वीरमा बिरामीलाई खुवाउने खानामा समेत अनियमितता, अयोग्य फर्मलाई टेन्डर
अस्पतालमा विरामीलाई खुवाउने खानाको टेन्डरमा अयोग्य कम्पनीलाई परेपछि विवाद उत्पन्न भएको छ । वीर अस्पताल विपन्न जनताले निःशुल्क स्वास्थ्यसेवा पाउने मुलुकको सबैभन्दा ठूलो उपचार केन्द्र हो । वीरमा भर्ना भएका बिरामी र तिनका कुरुवालाई समेत अस्पतालले निःशुल्क भोजन उपलब्ध गराउँदै आएको छ । बिरामीको भोजनका लागि अस्पतालले वार्षिक रूपमा खाद्यान्नको टेन्डर आह्वान गर्छ ।
यहीक्रममा वीर अस्पतालको खरिद एकाइले एक वर्षका लागि बिरामीलाई खाना खुवाउन ८ माघ ०७५ मा रासन सामग्रीको टेन्टर आह्वान गरेको थियो । अस्पतालको आह्वानबमोजिम ९ फागुनसम्ममा तीन सप्लायर्स फर्मले टेन्डर दर्ता गराए, जसमा न्यु सुयोग इन्टरप्राइजेज, न्यु आरके टे«डर्स र महांकाल सप्लायर्स थिए ।
टेन्डर हालेका मध्ये अस्पतालले १ करोड १४ लाख ९३ हजार ५ सय रूपैयाँमा बोलकबोल गर्ने न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर १ वैशाख ०७६ मा स्वीकृत गर्यो, जुन ऐन–नियमअनुसार टेन्टरका लागि योग्यता नपुगेको फर्म भएको कर्मचारीहरु बताउँछन् ।
सबै किसिमका खरिदमा व्यापक घोटाला भएको भन्दै कर्मचारीले अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म दोस्रोपटक उजुरी दिएका छन् । अस्पतालका खदिर एकाइका केही कर्मचारीकै मिलेमतोमा बारम्बार खरिद कारोबारमा अनियमितता भएको वीरका कर्मचारीहरूको आरोप छ ।
फर्म अयोग्य भए पनि सस्तोका कारण टेन्डर दिएका हौँ : निर्देशक
अस्पतालले टेन्डर आह्वान गर्दा ‘फर्मको उद्देश्य खाद्यान्न सप्लाई गर्नुपर्ने र कम्तीमा ३ वर्ष कारोबार गरेको हुनुपर्ने’ भनी सर्त राखेको थियो । सार्वजनिक खदिर ऐनअनुसार सबैभन्दा सस्तो मूल्यमा सामान दिन कबोल गर्ने रीतपूर्वक दर्ता भएको योग्य सप्लायरको टेन्डर स्वीकृत गर्नुपर्छ । टेन्डर हालेका फर्ममध्ये न्यु सुयोग इन्टरप्राइजेजको दररेट सस्तो भए पनि टेन्डरका लागि फर्म योग्य नदेखिएपछि उक्त फर्मको बोलपत्र दर्ता नै नहुनुपर्ने वा रद्द हुनुपर्नेमा उल्टै त्यही फर्मको टेन्टर स्वीकृत गरिएको भनाई कर्मचारीहरुको छ ।
अस्पतालका खदिर एकाइका केही कर्मचारीकै मिलेमतोमा बारम्बार खरिद कारोबारमा अनियमितता भएको वीरका कर्मचारीहरूको आरोप छ । खरिदमा अनियमितता भएको भन्दै अस्पतालका कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अख्तियारमा समेत उजुरी दर्ता गरेका छन् । कर्मचारीले पहिलोपटक ४ चैतमा उजुरी दर्ता गराएपछि प्रधानमन्त्री कार्यालयले १९ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ताकेता गरेको थियो । सोपश्चात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई खरिद प्रकरणबारे सत्य–तथ्य विवरण पेस गर्न पत्र काटेको थियो ।
वीरको कर्मचारी युनियन परिवारले दुई दिनअघि खरिद अनियमिततामा संलग्नहरुलाई कारबाहीको माग गर्दै पुनः अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म पनि उजुरी दिएका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरी भने फर्मको योग्यता नपुगे पनि सस्तो मूल्यमा टेन्डर हालेका कारण उक्त फर्म स्वीकृत गरेको बताउँछन् । ‘अन्य फर्मको भन्दा धेरै सस्तोमा न्यु सुयोग इन्टरप्राजेजले टेन्डर हालेको थियो,’ निर्देशक सेन्चुरीले हेल्थपोस्टसँग भने, ‘खाद्यान्नको गुणस्तरमा प्रतिबद्धता जाहेर गरेपछि हामीले टेन्डर स्वीकृत गरेका हौँ ।’ गुणस्तरमा केही त्रुटि पाइएको खण्डमा भोलिका दिनमा उक्त फर्मलाई हटाई, अर्को विज्ञापन आह्वान गर्ने उनले बताए ।