डाक्टरमाथि ड्युटीमै दुर्व्यवहार घटनाका दोषीलाई ‘विनाधरौटी जेलचलान’ गर : चिकित्सक संघ
नेपाल चिकित्सक संघले दुई दिनअघि हेटौँडा अस्पतालको आकस्मिककक्षमा डा. बन्दना अधिकारीमाथि दुर्व्यवहार गर्ने कार्यको घोर भर्त्सना गर्दै दोषीउपर कडा कारबाहीको माग गरेको छ । संघले घटनाका दोषीलाई ‘विनाधरौटी जेलचलान’ गर्न स्थानीय सरकारसमक्ष माग गरेको हो । नेपाल चिकित्सक संघको आजीवन सदस्यसमेत रहेकी डा. अधिकारीमाथि मंगलबार राति १० बजे अस्पतालको आकस्मिककक्षमा ड्युटीमै रहेका वेला दुर्व्यवहार भएको थियो ।
घटनाको घोर निन्दा गर्दै संघले स्वास्थ्यसंस्थाको शान्तिपूर्ण वातावरण खलबल्याउने कामले स्वास्थ्यकर्मीलाई मात्र नभई सर्वसाधारण नागरिकलाई समेत असर पुग्नेतर्फ ध्यानाकर्षण गराएको छ । ‘स्वास्थ्यजस्तो संवेदनशील सेवामा कार्यरत चिकित्सकमाथि विनाकुनै कारण भएको यस्तो प्रकारको निन्दनीय कार्यले स्वास्थ्यसंस्थाको वातावरणमै खलल पुग्ने गरेको छ,’ संघद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल चिकित्सक संघ स्थानीय सरकारसमक्ष जोडदार माग गर्दछ ।’
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहारका घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी नियमावली २०६६ र नियमावली १०६९ लाई आवश्यक परिमार्जन गरी ‘विनाधरौटी जेलचलान’को प्रावधान समावेश गरेर कनुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइसकेको स्मरण गराउँदै संघले सोही नियमावलीबमोजिम नै दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन स्थानीय सरकारसमक्ष आग्रह गरेको छ । उक्त नियमावलीको अक्षरशः कार्यान्वयन गरी डा. अधिकारीमाथि दुर्व्यवहार गर्नेविरुद्ध कडा कारबाही नगरिएमा असुरक्षित वातावरणमा स्वास्थ्यकर्मीले स्वास्थ्यसेवा प्रदान गर्न नसक्नेतर्फसमेत संघले सचेत गराएको संघले सचेत गराएको छ ।