पोषण सुधार्न कपिलवस्तुमा १५ बुँदे घोषणा, गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

हेल्थपोस्ट नेपाल

कपिलवस्तु जिल्लामा स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउन जिल्लाका सरोकारवालाहरू सहमत भएका छन् । उनीहरूले पोषण सुधारका लागि १५ बुँदे घोषणा–पत्रसमेत जारी गरेका छन् । तौलिहवामा आयोजित व्यवस्थापकीय कार्यशाला गोष्ठीको अवसर पारी घोषणा–पत्र जारी गरिएको हो । कार्यशालामा जिल्लाका सबै स्थानीय तहको सहभागिता थियो ।

जारी घोषणापत्रमा सुत्केरीपछिको स्वास्थ्यजाँच स्वास्थ्यकर्मी घरमै गएर गर्ने व्यवस्था मिलाउने र यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने, गाउँघर क्लिनिक नियमित सञ्चालनका लागि नगर तथा गाउँपालिकाबाट बजेट विनियोजन गर्ने उल्लेख छ ।

यसैगरी, गर्भवती र सुत्केरी महिलालाई उपहार तथा प्रोत्साहनमूलक (आयोडिन नुन, साबुन, करेसाबारीका लागि बिउजस्ता सामग्री) कार्यक्रमका साथै पूर्ण स्तनपान सचेतना अभियान सञ्चालन गर्ने विषयसमेत घोषणापत्रमा समेटिएको छ । स्थानीय तहको प्रतिनिधित्व गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले घोषणा–पत्र सार्वजनिक गरेका थिए ।

घोषणापत्रमा महिनामा एकपटक बच्चाको तौल अनुगमन गर्ने, महिलालाई प्रसूतिका लागि नजिकको बर्थिङ सेन्टरसम्म पुग्न र फर्किन निःशुल्क एम्बुलेन्ससेवा उपलब्ध गराउने, स्वयंसेविकाको सेवालाई प्रभावकारी बनाउने, ‘पोषणका लागि करेसाबारी’ कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य आमासमूहहरूलाई पुनर्जागरण गर्ने विषय उल्लेख छन् । त्यसैगरी, गुणस्तरीय स्वास्थ्य तथा पोषणका लागि आफ्नै पहल र समुदाय स्वास्थ्य प्राप्तांक बोर्डजस्ता कार्यक्रमलाई प्रवर्धन गर्ने विषय प्राथमिकतामा राखिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।

अधिकारीका अनुसार किशोरीहरूका लागि महिनावारी स्वच्छताका लागि सेनेटरी प्याड निर्माण एवम् वितरण कार्यक्रम सञ्चालन गर्ने, बच्चाको दिसाको व्यवस्थापनका लागि गरिब, विपन्न आमालाई प्लास्टिक पोटी (प्यान) बच्चा जन्मेको १ हजार दिनसम्म वितरण गर्ने, स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालनका लागि ससर्त अनुदानबाहेक सामान्यीकरण अनुदानबाट थप बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाइएको छ । पोेषणको क्षेत्रमा कार्य गर्ने सबै सरोकारवालाबीच एकीकृत र समन्वयात्मक तरिकाले काम गर्ने र विद्यालयतहमा स्वास्थ्य र पोषण एवम् स्वच्छतासम्बन्धी जानकारीमूलक शिक्षा दिन स्वास्थ्यसंस्था तथा यससम्बन्धी सहयोगी संस्थाहरू मिली कार्यक्रमको आयोजना गर्ने विषय घोषणापत्रमा उल्लेख छ ।

कार्यक्रममा सहभागीबीच भौतिक पूर्वाधारलाई मात्रै विकासको सूचकका रूपमा चर्चा र प्राथमिकता दिइँदै गर्दा स्वास्थ्य, सरसफाइ र पोषणसम्बन्धी अपनाउनुपर्ने आनिबानीका विषय र मानवविकास र दिगो विकासका लक्ष्यलाई सहयोग पुग्ने विषयलाई प्राथमिकताक्रममा पार्न खेल्न सकिने भूमिकाबारे छलफल चलाइएको थियो । कार्यक्रममा पोषणका प्राथमिक सूचकहरू, बच्चाको वृद्धि अनुगमन, स्वास्थ्य आमासमूहको नियमितता, मासिक प्रतिवेदन र सुधार एवम् व्यवस्थापकीय र समन्वयात्मक कार्यहरूबारे सुधारका लागि कार्ययोजना बनाई प्रस्तुतीकरण गरिएको थियो ।

जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य संयोजक, सह–संयोजकहरू, किड्स र फेयरमेडका प्रमुख र प्रतिनिधि, बहुक्षेत्रीय पोषण कार्यक्रम, कालिका स्वावलम्बन सामाजिक केन्द्र र सुआहार दोस्रो कार्यक्रमका प्रतिनिधिहरूले स्वास्थ्य र पोषण क्षेत्रमा हालसम्म हासिल गरेका नतिजाहरू, कार्यपद्धति र यसलाई सुधार गर्न आवश्यक देखिएका पक्षहरूबारे जानकारी दिएका थिए ।

स्वास्थ्य र पोषणमा योजनागत रूपमा गरिने लगानीले समृद्ध नेपालको योजनालाई सफल बनाउन सहयोग गर्ने जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले बताए । स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउन घोषणापत्रमा समेटिएको विषयवस्तुको कार्यान्वयनले सहयोग पुग्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।



Leave a Reply

Your email address will not be published.