सरकारबाटै हेपिएको छ कान्ति बाल अस्पताल, २ नर्सका भरमा ५२ बिरामी, पारिश्रमिकमा चरम विभेद
मुलुककै एक मात्र सरकारीस्तरको केन्द्रीय बाल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पताल, त्यहाँ पुगेपछि राम्रो स्वास्थ्यसेवा पाइएला, रोग निको होला भन्ने आशा धेरैमा हुने नै भयो । यसै पनि बालरोगको उपचारमा निम्न र मध्यमवर्गीय नेपालीका लागि कान्तिबाहेकको विकल्प देशमा छैन । देशका हरेक कुनाकाप्चाबाट ठूलो आशा लिएर आफ्ना रुग्ण बालबालिकाको उपचारका लागि दिनहुँ जनताको घुँइचो लाग्ने कान्ति बाल अस्पतालको यथार्थ भने भिन्न छ ।
१० वर्षयता कान्तिमा बिरामीको चाप बढ्दै गए पनि तिनको हेरचाह गर्ने नितान्त प्राविधिक जनशक्ति नर्सको दरबन्दीसंख्या भने बढ्न सकेको छैन । हाल अस्पतालमा सरकारीतर्फका नर्स दरबन्दी जम्मा ७० छन्, जुन बिरामीको चाप र गुणस्तरको विकाससँगै निर्धारित मापदण्डको तुलनामा बढ्दै जानुपर्नेमा घट्दै गएको अस्पतालकी नर्सिङ प्रशासक प्रमुख निवारण जोशी बताउँछिन् ।
कान्तिमा अस्पताल विकास समितिअन्तर्गत ९० जना नर्स कार्यरत छन् । केही नर्स पढ्नका लागि विदेश गएका र केही अन्य अस्पतालमा गएका र केही सुत्केरी बिदामा रहेका कारण पनि दिनहुँ बिरामीको सेवामा खटिने नर्सको संख्या बिस्तारै घट्दै गएको छ । रिक्त पदमा तत्काल दरखास्त माग गरी नयाँ कर्मचारी राख्ने अवस्था नभएको जोशीको भनाइ छ ।
कान्तिका वार्डहरू सधैँजसो भरिभाराउ हुन्छन्, तर बिरामीको हेरचाहमा दुईजना मात्र नर्स खटिएका हुन्छन् । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या सञ्चालनमा छन् । सो वार्डमा लागि अस्पतालले जम्मा १० जना नर्स खटाएको छ, तर पालो मिलाउँदा एक सिफ्टमा २ जना मात्र नर्स खटिने रहेको जोशी बताउँछिन् ।
सरकारले नर्सको दरबन्दी १० वर्षदेखि नबढाएका कारण तथा अस्पताल विकास समितिमा रहेका नर्सको संख्या पनि बिस्तारै घट्दै गएका कारण अस्पतालले बिरामीलाई पर्याप्त मात्रामा हेरचाह गर्न सकिरहेको छैन । ‘महिनामै दुईजनासम्म नर्सले छोडेर जाने प्रवृत्ति छ,’ जोशी भन्छिन्, ‘न नयाँ पदपूर्ति हुन्छ, न त बाहिरबाट सरुवा भएर नै आउन मान्छन् ।’ कुनै समय ३ सय ८ बेडमार्फत सेवा दिएको अस्पतालले नर्स अभावकै कारण हाल २ सय ८० बेड मात्र सुचारु गर्न सकेको छ ।
२ नर्सको भरमा ५२ बिरामी
नर्सिङ जनशक्ति कम हुँदा बिरामीको पर्याप्त हेरचाह गर्न सक्ने अवस्था नरहेको जोशीको भनाइ छ । २ जना नर्सले ५२ बेडसम्म पनि हेर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् । जोशी भन्छिन्, ‘एक नर्सले ठूलो संख्यामा बिरामीको हेर्नुपर्ने अवस्था भएपछि बिरामीलाई दिइने औषधि, इन्जेक्सनबाहेक अन्य हेरचाहमा ध्यान दिन सकिँदैन, जसका कारण नर्स र बिरामीको आफन्तका बीच दूरी बढ्ने गरेको छ ।’
अस्पतालमा बिरामीको चापको पछिल्लो अवस्थालाई नियाल्ने हो भने थप ३ सयको हाराहारीमा नर्सिङ जनशक्ति आवश्यक देखिन्छ । जोशीका अनुसार आइसियूमा १ बिरामीको हेरचाहका लागि १ नर्स, अकास्मिककक्षमा २ बिरामीबराबर १ नर्स, जनरल वार्डमा ६ बिरामीबराबर ४ जना नर्सको आवश्यकता पर्छ ।
कान्तिका वार्डहरू सधैँजसो भरिभाराउ हुन्छन्, तर बिरामीको हेरचाहमा दुईजना मात्र नर्स खटिएका हुन्छन् । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या सञ्चालनमा छन् । सो वार्डमा लागि अस्पतालले जम्मा १० जना नर्स खटाएको छ, तर पालो मिलाउँदा एक सिफ्टमा २ जना मात्र नर्स खटिने रहेको जोशी बताउँछिन् ।
नर्स अभावले खुम्चिँदै अस्पतालको बेड संख्या
अस्पतालमा नर्सिङ जनशक्ति अभावका कारण भएका बेडसंख्या पनि घट्दै गएका छन् । निम्कु वार्डमा आइसियूमा राख्नुनपर्ने र वार्डमा पनि राख्न नमिल्ने महिनादिनसम्मको शिशुलार्ई राख्ने गरिन्छ । उक्त वार्ड स्टाफको कमीका कारण २० बेडबाट १० बेडमा खुम्चिएको जोशीले जानकारी दिइन् । उनका अनुसार कान्तिले एनआइसियू वार्डमा १६ बेडसम्म चलाएको थिाये । तर, जनशक्ति र स्रोत–साधन अभावमा हाल १० बेड मात्र सञ्चालनमा छन् । त्यसैगरी, सर्जिकल आइसियूमा १० बेडसम्म सञ्चालन गरिएकोमा हाल ७ बेड मात्र सञ्चालनमा छन् ।
कान्तिमा कार्यरत पाँचौँ तहका स्टाफ नर्सको मासिक पारिश्रमिक २३ हजार ५ सय छ, जुन टिचिङ तथा गंगालाल अस्पतालमा ४० हजारभन्दा माथि छ र न्याम्समा थप ५० प्रतिशत भत्ताको समेत व्यवस्था छ ।
कामको चापले नर्स सधैँ तनावमा
बिरामीको चापअनुसारको नर्सिङ जनशक्ति उपलब्ध भएको खण्डमा सन्तुलित ढंगले काम हुन्छ र सेवाको गुणस्तर पनि कायम हुन्छ । तर, आवश्यक जनशक्ति अभावमा सीमित जनशक्तिले अत्यधिक बिरामीको चाप थेग्नुपर्दा नर्सले सधैँ तनावमा काम गर्नुपर्ने बाध्यता छ ।
‘थौरै जनशक्तिले धेरै बिरामी हेर्नुपर्ने हुन्छ, यसले नर्समा कामको बोझ बढ्न गई तनाव सिर्जना हुने गर्छ,’ जोशी भन्छिन्, ‘तर, नर्सले जति धेरै बिरामी हेर्नुपरे पनि आफ्नो मूल काम भने छुटाएका हुँदैनन् । बिरामीलाई सेवा त दिनै पर्यो नि !’
बिरामीको उपचारमा ध्यान दिनुपर्ने र सेवाप्रवाहलाई प्रभावकारी बनाएर अघि बढ्नुपर्ने अस्पताल आफैँ विभिन्न समस्यामा रुमलिन पुगेको छ । जनशक्ति अभाव, पुराना मेसिन तथा उपकरण, बजेट अभावलगायत समस्याबाट अस्पताल गुज्रिरहेको छ ।
सरकारले नै कान्तिलाई कम महत्व दिएको छ, अन्य अस्पतालको तुलनामा नर्सको तलब आधा छ : निर्देशक
अन्य सरकारी अस्पतालको तुलनामा कान्ति बाल अस्पतालमा कार्यरत नर्सको पारिश्रमिक न्यून छ । कान्तिमा कार्यरत पाँचौँ तहका स्टाफ नर्सको मासिक पारिश्रमिक २३ हजार ५ सय छ, जुन टिचिङ तथा गंगालाल अस्पतालमा ४० हजारभन्दा माथि छ र न्याम्समा थप ५० प्रतिशत भत्ताको समेत व्यवस्था छ । तर, कान्तिमा कुनै किसिमको भत्ताको सुविधा नरहेको अस्पतालका निर्देशक डा. गणेश राई बताउँछन् । उनी भन्छन्, ‘यस्तो अवस्थामा मैले कसरी नर्सलाई टिकाएर राख्न सक्छु ? आधाभन्दा बढी विदेश जाने गरेका छन् ।’
कान्ति यस्तो अस्पताल हो, जहाँ कर्मचारीलाई कुनै किसिमको भत्ताको व्यवस्था छैन । कान्तिमा दुई–चार महिना अनुभव हासिल गरेपछि जागिर छोड्ने प्रवृत्ति छ । तर, अन्य अस्पतालमा कार्यरत कर्मचारीले गलबभत्ता मिलाएर कान्तिको भन्दा दोब्बर पारिश्रमिक पाउँछन् ।सरकारले सबै अस्पतालका नर्सलाई समान व्यवहार गर्नुपर्ने डा. राईको भनाइ छ ।
प्राय नर्स हरु यहा बस्नै चहन्नन किन कि सुबिधा नै छैन। यहाँ सुत्केरी भत्ता त परै जओस सुत्केरी बिदा पनि पाउदैनन । कसै कसैले यहा तलब बहेक पनि महिना को २ लाख सम्म कामाउने गर्छन तर धेरै लाई न्युनतम सुबिधा पनि छैन ।