरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ कात्तिक ०७० मा प्रत्येक अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने निर्णय गरेको थियो ।
फार्मेसीका लागि कात्तिकदेखि नियुक्त कर्मचारीले विद्युतीय माध्यमबाट भुक्तानीसेवा, औषधिको खरिदप्रक्रिया, अन्य फार्मेसीको अवलोकन, औषधि विक्रीलगायत प्रक्रियाबारे जानकारी लिएको अस्पतालले जानाएको छ ।
फार्मेसीका लागि कात्तिकदेखि नियुक्त कर्मचारीले विद्युतीय माध्यमबाट भुक्तानीसेवा, औषधिको खरिदप्रक्रिया, अन्य फार्मेसीको अवलोकन, औषधि विक्रीलगायत प्रक्रियाबारे जानकारी लिएको अस्पतालले जानाएको छ ।
स्वास्थ्य मन्त्रालयले फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले औषधि खरिद गरिसकेको छ । करिब १३ करोडबराबरको औषधि खरिद भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार अहिले एक हजार प्रकारका औषधि खरिद गरिएको छ । अस्पतालमा आउने बिरामीले महँगो केमोबाट आफू ठगिएको गुनासो गर्दै आएका छन् । क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आएपछि बिरामी निकै लाभान्वित हुने निर्देशक डा. आचार्यले बताए । अस्पतालको फार्मेसीमा ३० देखि ४० प्रतिशतसम्म सस्तोमा बिरामीले औषधि पाउने उनले जानकारी दिए ।
अस्पतालको फार्मेसी २४सै घण्टा सञ्चालनमा ल्याइने निर्देशक डा. आचार्यको भनाइ छ । अस्पतालले चैत पहिलो सातादेखि नै फार्मेसी सञ्चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारणले ढिलो हुन गएको उनले बताए । अस्पतालमा हाल साझाको फार्मेसीले औषधि विक्री गर्दै आएको छ ।