स्वास्थ्यमा समायोजनमा गुनासैगुनासा, ‘३ महिनाको शिशु च्यापेर कहाँ जाऊँ ?’ (फोटो फिचरसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रांगण शुक्रबार भरिभाउ छ । मन्त्रालयले कर्मचारी समायोजनका क्रममा केही त्रुटि भएको भन्दै गुनासो फारम भर्नका लागि ५ वैशाख ०७६ सम्मका लागि समय दिएसँगै बिहानैबाट फारम भर्न कर्मचारीहरू घण्टौँ घममा लाइन बसिरहेका छन् । समायोजन हुँदा कर्मचारी समायोजन ऐन, २०७५ अनुसार नभएको वा समायोजनबाट मर्का परेको भनी कर्मचारीबाट प्राप्त गुनासा सुनुवाइको व्यवस्था गर्ने सूचना मन्त्रालयले बिहीबार प्रकाशन गरेको हो ।
शुक्रबार मन्त्रालय प्रांगणमा बूढा–बूढी, गर्भवतीदेखि लिएर युवा–युवतीको ठूलै भिड छ । आफूले मागेको ठाउँमा समायोजन नगरेको भन्दै उनीहरू गुनासो दर्ता गराउन टाढा–टाढाबाट शुक्रबार मन्त्रालय आएका हुन् । कर्मचारी समायोजनमा असहमति जनाउँदै गुनासो दर्ता गर्न मन्त्रालयपरिसरमा लाइनस लागेका कर्मचारीले आफ्नो समस्या हेल्थपोस्टसँग पोखे ।
महोत्तरीका श्यामसुन्दर झाले धमौरा स्वास्थ्यचौकी महोत्तरीमा अहेव पदमा काम गरेको २४ वर्ष भयो । भर्खरै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजनको सूचीमा उनको दरबन्दी फाजिलमा रहेका कारण उनी आफूलाई घरनजिकैको स्वास्थ्यचौकीमा दरबन्दीमा समायोजन गरियोस् भनेर गुनासो दर्ता गर्न आएका छन् ।
गजेन्द्रप्रसाद मण्डल हाल खोटाङको एक स्वास्थ्यचौकीमा कार्यरत छन् । उनले समायोजनको फर्म भर्दा सप्तरीमा भरेका थिए । तर, समायोजन भएर आउँदा उनी धनकुटा परे । ‘१६ वर्ष विकट ठाउँमा काम गरेँ । तर, मलाई समायोजनमा धनकुटा पारियो,’ उनले भने, ‘समायोजन गर्दा घरपायक पार्नुपर्ने होइन र ?’
लक्ष्मी थिङ हातमा सानी नानी लिएर गुनासो दर्ता गर्न लाइनमा बसेकी छिन् । सिन्धुली घर भएकी लक्ष्मीले ५ वर्ष चपौली स्वास्थ्यचौकीमा सेवा गरिन् । समायोजनका क्रममा उनलाई सिन्धुलीको विकट मानिने घग्याङले गाउँपालिको स्वास्थ्यचौकीमा खटाइयो । उनी भन्छिन्, ‘भर्खर ३ महिनाकी छोरी काखमा छे, घरपरिवारलाई छोडेर यस्ती सानी नानीलाई लिएर कहाँ जाऊ ?’
म्याग्दीको बेनी नगरपालिकाको भगैनी स्वास्थ्यचौकीमा तारा बुढाथोकीले सेवा गरेको २४ वर्ष भयो । उनी छैटौँ तहकी हुन् । तर, उनलाई समायोजनमा मालिका गाउँपालिका खटाइएको छ । उनी भन्छिन्, ‘यत्रो वर्ष जागिर गरेको मान्छे, बुढेुसकालमा कहाँ झोला बोकेर जाने ?’
म्याग्दी नै घर भएकी दिलकुमारी पुनको पनि हातमा छोरा छ । समायोजनको फारम भर्दा उनले आफू कार्यरत स्वास्थ्यचौकी नै रोजेकी थिइन् । उनी भन्छिन्, ‘हातमा सानो छोरो छ, तर मलाई समायोजनमा अन्नपूर्ण गाउँपालिका पठाइएको छ । छोरो छोडेर कसरी जान सक्छु र !’ म्याग्दीका यी दुवै कर्मचारीको एउटै भनाइ छ, समायोजन संशोधन नभए सरकारले खटाएको ठाउँमा गएर काम गर्न सक्दैनौँ । सरकारले समायोजनका नाममा अनावश्यक दुःख दिएको उनीहरूको भनाइ छ ।
हरिपूर्व आयुर्वेद औषधालयमा पाँचौँ तहमा कार्यरत सर्लाहीका नवीन यादवले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले समायोजनको फारम भर्दा आफू रहेको स्थानीय तहमा भरेका थिए । यादव भन्छन्, ‘आफू कार्यरत रहेकै ठाउँका लागि समायोजन फारम भरेको थिएँ, तर समायोजन भएर आउँदा दार्चुलाको शैलेशिखर नगरपालिकामा पठाएको छ ।’
स्वास्थ्य मन्त्रालयको प्रांगणमा शुक्रबार बिहान भटिएका केही प्रतिनिधि कर्मचारीका गुनासा हुन् यी । समायोजनमा सरकारले धेरै कर्मचारीलाई अपायक पर्ने स्थानमा खटाएको छ । सबैसजो कर्मचारीको एउटै दुखेसो छ, आफूले भनेको ठाउँमा समायोजन गरिएन ।
धेरै वर्ष दुर्गममा बसेर भर्खर मात्र घरनजिकको कार्यालयमा सरुवा भएको उनले बताए । ‘वर्षौंको संघर्षपछि बल्ल घरपायक आएको मात्र के थिएँ, फेरि दार्चुला खटाइएयो । घर–परिवार छाडेर त्यति टाढा गएर काम गर्न सकिन्न,’ उनी भन्छन् ।
स्वास्थ्य मन्त्रालयको प्रांगणमा शुक्रबार बिहान भटिएका केही प्रतिनिधि कर्मचारीका गुनासा हुन् यी । समायोजनमा सरकारले धेरै कर्मचारीलाई अपायक पर्ने स्थानमा खटाएको छ । सबैसजो कर्मचारीको एउटै दुखेसो छ, आफूले भनेको ठाउँमा समायोजन गरिएन ।
१५ सय गुनासा दर्ता भइसके, ५ हजार पुग्ने आकलन
स्वास्थ्य मन्त्रालयमा हालसम्म १ हजार ५ सयको हाराहारीमा गुनासो फारम दर्ता भएको र हुनेक्रम जारी रहेको मन्त्रालयका जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले बताउँछन् । उनका अनुसार यहीतवरले गुनासा आउने हो भने ५ हजारभन्दा बढीको गुनासो आउने देखिएको छ ।
गुनासो सुन्न ६ सदस्यीय समिति, स्वास्थ्य र सामान्यका ३–३
मन्त्रालयले गुनासो सुन्नका लागि स्वास्थ्य मन्त्रालयबाट ३ जना र संघीय प्रशासन मन्त्रालयबाट ३ जना गरी ६ जनालाई जिम्मेवारी दिएको छ । स्वास्थयका तर्फबाट गुनासो सुन्ने जिम्मेवारी मन्त्रालयका उपसचिव लीलाराज पौडेल, जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले र शाखाअधिकृत प्रेमलाल दुवालले पाएका छन् भने सामान्य प्रशासनका सहसचिव रूपनारायण भट्टराई, उपसचिव ईश्वरकुमार गिरि र उपसचिव वन्धुप्रसाद बास्तोला तोकिएका छन् ।