अनेक प्रकारका मधुमेहका कारकतत्त्व, जोखिम र समाधान

हेल्थपोस्ट नेपाल

मधुमेह भनेको रगतमा चिनीको मात्रा अत्यधिक बढ्ने समस्या हो । प्याङ्क्रियाजले इन्सुलिन राम्रोसँगै उत्पादन गर्न नसक्दा, नगर्दा वा उत्पादित इन्सुलिन राम्रोसँग उपयोग गर्न नसक्दा मधुमेह हुने गर्छ ।

इन्सुलिन के हो ?
इन्सुलिन प्याङ्क्रियाजले उत्पादन गर्ने एककिसिमको हर्मोन हो । इन्सुलिनले शरीरका कोषिकाहरूमा ग्लुकोज प्रवेश गराउने साँचोका रूपमा काम गर्छ ।

ग्लुकोजचाहिँ कहाँबाट आउँछ ?
ग्लुकोज सामान्यतया हामीले खाएको कार्बोहाइड्रेट तत्वलाई पाचन प्रणालीले पचाउने काम गर्दा तयार हुन्छ र हाम्रो कलेजोले पनि यसलाई उत्पादन गर्छ । कार्बोहाइडे«ट हामीले खाने विविध खान, जस्तै, रोटी, आलु, मकै, फलफूल तथा दुग्धजन्य पदार्थ र गुलिया खानेकुराबाट प्राप्त हुन्छ । प्रोटिन पनि ग्लुकोजमा परिणत हुन सक्छ ।

मधुमेह कति प्रकारका हुन्छन् ?
टाइप १ : प्याङ्क्रियाजमा रहेका इन्सुलिन उत्पादन गर्ने कोषिकाहरू पूर्ण रूपमा नष्ट हुँदा प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन । त्यसपछि टाइप १ मधुमेह हुने गर्छ । यसको मुख्य कारणमा शरीरको रोगप्रतिरोधात्मक शक्तिमा गडबडी आउनु हो । यो रोग सामान्यतया बालबालिकामा धेरै पाइन्छ । यसप्रकारको मधुमेहबाट बच्ने उपाय छैन । यसलाई इन्सुलिनको सुई दिएर मात्रै उपचार गर्न सकिन्छ ।

टाइप २ : यसप्रकारको मधुमेह या त प्याङ्क्रियाजले शरीरलाई आवश्यक मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेर या उत्पादित इन्सुलिनले काम गर्न नसकेर हुने गर्छ । यो सबैभन्दा बढी प्रचलित प्रकारको मधुमेह हो । मधुमेहका ९० प्रतिशत बिरामी टाइप २ महुमेहबाटा पीडित भएको पाइन्छ । यसप्रकारको मधुमेह नियन्त्रणमा औषधिका साथसाथै इन्सुलिनको प्रयोग, जीवनशैलीमा परिवर्तन, स्वस्थकर र सन्तुलित भोजन, शारीरिक क्रियाकलापमा वृद्धि गर्दै शारीरिक तौल कम गर्नेजस्ता कार्य गर्दा नियन्त्रणमा लिन सकिन्छ ।

गर्भावस्थामा हुने मधुमेह : त्यस्ता महिला, जसमा पहिले कहिल्यै मधुमेह देखापरेको थिएन, तर गर्भावस्थामा देखापर्यो भने त्यसलाई गर्भावस्थामा हुने मधुमेह भनिन्छ । यसप्रकारको मधुमेह सामान्यतया गर्भावस्थाको पछिल्लो समयमा देखापर्छ । यसलाई इन्सुलिनको प्रयोगबाट उपचार गरिन्छ र महिला सुत्केरी भइसकेपछि त्यो आफैँ ठिक भएर जान पनि सक्छ । तर, गर्भावस्थाको मधुमेह भएका महिलामा समान्य महिलाको दाँजोमा ३५ देखि ६० प्रतिशतसम्म टाइप २ मधुमेह हुने खतरा बढी रहन्छ ।

अन्य सहायक मधुमेह : यसखाले मधुमेह अन्य कारणहरू, जस्तै, शरीरमा हर्मोनको मात्रामा गडबडी आएर, वंशानुगत कारणले, केही रसायन तथा औषधिका कारणसमेत हुन सक्छ । शरीरमा प्रभाव पार्ने जटिल वा कडाखालका रोग, प्याङ्क्रियाजसम्बन्धी रोग, मद्यपान र कुपोषणका कारणसमेत यसखाले मधुमेह हुन सक्छ । यदि मुख्य रोगको सफतापूर्वक उपचार गर्ने हो भने यसखाले मधुमेह आफैँ कम भएर जान्छ ।

जोखिमका कारकतत्वहरू
-परिवारका कुनै सदस्य वा नजिकका नातेदारमा दोस्रो प्रकारको मधुमेह भएमा,
– शारीरिक तौल ज्यादा वा कम्मरको परिधि (पुरुष ३५.५ इन्ज, महिला ३१.५ इन्चभन्दा बढी भएमा,
– उच्च रक्तचाप भएको वा पहिले हृदयाघात वा मस्तिष्काघात भइसकेको भएमा,
– महिलाको पाठेघरमा धेरै सिस्टहरू भएको खण्डमा,
– गर्भवती हुँदा गर्भावस्थाको मधुमेह भएको भएमा र कडाखाले मानसिक स्वास्थ्य समस्या निरन्तर भएको अवस्थामा ।

मधुमेहका मुख्य लक्षण
– बढी तर्खा लाग्ने,
– राति बढी मात्रामा पिसाब लाग्ने,
– ज्यादै थाकेको महसुस हुने,
– अचानक शारीरिक तौल घट्ने,
– गुप्तांग चिलाउने वा बारम्बार कीटाणुको संक्रमण भइरहने,
– घाउ–खटिराहरू चाँडै निको नहुने,
– दृष्टि धमिलो हुने, आदि ।

मधुमेहका मुख्य खतरा वा भावी जोखिम
मधुमेह भएमा बिरामीमा पछि गएर निम्नबमोजिमका जटिलता देखापर्न सक्छन् ः
-मुटुरोग
– मस्तिष्काघात
– स्नायुप्रणालीमा क्षति
– मिर्गौलामा क्षति
– आँखाको विशेषतः रेटिनामा क्षति

मधुमेहका लागि गर्नुपर्ने परीक्षण
रगतको जाँच : यस जाँचमा रगतमा, चिनीको मात्रा (खालीपेटमा र खाना खाएको २ घण्टापछि) हेर्नुपर्छ । बिरामी यदि गर्भवती भएमा खाना खाएको १ घण्टापछि हेर्न सकिन्छ । त्यसरी नै कम्तीमा वर्षको एकपटक कोलेस्टेरोल, किड्नी, लिभर र थाइराइडका जाँच गराउनुपर्छ ।

पिसाबको जाँच: पिसाबमा माइक्रो अल्बुमिन र पिसाबको रुटिन जाँच गराउँदा मिर्गौलामा कुनै संक्रमण भए–नभएको समयमै पत्ता लगाउन सजिलो हुन्छ ।

अन्य जाँचहरू : मुटुको कार्यक्षमता तथा अवस्था थाहा पाउन इसिजी र इको जाँचका साथै आँखाको रेटिना जाँच गराउनु मधुमेहका बिरामीका लागि अत्यन्तै आवश्यक हुन्छ ।

 डायबेटिज र थाइराइड विशेषज्ञ (इन्डोक्राइनोलोजिस्ट) डा. श्रेष्ठ नर्भिक अस्पतालमा कार्यरत छिन् ।



Leave a Reply

Your email address will not be published.