‘विभेदकारी’ समायोजनविरुद्ध सरकारी चिकित्सक आन्दोलनमा, सेवा बहिष्कारदेखि सामूहिक राजीनामासम्म

हेल्थपोस्ट नेपाल
हेल्थपोस्ट फाइल तस्बिर

कर्मचारी समायोजनका सन्दर्भमा प्रधानमन्त्रीले दिएको बचन पालना नभएको भन्दै सरकारी चिकित्सकहरूले स्थगन गरेको अनिश्चितकालीन स्वास्थ्यसेवा बहिष्कारको कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका छन् । सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले काठमाडौंबाहिर रहेका चिकित्सकलाई समेत काम छाडेर आन्दोलनका लागि काठमाडौं आउन निर्देशन दिएको छ भने सामूहिक राजीनामा दिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

पछिल्लोपटक संघीय मामिला एवम् सामान्य प्रशासन मन्त्रालयले समायोजनको सूची सार्वजनिक गर्दा चिकित्सकलाई निजामती कर्मचारीसरह व्यवहार गर्ने कार्यकारी प्रमुखको आश्वासनविपरीत खटाइएपछि चिकित्सकहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

गोदानले बुधबार आकस्मिक भेला गराएर शुक्रबारदेखि अनिश्चितकालीन सेवा बहिष्कारको कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ । संघले विज्ञाप्तिमार्फत १८ फागुनमा दुईतिहाइ जनमतको मजबुत जगमा उभिएका देशका कार्यकारी प्रमुखले नै संघको मागअनुसार समायोजन गर्ने बचन दिएपछि अनिश्चितकालीन सेवा बहिष्कारको कार्यक्रम स्थगन गरेको स्मरण गरेको छ ।

तर, प्रधानमन्त्रीको प्रतिबद्धता र आन्दोलनको सहमतिविपरीत विपरीत सरोकारवाला मन्त्रालयले चिकित्सकहरूलाई अवैज्ञानिक र असमान समायोजन गरेको तथा स्थानीय तहमा समायोजन गरेर चिकित्सकलाई बलजफ्ती कनिष्ठ कर्मचारीमातहत राख्ने व्यवस्था गरेको संघको आरोप छ ।

संघले यो निर्णयले चिकित्सकको अध्ययनजस्ता वृत्तिविकासमा अप्रत्यक्ष अवरोध निम्त्याएको जनाएको छ । संघले अन्यायपूर्ण समायोजन प्रक्रियाको विरोधमा कुनै पनि सरकारी चिकित्सकले समायोजनपत्र नबुझ्ने र आन्दोलनमा सक्रिय सहभागी हुने घोषणा गरेको छ ।

संघले चिकित्सकहरूले तत्काल सामूहिक राजीनामा संकलन गर्ने र सरकारसमक्ष बुझाउने तथा बिहीबार चिकित्सक संघसँग परामर्श गरेर आन्दोलनको स्वरूप र थप कार्यक्रम निर्धारण गर्ने जनाएको छ । संघले उपत्यकाबाहिरका चिकित्सकलाई काठमाडौं बोलाएर आन्दोलन चर्काउने र हावाहुरी प्रभावित बारा पर्साबाहेकका क्षेत्रमा शुक्रबारदेखि अनिश्चितकालीन स्वास्थ्यसेवा बहिष्कार गर्ने जनाएको छ ।



Leave a Reply

Your email address will not be published.