प्रहरीले नै उजुरी दर्ता गर्न नमानेपछि न्याय माग्न म कहाँ जाऊँ ?

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुरोगको उपचारका क्रममा बिरामीसित नमिल्ने समूहको रगत चढाइँदा सर्लाहकी ५ वर्षीया बालिका आकृति साहको मुत्यु भएको १० दिन पुगिसकेको छ । मुटुसम्बन्धी समस्या भएकी साहको १७ वैशाखमा केन्द्रले ओपन हार्ट सजरी गरेको थियो ।
अस्पतालको लापरबाहीका कारण बालिकाको ज्यान गएपछि परिवारले छोरीको शव जिम्मा लिन मानेनन् । ‘१० दिनसम्म न्यायका लागि धेरै ठाउँ चहारिसकेँ, तर प्रहरीसमेत उजुरी लिन मान्दैन,’ मृतक बालिकाका बुबा रामप्रवेश साहले रिपोर्टर्स क्लबमा पत्रकारमार्फत भने, ‘अब म न्याय माग्न कहाँ जाऊँ ?’
छोरीको उपचारमा अस्पतालबाट गम्भीर लापरबाही भएको भन्दै उनी रिपोर्टको फाइल बोकेर दिनहुँ महानगरीय प्रहरी परिसर, टेकु र चक्रपथ प्रहरी बिट, महाराजन्ज पुग्छन् । ‘न्याय माग्न जाँदा उल्टै प्रहरीको थर्काइ खानुपरेको छ, रिपोर्टबाट डाक्टरको नाम हटाएर ल्याएमा मात्र रिपोर्ट लिने बताउँछन्,’ साहको गुनासो छ, ‘डाक्टरविरुद्ध नै हालेको उजुरीमा डाक्टरको नाम हटाएपछि कसरी न्याय पाइएला ?’
रामप्रवेश भावुक मुद्रामा थप्छन्, ‘छोरीको शव टिचिङ अस्पताल राखिएको भनिएको छ, तर यत्रो दिनसम्म पनि देख्न पाएको छैन ।’
‘गलत औषधोपचार गरेको तथा नमिल्ने रगत दिएकाले अस्पतालको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको सुनिँदै आएको छ,’ वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भन्छन्, ‘नागरिकको उपचार गर्न बसेका चिकित्सक तथा कर्मचारीको लापरबाहीले कसैको ज्यान जान्छ भने उनीहरूले उन्मुक्ति पाउने अवस्था कानुनले गरेको छैन ।’
छोरीको अप्रेसन गर्दा २ पोका रगत अस्पतालसँगै भएको र थप २ पोकाका लागि ‘ए पोजेटिभ’ ब्लड ग्रुप भएको मानिस बोलाउन अस्पतालले भनेको उनले जानकारी दिए । ‘अस्पतालले भनेबमोजिम नै काम गरियो,’ रामप्रवेश भन्छन्, ‘छोरीसँगै अन्य ६ जनाको अप्रेसन गरेका बिरामीको २४ घण्टाभित्र होस आइसकेको थियो । तर, ४८ घण्टासम्म पनि छोरीको होस किन नआएको भनेर डाक्टरसँग सोध्दा बच्चाको धेरै प्वाल रहेकाले होस आएन ढिलो भएको कारण देखाइएको थियो ।’
अप्रसनको पाँचौँ दिन गएर छोरीलाई हेर्दा नाक, मुख र आँखबाट रगत आएको देखेको उनी बताउँछन् । ‘मैले शंका गरिहालेँ, छोरी अब यो संसारमा छैन, तर डाक्टरले होसमा ल्याउन रगत धेरै चढाएका कारण यस्तो भएको भनेर सबै ठिक हुने वचन दिइरहेका थिए,’ गहभरि आँसुसहित उनी भन्छन्, ‘२३ गते बिहान ३ बजे छोरीको मृत्यु भएको अस्पतालले खबर दियो, लाश बुझेर घर जान अस्पतालका डाक्टरले भनेका थिए, १० दिन भइसक्दा पनि अस्पतालले कुनै तथ्य कुरा बाहिर ल्याएको छैन, उल्टै झुटो रिपोर्ट तयार गरिरहेको छ ।’
लापरबाही ठहर भए फौजदारी मुद्दा ऐनअन्तर्गत कारबाही हुन्छ : अधिवक्ता भण्डारी
‘गलत औषधोपचार गरेको तथा नमिल्ने रगत दिएकाले अस्पतालको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको सुनिँदै आएको छ,’ वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भन्छन्, ‘नागरिकको उपचार गर्न बसेका चिकित्सक तथा कर्मचारीको लापरबाहीले कसैको ज्यान जान्छ भने उनीहरूले उन्मुक्ति पाउने अवस्था कानुनले गरेको छैन ।’ जहाँ कुनै व्यक्तिको अपस्पतालमा उपचार गर्दा उपचारमा संलग्न चिकित्सक, अस्पताल र त्यहाँ कार्यरत कर्मचारीले लापरबाही गरेकै कारणले कसैको ज्यान जान्छ र उपचार गलत भएको ठहर हुन्छ भने यस्ता व्यक्ति तथा संस्थाविरुद्ध फौजदारी मुद्दा चल्ने र ठूलो क्षतिपूर्ति तिर्नुपर्ने अधिवक्ता भण्डारी बताउँछन् ।
‘लापबाहीपूर्ण व्यवहारले मृतकको जाहेरी दरखास्त प्रहरीले लिएको छैन भन्ने आएको छ । हामी चाहन्छौँ, यो देशमा कानुनभन्दा माथि कोही पनि छैन, कुनै व्यक्तिका वा संस्थाका कारण बिरामीको मुत्यु भएको छ भने फौजदारी मुद्दा ऐनअन्तर्गत कारबाही चल्छ,’ उनले भने, ‘तुरुन्तै दोषीविरुद्धको जाहरी सम्बन्धित निकायले लिनुपर्छ र अनुसन्धानको क्रम अगाडि बढाउनुपर्छ ।’
‘मन्जुरीनामामा सुरुमा १ देखि २.५ प्रतिशत मुत्युको सम्भावना रहेको लेखिएको थियो । बच्चाको मुत्यु भएपश्चात् हातले मिलाएर २० देखि ३५ प्रतिशत रहेको लेखिएको छ,’ यादव भन्छन्, ‘रिपोर्ट सबैमा टिपेक्स लगाएर झुटो रिपोर्ट खडा गरिएको छ ।
मिर्गौला फेलको झुटो रिर्पोट देखाएर अस्पताल पन्छिँदै :मृतकका आफन्त
मृतक बालिकाको अप्रेसन गर्नुपूर्व रिपोर्टअनुसार दुवै मिर्गौला नर्मल देखिएको पीडित पक्षको भनाइ छ । ‘अप्रेसनपूर्व रिपोर्टले नर्मल देखाएका दुवै मिर्गौला अप्रेसनपश्चात् फेल भएको रिपोर्ट आएको छ । मिर्गौलाको भागमा चिरफार गरिएको छ,’ रामप्रवेशका मित सुरेन्द्र यादव भन्छन्, ‘अस्पताल मिर्गौला फेल भएको रिपोर्ट देखाएर पन्छिन खोजेको छ, मुटुको अप्रेसन गर्नुपर्नेमा मिर्गौलाको भाग चिरिएको छ ।’
न्यायको माग गर्दा अस्पताल प्रशासनले छानबिनपछि सत्य–तथ्य बाहिर ल्याउने भन्दै ३ दिनको समय मागेकोमा पछि वास्तै नगरेको पीडितका आफन्तको भनाइ छ । ‘इन्साफ दिन गुहार गर्दा अस्पतालल प्रशासनले ३ दिनको समय मागेको थियो, छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्छौं भनी आश्वासन दिएको थियो,’ सुरेन्द्र भन्छन्, ‘अप्रेसन पनि डाक्टरले गर्ने, छानबिन समितिमा पनि उनै डाक्टर रहने, मान्छे पनि आफैँ मार्ने, अनि कसरी न्याय पाउन सकिन्छ ? अस्पतालले सानो प्राविधिक गल्ती देखाएर उम्कने कोसिस गरेको छ ।’
अस्पतालले मन्जुरीनामामा समेत अप्रेसनपूर्वको व्यहोरामा बालिकाको मृत्युपश्चात् सच्याएर कैफियत गरिएको पीडितको आरोप छ । ‘मन्जुरीनामामा सुरुमा १ देखि २.५ प्रतिशत मुत्युको सम्भावना रहेको लेखिएको थियो । बच्चाको मुत्यु भएपश्चात् हातले मिलाएर २० देखि ३५ प्रतिशत रहेको लेखिएको छ,’ यादव भन्छन्, ‘रिपोर्ट सबैमा टिपेक्स लगाएर झुटो रिपोर्ट खडा गरिएको छ । यस्तो प्रशासनबाट कस्तो न्याय पाउने खोइ ?’ निर्मला पन्तको घटनाजस्तै आलटाल गरेर यो घटनालाई पनि दबाउन खोजिएको हो कि भन्ने शंका पीडित पक्षलाई छ ।
अस्पताल प्रशासन भन्छ : मेडिकल काउन्सिलले जिम्मा लिएको छ
अस्पतालले घटनाबारे छानबिनका लागि डा. जेजुनाथ पोखरेलको अध्यक्षतामा छानबिन समिति बनाई समितिको जिम्मा दिएको थियो । तर, मृतकका आफन्तले मेडिकल काउन्सिलमा रिपोर्ट दिएपछि काउन्सिलले अस्पतालका सबै रिपोर्ट लिएर गएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासन प्रमुख दीपेन्द्र खड्का भन्छन्, ‘सबै छानबिनको जिम्मा मेडिकल काउन्सिलले लिएको छ ।’