उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड : ग्यारेज र औषधि गोदाममै डेरी उद्योग सञ्चालन
बाँकेमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्नेखालका गतिविधि दिनप्रतिदिन बढ्दै गएको अनुगमनका क्रममा भेटिएको छ । सफा, सुरक्षित तथा स्वास्थ्यवर्धक उत्पादनका लागि मापदण्ड पुर्याएर खाद्यपदार्थ उत्पादन गर्नुपर्ने उद्योगले मोटरसाइकल ग्यारेज तथा औषधि गोदाममा दुग्धजन्य पदार्थ उत्पादन गरी खुलमखुला विक्री–वितरण गर्ने गरेको भेटिएको छ ।
कोहलपुर नगरपालिकाभित्र खाना पकाउने भान्सा, औषधिको गोदाम र गाडी मर्मत गर्ने ग्यारेजमा समेत दूधडेरीहरू सञ्चालन भइरहेको फेला परेको हो । कोहलपुर नगरपालिका–११ मा रहेको साझा डेरी उद्योगले भान्सा र सुत्ने कोठामै दूधडेरी सञ्चालन गरेको पाइएको छ । दूध प्रोसेसिङ गर्ने र खाना पकाउने भान्सा एउटै ठाउँमा रहेको अनुगमनका क्रममा भेटिएको छ ।
कोहलपुर नगरपालिकाको नेतृत्वमा नगरभित्रका विभिन्न डेरी उद्योगको अनुगमन गरिएको हो । कोहलपुर–११ मा रहेको किसान डेरी उद्योगले औषधिको गोदाममै डेरी सञ्चालन गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनका क्रममा कोहलपुर–१२ मा रहेको सुविन डेरी उद्योगले गाडी मर्मत गर्ने ग्यारेजबाटै दूध विक्री–वितरण गरेको भेटिएको छ । त्यस्तै, कोहलपुर–११ मा अर्काको नाममा डेरी उद्योग सञ्चालन भइरहेको भेटिएको छ । चुलिमालिका दूधडेरी उद्योगले दर्ता नगरीकनै डेरी सञ्चालन गरिरहेको तथ्य खुल्न आएको छ । त्यसैगरी, कोहलपुर–११ मै आरसी किरण पसलमा दूधडेरी सञ्चालन गरेको पाइएपछि अनुगमन टोलीले तत्काल डेरीको अनुमति लिन सुझाब दिएको छ ।
कोहलपुर नगरपालिका बजार अनुगमन समितिले बिहीबार गरेकोे दूधडेरी उद्योग अनुगमनका क्रममा आधिकांश डेरी अव्यवस्थित रूपमा सञ्चालन भइरहेको पाइएको छ । कतिपय डेरी उद्योगले न्यूनतम मापदण्डसमेत पूरा नगरेको तथा दूधमा अखाद्य सामग्री प्रयोग गर्ने गरेको समेत भेटिएको छ ।
समितिले बिहीबार ए वान डेरी उद्योग, देउती डेरी उद्योग, सिर्जना डेरी उद्योग, श्रीकृष्ण डेरी उद्योग, ॐ साई केदारेश्वर डेरी उद्योग, श्री वनकटवा दुग्ध उत्पादक सहकारी संस्था, चापागाईं डेरी उद्योगको अनुगमन गरेको छ । अनुगमन गरिएका मध्ये अधिकांश डेरी उद्योगले न्यूनतम मापदण्ड पूरा नगरेको र एउटै काउन्टरबाट अन्य व्यवसायसमेत सञ्चालन गर्दै आएको अनुगमन समितिका संयोजक तथा कोहलपुर नगरपालिका आर्थिक विकास शाखाका प्रमुख धनबहादुर खत्रीले जानकारी दिएका छन् । डेरी सञ्चालकहरूलाई दूध तथा दुग्धजन्य सामग्रीको स्वच्छतामा विशेष ध्यान दिन अनुगमन टोलीले निर्देशनसमेत दिएको खत्रीले बताए ।
कोहलपुर नगरपालिकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बाँके, कोहपुर उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, नगर पशु कार्यालय, पत्रकार महासंघलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिसहितको संयुक्त टोलीले बुधबारदेखि बजार अनुगमन सुरु गरेको हो ।