वैदेशिक रोजगारीमा जानेको स्वास्थ्यपरीक्षणका लागि ५१ स्वास्थ्यसंस्थालाई अनुमति, निवेदक ७५ स्वास्थ्यसंस्था अयोग्य

हेल्थपोस्ट नेपाल

नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीको स्वास्थ्यपरीक्षणका लागि ५१ स्वास्थ्यसंस्थालाई अनुमति दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आह्वानमा १ सय २६ स्वास्थ्यसंस्थाले स्वास्थ्यपरीक्षका लागि सूचीकृत हुन निवेदन दिएकोमा मन्त्रालयले ५१ वटा स्वास्थ्यसंस्थालाई सूचीकृत गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपालीको स्वास्थ्यपरीक्षण प्रयोजनका लागि आफ्नो स्वास्थ्यसंस्थालाई नियमपूर्वक सूचीकृत गराउन १३ चैत ०७५ मा सार्वजनिक सूचना आह्वान गरेको थियो । यसक्रममा निवेदन दिएका स्वास्थ्यसंस्थामध्ये मन्त्रालयले ५१ वटा मापदण्ड पुगेका स्वास्थ्यसंस्थालाई मात्र योग्य ठहर गरी २४ जेठमा सूचीकरण गर्ने निर्णय गरेको हो ।

निवेदन दिएका स्वास्थ्यसंस्थाको मापदण्ड परीक्षणका लागि मन्त्रालयले विशेषज्ञसहितको अनुगमन टोली खटाएको थियो । अनुगमनका क्रममा तोकिएको जनशक्ति, उपकरण तथा सेवा उपलब्ध अस्पताललाई मात्र योग्य ठहर गरिएको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा निवेदन दिएका ७५ स्वास्थ्यसंस्थामा मापदण्ड पूरा भएको नपाइएको मन्त्रालयको भनाइ छ ।

यसअघि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरीक्षणमा व्यापक अनियमितता हुने, स्वास्थ्यपरीक्षण नै नगरी छाप लगाइदिने, चर्को शुल्क लिने तथा गैरचिकित्सकले चिकित्सकको छाप प्रयोग गरेर स्वास्थ्यपरीक्षणको कागज बनाइदिनेलगायत अनियमितता देखिएपछि सरकारले स्वास्थ्यसंस्था सूचीकृत गर्ने नीति लिएको थियो । मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्यपरीक्षण गर्ने स्वास्थ्यसंस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को व्यवस्थाअन्तर्गत स्वास्थ्यसंस्थाको सूचीकरण गरेको हो ।

हेर्नुहोस् सूचीकृत ५१ स्वास्थ्यसंस्थाको सूची



Leave a Reply

Your email address will not be published.