८१ प्रतिशतसम्म सुत्केरी शल्यक्रियाबाट, निजीमा अवस्था विकराल, बच्चा र आमामा दीर्घकालीन स्वास्थ्य जोखिम
नेपालमा पछिल्लो समय प्रसूतिमा शल्यक्रियाको प्रयोग अस्वाभाविक रूपमा बढ्दै गएको अस्पतालका तथ्यांकले देखाइरहेका छन् । विशेषगरी, सहरी क्षेत्रका अधिकांश महिलाले शल्यक्रियामार्फत प्रसूति गराउने गरेको पाइएको छ । सहरी क्षेत्रमा अवस्थित ठूला अस्पतालले गराएको कुल प्रसूतिमा ८१ प्रतिशतसम्म शल्यक्रिया (सिजरियन सेक्सन)को प्रयोग भएको ‘जर्नल अफ गाइनोलोजी एन्ड उमन हेल्थ’को मा प्रकाशित एउटा अनुसन्धानमुलक लेखले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले प्रसूतिमा १५ प्रतिशतसम्म शल्यक्रियालाई सामान्य मानेको छ । तर, कुनै अस्पतालले डेलिभरीमा ८० प्रतिशतभन्दा बढी शल्यक्रिया गराउनु भनेको विकरालकै अवस्था हो ।अनुसन्धानकर्ता डा. लक्ष्मी तामाङले शल्यक्रियामार्फत बच्चा जन्माउने प्रवृत्ति अस्वाभाविक रूपमा बढ्दै गएको बताइन् ।
ओममा ८१% डेलिभरीमा सि–सेक्सन, प्रमुख निजीमा ६०% माथि, सरकारीमा ५०% मुनि
जर्नल अफ गाइनोलोजी एन्ड उमन हेल्थका अनुसार चाबहिलस्थित निजीस्तरको ओम अस्पतालले ८१ प्रतिशत डेलिभरी शल्यक्रियामार्फत गराएको देखिन्छ । त्यसैगरी, उपत्यकाकै काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ७९ प्रतिशत, नेपाल पुलिस अस्पतालमा ६४ प्रतिशत, काठमाडौं मोडेल अस्पतालमा ६० प्रतिशत, पाटन अस्पतालमा ४७ प्रतिशत, त्रिवि शिक्षण अस्पतालमा ३९ प्रतिशत, काठमाडौं मेडिकल कलेजमा ४६ प्रतिशत डेलिभरी शल्यक्रियामार्फत हुने गरेका छन् ।
त्यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ३० प्रतिशत र थापाथलीस्थित परोपकार प्रसूतिगृहमा १७ प्रतिशत डोलिभरीमा शल्यक्रियाको प्रयोग हुने गरेको तथ्यांक छ ।
चिकित्सकहरुका अनुसार नीजि क्षेत्रका अस्पतालहरुले आम्दानी बढाउँन सामान्य सुत्केरी हुनसक्ने अवस्थामा पनि शल्यक्रिया गराउने गरेका घटना बढी छ ।
शल्यक्रियाबाट गराउँदा शल्यक्रिया खर्चसँगै अस्पताल बसाई वा अनुदान पाउने अस्पतालहरुले बढी अनुदानका लागि पनि शल्यक्रियाबाट प्रसुतिको गर्ने गरेका छन् ।
शल्यक्रिया गर्दा अप्राकृतिक रूपमा औषधिको प्रयोगले व्यथा लगाइन्छ, जसले गर्दा महिलाको पाठेघरको मुख सानो हुन्छ र बच्चालाई श्वास–प्रश्वासमा समस्या हुने गर्छ । शल्यक्रिया गर्दा आमा र बच्चाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा असर पर्ने स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरूको भनाइ छ ।
शल्यक्रियामार्फत जन्मेका बच्चा र आमाको समेत स्वास्थ्यमा दीर्घकालीन जोखिम
विशेषज्ञ चिकित्सकका अनुसार स्वाभाविक प्रसूतिको तुलनामा शल्यक्रियामार्फत जन्मेका बच्चामा दीर्घकालीन स्वास्थ्य जोखिम रहन्छ । डेलिभरीमा शल्यक्रिया (सि–सेक्सन) प्रविधिको प्रयोगले बच्चा र आमाको स्वास्थ्यमा गम्भीर दीर्घकालीन असर पुर्याउन सक्ने चिकित्सकको भनाइ छ ।
‘योनिमार्गबाट स्वाभाविक रूपमा जन्मिएका बच्चा र अप्रेसन गरेर जन्मिएका बच्चामा धेरै अन्तर हुन्छ,’ डा. तामाङ भन्छिन्, ‘अप्रेसन गरेर जन्मिएको बच्चामा दमरोग, डाइबिटिजजस्ता नसर्ने रोग देखिने संभावना बढी हुन्छ ।’
डा. तामाङका अनुसार शल्यक्रियामा प्रयोग गरिने औषधिले बच्चालाई श्वास–प्रश्वासमा समस्या हुने गर्छ । शल्यक्रिया गर्दा आमा र बच्चाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा असर पर्ने स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरूको भनाइ छ ।
किन बढ्दै छ अप्राकृतिक डेलिभरी ?
पछिल्लो समय कतिपय अप्राकृतिक गर्भाधानका कारण पनि सि–सेक्सन बढेको त्रिवि शिक्षण अस्पतालकी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. गीता गुरुङ बताउँछिन् । उनका अनुसार गर्भावस्थामा व्यायाम, आराम र पोषणको सन्तुलन नमिल्नाले पनि प्रसूतिको समयमा समस्या आउँछ, जसले सि–सेक्सन निम्त्याइरहेको छ । ‘गर्नैपर्ने अवस्थामा त प्रविधिको प्रयोग गर्नु नै पर्यो, तर निजी अस्पतालहरूमा सिजरियन सेक्सन बढी नै हुने गरेका छन्,’ डा. गुरुङ भन्छिन् ।
पछिल्लो समय अस्वाभाविक रूपमा बढिरहेको डेलिभरीको अप्राकृतिक प्रक्रिया आमा र बच्चा दुवैका लागि हितकर नभएको डा. गुरुङ बताउँछिन् । ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अस्पतालमा हुने डेलिभरीमा १५ प्रतिशतसम्म सिजर हुनु नराम्रो मानिँदैन । यसबाट बिरामीको हित हुन्छ भन्ने मान्यता डब्लुएचओको छ,’ डा.गुरुङ भन्छिन्, ‘तर, हालका दिनमा सि–सेक्सन अत्यधिक बढिरहेको छ, जुन न महिलाका लागि हितकर छ, न बच्चाका लागि नै ।’
हालका दिनहरूमा सरकारी अस्पतालहरूमा पनि सिजर गर्ने प्रविधि बढ्दै गएको छ । त्रिवि शिक्षण अस्पतालमा हुने गरेको डेलिभरीमध्ये झन्डै आधामा सिजर हुने गरेको छ । त्रिवि अस्पतालमा देशैभरबाट अत्यधिक जोखिमका केसहरू आउने भएकाले नै यसको दर बढेको डा. गुरुङको अनुभव छ । ‘हाम्रो अस्पतालमा एउटा यस्तो समूह डेलिभरीका लागि आउने गर्छ, जसका लागि सिजर अनिवार्य हुन्छ,’ डा. गुरुङको भनाइ छ ।
कतिपय निजी अस्पतालले भने आर्थिक लाभ र कत्ति पनि जोखिम नमोल्नकै लागि डेलिभरीमा सि–सेक्सन नै अपनाउने गरेको आरोपसमेत लाग्ने गरेको छ । कतिपय अवस्थामा भने महिला स्वयम्ले प्रसव वेदनाबाट मुक्तिका लागि आफैँले सि–सेक्सन माग्ने गरेको चिकित्सकहरूको भनाइ छ । चिकित्सकका अनुसार त्यस्ता महिलाले क्षणिक वेदनालाई सहन नसक्दा आफू र बच्चाको समेत स्वास्थ्यमा दीर्घकालीन जोखिम निम्त्याइरहेका छन् ।
कतिपय निजी अस्पतालले भने आर्थिक लाभ र कत्ति पनि जोखिम नमोल्नकै लागि डेलिभरीमा सि–सेक्सन नै अपनाउने गरेको आरोपसमेत लाग्ने गरेको छ । कतिपय अवस्थामा भने महिला स्वयम्ले प्रसव वेदनाबाट मुक्तिका लागि आफैँले सि–सेक्सन माग्ने गरेको चिकित्सकहरूको भनाइ छ ।
कस्तो अवस्थामा सि–सेक्सन अनिवार्य हुन्छ ?
डा. गुरुङका अनुसार सामान्यतया बच्चा आवश्यकताभन्दा ठूलो भएमा तथा बच्चा आउने बाटो सानो भएमा, एकदमै उच्च रक्तचाप भएका गर्भवती जसलाई सुत्केरी व्यथा लगाएर डेलिभरी गराउन पर्याप्त समय हुँदैन, बच्चाले पेटभित्रै दिसा गर्यो तथा बच्चाको मुटुको धड्कन तलमाथि भएको अवस्था, लामो समयसम्म महिलालाई सुत्केरी व्यथा लागेको अवस्था, सामान्यतया पाठेघरको माथि बस्ने साल तल बसेको अवस्थामा डेलिभरीका लागि शल्यक्रियाविधि अपनाउनुपर्ने हुन्छ ।
‘आवश्यकताअनुसार सिजर गरिएमा आमा तथा बच्चा दुवैले त्यसबाट फाइदा पाउन सक्छन्,’ डा. गुरुङ भन्छिन्, ‘तर, नगण्य जनसंख्याले भने फेसनका लागि पनि सिजर गराउने गरेको कुरालाई नकार्न सकिँदैन ।’
दुब्ला–पातला महिलामा भन्दा मोटा महिलामा सिजरको दर धेरै हुने गरेको डा. गुरुङको भनाइ छ । तर, मोटो हुँदैमा सिजरमै जानुपर्छ भन्ने चाहिँ नभएको उनी बताउँछिन् । ‘मेरै उपचार अनुभवमा केही समयअघि करिब सय केजी तौल भएकी महिलालाई पनि सामान्य रूपमै डेलिभरी गराइएको थियो,’ डा. गुरुङको अनुभव छ, ‘तर, मोटा मानिसमा सिजरियन सेक्सन दर भने बढी नै हुने गर्छ ।’ मधुमेहका रोगी आमामा पनि प्रसूतिका लागि सि–सेक्सन आवश्यक हुने डा. गुरुङ बताउँछिन् ।