मेडिकल जीवनको मेरो पहिलो शिविरको अनुभव

हेल्थपोस्ट नेपाल
  • प्रिन्स ठाकुर

हरेक मानिसको जीवनमा आ आफ्नै कहानी हुन्छ, भोगाइ र अनुभव हुन्छ । त्यही भोगाइ र अनुभवको बृहत् संगालो हो जीवन । जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहान्छन् र म आफ्नो सफलताको मापन अरूलाई आफूले कतिको सहयोग गर्न सकियो त्यो कुराले गर्दछु ।

म प्रिन्स ठाकुर, हाल नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो वर्ष पढ्दै गरेको एक विद्यार्थी । जनमानसको स्वास्थ्यप्रति समर्पित भई आफ्नो जीवन बिताउने अठोटले म तीन वर्ष अगाडि छात्रवृत्तिमा नाम निकालेर आफ्नो मेडिकल क्यारियरको सुरुवात गरेको थिएँ । यसै क्रममा रोट्रयाक्ट क्लब अफ नेपालगञ्ज मेडिकल कलेज द्वारा आयोजित निशुल्क सुगर, रक्तचाप तथा शरीरको वजनको सूचाङ्क जाँच शिविरमा सहभागी भएँ ।

विश्व मोटोपन दिवस सन् २०२३ को अवसरमा ‘मोटोपनलाई मेटाऔं, रक्तचापलाई रोकौं र चिनी रोगलाई चिनौं’ भन्ने नाराका साथ हामीले यो शिविरको आयोजना गरेका थियौँ । हालको युगमा मोटोपन हरेक घरको समस्या भएको र यसले गर्दा उच्च रक्तचाप, चिनी रोग जस्ता घातक रोग निम्तिने हुनाले यो रोगहरू मानिसमा देखिनु पूर्व नै स्क्रिनिङ गरेर मानिसलाई रोग लाग्नु अगावै सचेत पार्नु हाम्रो यो शिविरको उद्देश्य थियो ।

यो जाँच शिविर मेरो जीवनकै पहिलो शिविर भएको हुनाले म अलिकति आतिएको त थिएँ तर आफूँसँग डाक्टर भइसकेका दाई दिदीहरू र हाम्रो एसोसिएट प्रोफेसर डा प्रज्ञा गौतम घिमिरे म्यामको साथ भएको हुनाले शिविरमा केही अफ्ट्यारा न आउने ढुक्क थिएँ ।

हाम्रो शिविर फाल्गुन २० गरेको दिन बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म बैजनाथ १, चिसापानी, बाँके मा रहेको चिसापानी स्वास्थ्य चौकीमा आयोजना भएको थियो । त्यहाँ आउने मानिस हरुको हामीले सर्वप्रथम नाम रजिष्ट्रेशन गर्थ्यौं र त्यसपछि कोठा नं १ मा १५ मिनेट आराम गरिसकेपछि रक्तचाप मापन गर्थ्यौं । त्यसपछि शरीरको वजनको सूचाङ्क नाप्न कोठा नं ६ मा पठाउँथ्यौ । त्यसपछि सोही कोठामा ग्लुकोमीटरको सहायताले सुगरको मापन गर्थ्यौं। यो सबै कुराहरु एउटा पर्चामा रेकर्ड गरेर हामीले सबै सेवाग्राहीलाई कोठा नं २,४ र ५ मा बस्नु भएका डाक्टरहरुकहाँ पठाउने गर्थ्यौं । यसरी सबै सेवाग्राहीहरुलाई एक एक गरी हाम्रा डाक्टरहरुले परामर्श दिनुहुन्थ्यो । तेस्रो वर्ष को विद्यार्थी भएर उपचार त गर्न सकिएन तर आफूले जानेका ज्ञानका सहायताले जनचेतना फैलाउने भनेर यो कार्यक्रम गरेका थियौं। यसरी हाम्रो शिविरबाट जम्मा १७६ जनाले जाँच गराएर परामर्श लिन सफल भए ।

हामीले अपेक्षा गरेको भन्दा धेरै सङ्ख्यामा मानिसहरूको उपस्थितिले हामीमा आत्मबल बढाइरहेको थियो साथै हामीलाई जनसमुदायको चाप सम्हाल्न गाह्रो भइरहेको पनि थियो । तर हाम्रो रोट्रयाक्ट क्लबको सामूहिक कार्यले भने यो चुनौती टार्न ठूलो मद्दत गर्यो ।

हाम्रो डाक्टरहरूको टोलीमा डा। नवल किशोर साह, डा शितल पाठक, डा अमृता साह, डा सुलोचना पन्त, डा रोशन , डा रोजी साह, डा निकिता साह, डा मञ्जिला पूरी रहनु भएको थियो ।

हाम्रो भोलुन्टिरिङ समुहमा तेस्रो वर्ष बाट निरज प्रसाद साह, फूल कुमार यादव, सुरज पटेल, नवीन तिमिल्सेना, अभिषेक रौनियार, सिमोन सुवेदी, अजय नायक, शुभ सिंह, सुदीप यादव, सुमी झा, कञ्चन गुरुङ, अम्बालिका शुक्ला, नेहा झा, दुर्गा गौतम ले योगदान पुर्याएका थिए भने दोश्रो वर्षबाट विक्की साह, सत्यम ठाकुर, विशाल सिंह राजपूत, सुमित साह, विकास ठाकुर, समीर यादव, कुलदीप यादव, सन्मुख साह, रुपा साउद, कमला विष्ट, पूनम बुढाथोकी, सृष्टि गुप्ता र इन्द्राणी साह रहनु भएको थियो । उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद ।

आशा छ यस कार्यक्रमले हाम्रो जनसमुदायमा केही सहयोग अवश्य पुग्यो होला साथै हामी सबै भविष्यका डाक्टरहरुले पनि कार्यक्रम आयोजना तथा सञ्चालन गर्ने सीप, समाजमा आफूलाई प्रस्तुत गराउने तरिका, जनसमुदाय प्रति आफ्नो कर्तव्य, आफ्नो व्यक्तित्व विकास र स्वास्थ्य समृद्धिको बाटोमा अघि बढ्ने ऊर्जा थपिदिएको छ।



Leave a Reply

Your email address will not be published.