जायज ठहरिएका ७७४० गुनासामा समायोजन परिवर्तन गर्न प्राविधिक उपसमितिको सिफारिस, सचिवद्वारा तोकआदेश

हेल्थपोस्ट नेपाल

लामो समयदेखि सरकारको टाउकोदुखाइको विषय बनेको स्वास्थ्यसेवाका कर्मचारीको समायोजन प्रक्रियाले पूर्णता पाउने भएको छ । सोमबार गुनासो सुनुवाइ प्राविधिक उपसमितिले जायज गुनासाहरूमा समायोजन सच्याएर प्रक्रिया टुंग्याउन सामान्य प्रशासनसचिवसमक्ष सिफारिस गरेसँगै समायोजनले छिट्टै पूर्णता पाउने भएको हो । उपसमितिको सिफारिसमा सचिवले तोकादेश गरी प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।

उपसमितिले समायोजनमाथि परेका गुनासामध्ये ७ हजार ७ सय ४० गुनासालाई जायज ठहर गरी उनीहरूको समायोजन सच्याउन सिफारिस गरेको छ । समायोजनमा १३ हजारभन्दा बढी गुनासो दर्ता भएकोमा उपसमितिले गुनासोको प्रकृतिका आधारमा विभिन्न समूहमा विभाजन गरी अध्ययन तथा छानबिन गर्दा उल्लेखित संख्याका गुनासालाई जायज ठहर गरी संशोधनका लागि सिफारिस गरेको हो ।

संघीयता कार्यान्वयनका क्रममा समान्यले पुनःसंरचित संगठन संरचनाअनुसार गत चैत तथा वैशखमा विभिन्न चरणमा गरी स्वास्थ्यका करिब २७ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको थियो । सूची सार्वजनिक भएसँगै कर्मचारीले समायोजनमा व्यापक लापरबाही भएको भएको भन्दै सप्रमाण असन्तुष्टि जनाएका थिए । १३ वर्षअघि नै मृत्यु भइसकेका कर्मचारीको समेत समायोजन गरिएको लगायत विविध प्राविधिक तथा व्यावहारिक त्रुटि भएकाले राम्ररी अध्ययन गरेर मात्र समायोजन टुंग्याउन कर्मचारीका संघ–संगठनहरूले माग गरेका थिए । समायोजनमा अनेकन त्रुटिहरूसहित चौतर्फी असन्तुष्टि छताछुल्ल भएपछि सरकारले कर्मचरीलाई गुनासो दर्ता गराउन ५ वैशाखसम्मको समय दिएको थियो ।

यसबीचमा करिब १३ हजार गुनासा दर्ता भएकोमा मन्त्रालयले गुनासो सुनुवाइ प्राविधिक उपसमिति गठन गरी गुनासो अध्ययनको काम सुरु गरेको थियो । उपसमितिले गुनासोको प्रकृतिका आधारमा विभिन्न ९ समूहमा विभाजन गरी विस्तृत अध्ययन गरेको थियो भने यसका लागि डेढ दर्जन कर्मचारी खटिएका थिए । यसक्रममा कतिपय गुनासा केवल मनको वह पोख्नका लागि मात्र दर्ता गरिएका पनि भेटिएका थिए ।

उपसमितिले डेढ महिनाभन्दा बढीको कसरतपछि उल्लेखित संख्याका गुनासालाई जायज ठहर गरी उनीहरूको समायोजन परिवर्तनसहित समायोजनलाई अन्तिम रूप दिई कार्यान्वयनका लागि सचिवसमक्ष सिफारिस गरेको हो । उपसमितिको सिफारिसमा सोमबार नै सचिवले तोकआदेश गरी फाइल अघि बढाएकाले केही समयमै मन्त्रालयबाट समायोजनले पूर्णता पाउने बताइएको छ ।



Leave a Reply

Your email address will not be published.