नारायणी अस्पतालमा अख्तियारको छापा, शंकास्पद कागजपत्र बरामद

हेल्थपोस्ट नेपाल

अरूलाई उपचार गर्ने नारायणी अस्पताल वीरगन्जको कार्यसम्पादन आफैँ बिरामी भएपछि ठिक पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले अस्पतालमा छापा मारेको छ । वीरगन्जमा रहेको नारायणी अस्पतालभित्रको गुप्तरोग निको पार्न अख्तियारको टोलीले बुधबार छापामारी गरेको हो ।

अस्पताल आफैँ स्वस्थ हुनुपर्नेमा भित्री रोग लागेको भन्ने उजुरीका आधारमा अस्पतालले सम्पादन गरेका कामको एक्स­रे गर्न अख्तियारको टोली पुगेको टोलीमा सहभागी सदस्यहरूले बताए । ‘हामी बिस्तारै जाँच गर्दै छौँ, रोग पत्ता लागेपछि भनिहाल्छौँ,’ टोलीको नेतृत्व गरेका उपसचिव देवकुमार राईले बताए । उजुरीमा भनेजस्तो अनियमितता भएको हो–होइन बुझ्न आएको उनको भनाइ छ ।

नारायणी अस्पतालले सम्पादन गरेका कतिपय काममा आर्थिक अनियमितता गरेको सूचनाका आधारमा अख्तियारको टोलीले छापामारी गरेको टोलीमा सहभागी सदस्यहरूले बताए । ‘नीतिगत कमजोरी वा आर्थिक अनियमितता के भएको हो भन्ने विषयमा बुझ्ने प्रयास गरिदैँ छ,’ अख्तियार कार्यालय हेटौँडाका सूचना अधिकारीसमेत रहेका राईले भने, ‘टोलीलाई शंका लागेका विषयका कागजपत्र प्रमाणित गरी अख्तियारको टोलीले लिएर गएको छ, डकुमेन्टको अध्ययनपछि वास्तविकता बाहिर आउँछ ।’

पुरानो मितिमा टिप्पणी आदेश उठाई अनियमितता गरेको, औषधिमा बढी शुल्क लिएको, अस्पतालको मेसिन साटेकोलगायत विषयमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र उनीनिकट व्यक्तिहरूले गलत काम गरेको भनी अख्तियारमा उजुरी परेको हुन सक्ने त्यहाँका केही कर्मचारीले नै बताएका छन् । सूचनाकर्ताले बढी दोषी भने अस्पतालका निमित्त मेसु इनामुल हकलाई देखाएको स्रोतको दाबी छ ।

अख्तियारका कर्मचारीले भने बुधबार अबेरसम्म चेकजाँच गर्दा पनि अस्पताललाई लागेको रोगबारे किटान भने गरेका छैनन् । शंका लागेका डकुमेन्टको प्रमाणित प्रतिलिपि लिएको र अस्पतालका जिम्मेवार कर्मचारीको बयान समेटेर अख्तियारको टोली हिँडेको डा. हकले बताए ।



Leave a Reply

Your email address will not be published.