ताप्लेजुङको मैवाखोलामा गर्भवतीको स्वास्थ्य परिक्षण सुरु

हेल्थपोस्ट नेपाल

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ। गर्भवती र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन गरेको हो।

गाउँपालिकाभित्रका सबै गर्भवतीको स्वास्थ्य जाँच गर्न समय तालिका बनाएर विभिन्न स्वास्थ्य चौकीमार्फत सेवा दिइरहेको गाउँपालिकाका अध्यक्ष विजय किराँतले जानकारी दिए। प्रत्येक महिनाको ८, १६ र २४ गते गर्भवतीको जाँच गर्ने तालिका बनाएर सेवा दिन थालिएको छ।

हरेक महिनाको ८ गते मैवाखोला–३ र ४ का गर्भवती ले साँघु स्वास्थ्य चौकीबाट सेवा पाउने छन् भने १६ गते वडा नम्बर ५ र ६ का गर्भवती ले फाकुम्बा स्वास्थ्य चौकीबाट सेवा पाउने छन्। यस्तै हरेक महिनाको २४ गते वडा नम्बर १ र २ का गर्भवती ले ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिन सक्ने स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले जानकारी दिए।

तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा उक्त सेवा प्रदान गरिँदै छ। गाउँमै निःशुल्क सेवा पाउन थालेपछि स्थानीयलाई सहज भएको छ। यसअघि उक्त सेवाका लागि यहाँका गर्भवती सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता थियो।

रासस



Leave a Reply

Your email address will not be published.