भरतपुर अस्पतालमा एक वर्षमा फेरिए तीन मेसु, डाक्टरको काँधमा नेताका बन्दुक !
स्वास्थ्य मन्त्रालयले गत साता भरतपुर अस्पतालको मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारी डा. विश्वबन्धु बगालेलाई दियो । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट बगालेलाई नियुक्त गरेपछि गत असोजमा मात्रै जिम्मेवारी पाएका डा. कृष्ण पौडेलको गतिमा पूर्णविराम लाग्यो ।
त्यसो त डा. पौडेल आफैँ पनि मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारी सम्हालेको ती महिना मात्रै भएका डा. रविन खड्कालाई प्रतिस्थापन गरेर आएका थिए । एक वर्षको अवधिमा उपत्यकाबाहिरको प्रमुख केन्द्रीय अस्पताल भरतपुरमा यो तेस्रोपटक मेसु परिवर्तन हो ।
अस्पतालमा ११औँ तहका मेसु हुने व्यवस्था भए पनि जहेस समूहका डा. पौडेल र डा. बगाले मात्रै कार्यरत छन् । सो आधारमा पौडेललाई हटाएर बगालेलाई दिएको मन्त्रीनिकट स्रोतको भनाइ छ । मन्त्रालयले ११औँ तहकै व्यक्ति पठाउन खोजे पनि तत्काल सम्भावना नदेखिएपछि स्थानीय रूपमै व्यवस्थापन गरेको थियो ।
सतहमा हेर्दा चिकित्सकहरूबीच मेसु बन्न हानथाप भएजस्तो देखिए पनि यो अस्थिरताका पछाडि राजनीतिक कारण छ । भर्खरै मात्रै जिम्मेवारीबाट हटाइएका डा. पौडेलले हेल्थपोस्टसँगको छोटो प्रतिक्रियामा भने, ‘चितवनमा साना, ठूला गरी २ सय नेता छन्, ती छुद्र राजनीति गर्छन्, त्यसका लागि निर्देशकलाई बलिको बोको बनाउँछन् ।’ उनले थपे, ‘एउटा मेसुले बिरामीलाई राम्रो सेवा दिएर चित्त बुझाउने कि नेताको ?’
डा. पौडेलले मेसुले भोग्नुपर्ने राजनीतिक दबाब र प्रभावबारे समय आएपछि बोल्ने भन्दै थप प्रतिक्रिया दिन मानेनन् । राजनीतिक रूपमा नेकपाका प्रभावशाली अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला र अस्पताल रहेको महानगरपालिकाको नेतृत्व दाहालकै छोरीको हातमा भएकाले मेसु बन्ने, फेरिने खेलमा उनको नाम जोडिने गरेको छ ।
पछिल्लोपटक नवनियुक्त मेसु डा. बगालेलाई पदमा ल्याउनका लागि भन्दा पनि डा. पौडेललाई हटाउनकै लागि मेसु परिवर्तनको खेल भएको जानकारहरू बताउँछन् । विशेषगरी, दाहाल परिवार र स्वास्थ्य मन्त्रालय हाँकेको समाजवादी दलका स्थानीय नेताको टकरावले भरतपुरको मेसु परिवर्तनमा भूमिका खेलेको वरिष्ठ चिकित्सकहरू बताउँछन् ।
अस्पतालमा ११औँ तहका मेसु हुने व्यवस्था भए पनि जहेस समूहका डा. पौडेल र डा. बगाले मात्रै कार्यरत छन् । सो आधारमा पौडेललाई हटाएर बगालेलाई दिएको मन्त्रीनिकट स्रोतको भनाइ छ । मन्त्रालयले ११औँ तहकै व्यक्ति पठाउन खोजे पनि तत्काल सम्भावना नदेखिएपछि स्थानीय रूपमै व्यवस्थापन गरेको थियो ।
तर, राजनीतिक दलका स्थानीय नेता भने आफूअनुकूलका निर्देशक बनाउन र डाक्टरका काँधमा बन्धुक राखेर आफूले चाहेको राजनीतिक सिकार गर्न दाउ खेल्ने गरेका छन् । यसले गर्दा अस्पतालहरू पार्टीका क्रीडास्थल बन्ने गरेका छन् । नवनियुक्त मेसु डा. विश्वबन्धु बगालेले आफू राजनीतिक लेनदेन वा संरक्षणका आडमा नेतृत्वमा नआएको दाबी गरे । ‘म क्षमताले नै यहाँसम्म आएको हुँ,’ उनले भने, ‘जति दिन रहन्छु, यस्ता कुराको प्रवाह नगरी काम गर्छु ।’
मन्त्रालय स्रोतका अनुसार स्थानीय नेताको दबाबमा मन्त्रालयले मेसु परिवर्तन गरेको थियो । विशेषगरी, मन्त्रालय हाँक्ने सानो दल भएका कारण अस्पतालका निर्देशकहरूको टकराव र स्वार्थ अस्पतालका मेसुसँग ठोकिने गरेको छ । स्रोतका अनुसार स्थानीय नेताहरूले जिल्ला अधिवेशनका नाममा पैसा माग्ने र नभए हटाउनेसम्मका धम्की दिने गरेको अनुभवी चिकित्सकहरू बताउँछन् ।
बढी जनघनत्व रहेको चितवनस्थित यो अस्पताललाई सरकारले २०७० सालमै विस्तार गर्ने गुरुयोजना तयार पारेको थियो । बारबार नेतृत्व परिवर्तनले अस्पताल सुधारको गतिलाई रोक्नुका साथै दक्ष चिकित्सकले आफ्नो सोचअनुसार काम गर्न सक्ने वातावरणलाई पनि खुम्च्याउने गरेको छ ।
उपत्यकाबाहिर बढी ओपिडीसेवा प्रवाह हुनेमध्येको सरकारी भरतपुर अस्पताल स्रोत साधनका हिसाबले पनि आकर्षक मानिन्छ । दैनिक १ हजार ३ सयको हाराहारीमा बिरामीले ओपिडीसेवा लिँदै आएको अस्पतालमा दिनहुँ सयको हाराहारीमा प्रसूति मात्र गराइन्छ । ७ सयभन्दा बढी कर्मचारी रहेको अस्पतालमा १ सय १० जना चिकित्सक कार्यरत छन् ।
बढी जनघनत्व रहेको चितवनस्थित यो अस्पताललाई सरकारले २०७० सालमै विस्तार गर्ने गुरुयोजना तयार पारेको थियो । बारबार नेतृत्व परिवर्तनले अस्पताल सुधारको गतिलाई रोक्नुका साथै दक्ष चिकित्सकले आफ्नो सोचअनुसार काम गर्न सक्ने वातावरणलाई पनि खुम्च्याउने गरेको छ ।
पछिल्ला समयमा घरी केन्द्र त घरी प्रदेशअन्तर्गत राख्ने नाममा अस्पताल झन् अस्थिरताको सिकार बनेको छ । प्रदेश सरकारले अध्यक्ष नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्ले भरतपुर अस्पताललाई केन्द्र सरकारमातहत राख्ने निर्णय गरेको थियो । अहिले अस्पताल केन्द्र सरकारमातहत भए पनि प्रदेश सरकारले नियुक्त गरेका अध्यक्ष नै अस्पतालका नियमित काम र राजनीतिक निर्णयमा सरिक हुँदै आएका छन् ।